झापा : नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को विज्ञ टोलीले झापाका तीन वटा जातिको रैथाने खानाको अध्ययन गरेको छ ।
पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको प्रतिष्ठानबाट रैथाने खानाको अध्ययनका लागि पर्यटन विज्ञ डा.आलोक प्रसाईँको नेतृत्वमा चार सदस्यीय टोली झापा आएको हो ।
उक्त टोलीले झापामा पहिलो चरणमा राजवंशी, सन्थाल र जोगी समुदायको जातीय रैथाने खानाको पहिचान गर्ने टोली प्रमुख डा.प्रसाईँले बताउनुभयो । उहाँका अनुसार मेचीनगर नगरपालिकाको बाहुनडाँगीमा जोगी समुदाय, झापा गाउँपालिकामा सन्थाल समुदाय र कचनकबल गाउँपालिकामा राजवंशी समुदायको रैथाने खानाको खोज तथा अनुसन्धान गरेको छ ।
“राजवंशी र जोगी समुदायको अध्ययन र पहिचान पूरा भइसकेको छ,” उहाँले भन्नुभयो, “अहिले झापा गाउँपालिकामा सन्थाल समुदायको खानाको अध्ययन गरिरहेका छौँ ।” नेपालमा रहेका एक सय ४२ जातिकै रैथाने खानाको अध्ययन गर्ने लक्ष्य लिएको प्रतिष्ठानले कात्तिक महिनाभित्र पहिलो चरणमा ४० वटाभन्दा बढी जातिको खानाको पहिचान गरिसक्ने भएको छ ।
बागमती प्रदेशको १३ वटा, गण्डकी प्रदेशका १२ वटा र मधेस प्रदेशको आठ वटा जातिको रैथाने खानाको पहिचान भइसकेको उहाँले जानकारी दिनुभयो । हाल टोलीले कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, इलाम र झापाको केही जातिको रैथाने खानाको अध्ययन गरिरहेको छ ।
झापाका आदिवासी जातिमध्ये राजवंशी र सन्थालको मौलिक संस्कृति, संस्कार र खाना लोपोन्मूख अवस्थामा पुगिसकेको छ । आधुनिक खानाका परिकारले रैथाने खानालाई लोप हुने अवस्थामा पुर्याएका छन् । राजवंशी जातिको भाकालगायतका रैथाने खाना निकै लोकप्रिय मानिन्छ ।
यस्ता खानेकुरा स्वस्थवर्द्धक र स्वादिला हुने गरेका छन् । टोलीले समुदायको घर आँगनमै पुगेर रैथाने खानाको अध्ययन गरिरहेको मेचीनगर वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । मेचीनगर नगरपालिका-४ जोगीडाँडामा जोगी समुदायको ४२ परिवारको बसोबास रहेको र उनीहरूको परम्परागत मौलिक खानेकुरा हराउँदै गएकोमा वडाध्यक्ष कार्कीले चिन्ता व्यक्त गर्नुभयो । “लोप हुन लागेका खानाको सरकारी तहबाटै संरक्षण र खोजी हुनु ज्यादै खुसीको विषय हो”,उहाँले भन्नुभयो ।
रैथाने खानाको अध्ययनका लागि सरकारी टोलीले स्थानीय जनप्रतिनिधि र समुदायका पाकासँग गहन छलफल र अनुसन्धान गर्दै आएको छ । अध्ययन टोलीले समुदायका ज्येष्ठ नागरिकसँग ६० वर्षअघिको खानाबारे विस्तृतमा सोधपुछ गरेर त्यसको स्वाद, बनाउने तरिका र उपयोगिता बारेमा जानकारी लिने गरेको टोलीका प्रमुख डा प्रसाईँले बताउनुभयो ।
नेपाली जातीय रैथाने खानाको पहिचान गरेर किताब प्रकाशित गर्ने र त्यसलाई राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा ब्राण्डिङ गरेर होटलको खाना सूचीमा समावेश गर्न लगाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।












Discussion about this post