विराटनगर : विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा कारागार चलान भएका छन् ।
प्रहरीले जिल्ला अदालत मोरङमा रहेको सहकारी ठगी मुद्दाका प्रतिवदी रहेका शर्मालाई बिहीबार राति विराटनगर ल्याएर शुक्रबार अदालतमा उपस्थित गराएको छ । फरार भएका अध्यक्ष शर्मालाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको थियो ।
भक्तपुरमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको पनि पूर्वअध्यक्ष रहेका शर्माले सो सहकारीको १४ अर्बभन्दा बढि बचत हिनामिना गरेको मुद्दा थियो ।
भक्तपुरमा केन्द्रीय कार्यालय भई ३५ जिल्लामा शाखा कार्यालय रहेको शिव शिखर सहकारीको काठमाडौं शाखाका बचतकर्ताले दिएको उजुरीको आधारमा काठमाडौं जिल्ला अदालतले यसअघि नै उनलाई थुनामा राख्न आदेश दिएको छ ।
मोरङमा उपस्थित गराइएका शर्मालाई मोरङ जिल्ला अदालतले पनि पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ ।
सहकारी संस्थाको रकम हिनामिना गरेको मुद्दामा फरार रहेका शर्मालाई शुक्रबार प्रहरी अदालतमा उपस्थित गराएपछि अदालतले थुनामा पठाएको जिल्ला अदालत मोरङका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।
जिल्ला अदालत मोरङका न्यायाधीश राजेश्वर अर्यालको इजलाशले शर्मालाई थुनामा पठाउने आदेश दिएको हो । अदालतले थुनामा पठाउने आदेश दिएपनि कैलालीमा अर्को मुद्दा रहेकोले शर्मालाई कैलाली पठाउने तयारी गरेको प्रहरीले जनाएको छ ।














Discussion about this post