इलाम : इलामको नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट भारत लैजाँदै गरेका पाँच जना नेपाली महिलाको उद्धार गरिएको छ ।
देशका विभिन्न स्थानका पाँच जना महिलालाई कामको प्रलोभन देखाई बेचबिखनका लागि लैजाँदै गर्दा पशुपतिनगरको निगरानी टोलीले महिलाको उद्धार गरेको हो ।
दलालले सीमाना कटाउन लाग्दै गर्दा सोधीखोजी गर्ने क्रममा झापामा काम लगाउने बहाना बनाएर सीमाना कटाउन लागेको थाहा पाएपछि प्रहरी, माइती नेपाल सहितको निगरानी टोलीले ती महिलाको उद्धार गरेको माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले जानकारी दिए ।
उद्धार गरिएका महिलामा कञ्चनपुरका दुई, दार्चुला एक, बैतडी एक र अछामका एक जना रहेको इलामका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।
उनले राति आठ बजेको समयमा सीमाना कटाउन लाग्दा शङ्कास्पद गतिविधि देखिएपछि सोधखोज गर्दा दलालले सीमाना कटाएर सिलिगडी लैजान लाग्दा महिलाको उद्धार गर्न सफल भएको बताए ।
उद्धार गरिएका महिला १६ देखि ३० वर्ष उमेर समूहका छन् ।
प्रजिअ पोख्रेलका अनुसार महिलालाई यौन धन्दामा प्रयोग गर्न पशुपतिनगर नाका हुँदै लैजाने गरिएको छ भने पुरुषलाई समेत विभिन्न कामको प्रलोभन देखाएर शरीरका विभिन्न अङ्ग बिक्री गर्नका लागि भारत लैजाने गरिएको छ ।
प्रजिअ पोखरेलले भने, “मानव तस्करले यौनजन्य क्रियाकलापमा महिला र किड्नी, मुटु, आँखा जस्ता अङ्ग बिक्री गर्नका लागि पुरुषको मानव तस्करी हुने गरेको छ ।”











Discussion about this post