ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा २४ लाख रुपैयाँ भेटी रकम सङ्कलन भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार माघ महिनामा मात्र उक्त रकम बराबर भेटी सङ्कलन भएको हो । पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएका तथा दान गरेको भेटी रकम सङ्कलन गरिएको हो ।
पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको भेटी रकम विवरण अनुसार माघमा कुल २४ लाख एक हजार पाँच सय रुपैयाँ सङ्कलन भएको छ ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार पाथीभरामा सङ्कलित उक्त भेटी रकम जिल्लास्थित विभिन्न बैङ्कमा जम्मा गरिएको छ ।
भेटी रकम नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबि बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको हाङ्बाङले जानकारी दिए । यसअघि पुस महिनामा ११ लाख बढी अर्थात् ३५ लाख २९ हजार रुपैयाँ भेटी सङ्कलन भएको थियो ।
समितिका अनुसार माघ मसान्तसम्ममा सङ्कलन भएको समेत पाथीभराको कुल भेटी रकम आठ करोड ९४ लाख ५४ हजार ४८ रुपियाँ भएको छ ।














Discussion about this post