इटहरी : कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाका अध्यक्ष इस्राइल मन्सुरीसहितको मतमा मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेका हुन् ।
सोमबार भएको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवार नेकपा एमालेको निर्देशनमा अनुपस्थित भएसँगै नेपाली कांग्रेसका इस्राइल मन्सुरीले सभाको अध्यक्षता गरेका थिए । उनै मन्सुरीको मतसहित मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेका हुन् ।
संविधानको धारा १६८ (४) बमोजिम मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्न माग गरेका थिए ।
९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सदस्य आवश्यक पर्छ । थापालाई कांग्रेसका २९ (सभा अध्यक्षसहित), माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक गरी ४७ प्रदेशसभा सदस्यको समर्थन थियो । विपक्षमा भने नेकपा एमालेका ४० र राप्रपाका ६ सांसद छन् । ९३ सांसदमध्ये ७७ सांसद उपस्थित थिए । जसमा मुख्यमन्त्री थापालाई ४७ अर्थात् बहुमत प्राप्त गरे । विपक्षमा भने ३० मत खसेको थियो ।
भदौ १ गते प्रदेशसभामा भदौ ३ गतेका लागि विश्वासको मत लिन सूची दर्ता गराएपनि उपसभामुख दनुवारले भदौ ४ गते सोमबारका लागि समय तोकेकी थिइन् ।
गत साउन १६ गते दोस्रोपटक मुख्यमन्त्री भएका थापाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
आफैँले बोलाएको प्रदेशसभा बैठकमा उपसभामुख दनुवारले एमालेको निर्देशनमा बिरामीको कारण देखाउँदै सोमबार बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौँ लागेकी थिइन् । आफैंले बोलाएको बैठकमा अनुपस्थित हुनु संसदीय मर्यादाविपरीत हो ।
लगत्तै सत्ता गठबन्धनको बैठक बसेर विश्वासको मत लिने, नलिने भन्नेबारे छलफल गरेको थियो । उपसभामखुले नै बोलाएको बैठकमा विश्वासको मत लिनुपर्ने निर्णय गरेसँगै सोमबार दिउँसो प्रदेशसभा बैठक बसेको थियो । जसअनुसार कांग्रेसका मन्सुरीले अध्यक्षता गरेका हुन् ।
मन्सुरीले प्रदेशसभा सदस्य गीता तिम्सिनाले मुख्यमन्त्री थापालाई विश्वासको मत दिएपछि उनै तिम्सिनालाई अध्यक्षता गर्न आदेश दिएसँगै उनै मन्सुुरीले पनि विश्वासको मत दिएका थिए । यसक्रममा नेकपा एमालेले विरोध गर्दै नाराबाजी गरेको थियो ।



















Discussion about this post