इटहरी : तीव्र गतिमा रहेको बस झापामा दुर्घटना हुँदा हजुरबा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ ।
आज (बुधबार) साँझ ५ः३० बजेतिर कमल गाँउपालिका वडा नम्बर ४ केरखा चोकस्थित राजमार्गमा काकडभिट्टाबाट काठमाण्डौंतर्फ जादै गरेको प्र.१–०१–००१ ख ४३३१ नम्बरको यात्रुबाहक बसले इलेक्ट्रोनिक साइकललाई ठक्कर दिएको थियो ।
साइकलमा सवार झापाको कमल गाँउपालिका वडा नम्बर ३ सानो केरखा बस्ने अन्दाजी ६० वर्षीय टेकबहादुर लिम्बू र उनकै नातिनी तत्काल नाम नखुलेकी अन्दाजी ९ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको हो ।
बस र बस चालक जिल्ला झापा शिवसताक्षी नगरपालिका वडा नम्बर १ बस्ने ३२ वर्षीय विशाल ठटाललाई प्रहरी चौकी केरखाले नियन्त्रणमा लिएको छ ।
घटना भएपछि आक्रोशित भीडले बस र प्रहरी चौकी तोडफोडको प्रयास गरिरहेका छन् । अहिले स्थिति नियन्त्रणबाहिर रहेको छ ।
आक्रोशित स्थानीयबासीले प्रहरी चौकीभित्र रहेको बसमा ढुंगामुढा प्रहार गर्दा बससँगै प्रहरी कार्यालयको झ्यालमासमेत क्षति भएको छ ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दको कमाण्डमा ७० जना प्रहरी खटिएका छन् भने सशस्त्र प्रहरीका कार्यालय पाडागुजेबाट एसपी निओन खड्काको कमाण्डमा ७० जना सशस्त्र प्रहरी खटिएका छन् ।
प्रहरीले भीड नियन्त्रणमा लिनका लागि अश्रु ग्याँससमेत प्रहार गरिरहेको छ । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपि, प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Discussion about this post