विराटनगर : शिलप्याक गरिएको कोशी ग्याँसको शिलिन्डरमा ग्याँस नभरेको पाइएपछि मोरङको बूढीगंगास्थित कोशी ग्याँस उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।
बूढीगंगा गाउँपालिका ४ नेमुवास्थित कोशी ग्याँस उद्योगलाई आइतबार वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवाना गराएको हो ।
उद्योगले बिक्रीका लागि बजारमा पठाएको शिलप्याक शिलिण्डरमा ग्यास नभएको आइतबार भेटिएको थियो । विराटनगर ९ ट्राफिक चोक घर भएकी अञ्जना सिंहले खरिद गरेको शिलप्याक सिलिन्डरमा ग्यास नभएको भेटिएको हो ।
शिलप्याक सिलिन्डरमा १४ केजी २ सय ग्राम ग्याँस हुनुपर्ने हो । तर, कोशीको १५ केजी ४ सय ग्रामको सिलिन्डरमा ग्यास नै नभरेको भेटिएको छ । उपभोक्ता सिंहले विराटनगरस्थित कोशी ग्याँसको डिलर न्यू हिमाल मार्केटिङ्गबाट ग्याँस खरिद गरेकी थिइन् ।
न्यू हिमालका डिलरबाट ग्याँस डुलाउने चौधरीसँग उनले ग्याँस लिएकी थिइन् । सिंहले एकै पटकमा ३–४ वटा ग्याँस सिलिन्डर राख्ने गर्दछिन् । दुई वटा ग्याँस सकिएपछि दुई महिना अगाडिको सिलिण्डर जोड्नखोज्दा ग्याँस नभएपछि अचम्मित भएको उनले बताइन् ।
‘घरमा जम्मा ४ वटा सिलिन्डर राख्ने गरेका छौं । दुई वटा सिलिन्डर सकिएपछि दुई महिना अगाडि खरिद गरेको शिलिण्डर जोड्न खोज्दा हल्का महशुस भएको थियो’ उनले भनिन्, ‘शंका लागेपछि मज्जाले चेकजाँच गर्दा शिलप्याक भएपनि ग्याँस नभएको भेटियो ।’
शिलप्याक सिलिन्डरमा ग्याँस नभएपछि वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले उद्योग निरीक्षण गरेको थियो । कार्यालयका प्रमुख हितेश बस्नेतसहितको टोलीले आइतबार उद्योगको निरीक्षण गर्दा कैफियत भेटिएपछि दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।
उद्योगले अहिले दैनिक ७ देखि ८ हजार कोशी ग्यासको सिलिन्डर उत्पादन गरिरहेको छ ।














Discussion about this post