इटहरी : मायाको चिनोमा ‘कुराउनी’ उपहार । सुन्दा अनौठो लाग्न सक्छ । तर, इटहरीमा रहेको एक सहकारी संस्थाले आफ्नो कार्यक्रमका अतिथिहरूलाई मायाको चिनोस्वरूप आफैँले उत्पादन गरेको ‘कुराउनी’ (जसलाई खुवा पनि भनिन्छ) उपहार वितरण गरेको छ ।
इटहरीमा रहेको दुग्ध उत्पादक सहकारी संस्थाले ४७ औँ वार्षिक साधारण सभामा आएका सबै अतिथि र शेयर सदस्यहरूलाई कुराउनी उपहारस्वरूप वितरण गरेको हो । संस्थामा ६ सय ६७ जना शेयर सदस्य रहेका छन् ।
संस्थाले संकलन गरेको दूधबाट तयार गरिएको कुराउनीलाई बट्टामा तयार गरी मायाको चिनोस्वरूप वितरण गरेको हो ।
सामान्यतयाः औपचारिक कार्यक्रममा बोलाइएका अतिथिलाई सम्झनाका ‘मायाको चिनो’ उपहार स्वरुप दिइन्छ । मायाको चिनो भन्ने बित्तिकै कुनै फोटो, मूर्ति, काठ तथा फाईबरका तयारी वस्तु दिइन्छ ।
तर दुग्ध सहकारी संस्थाले आफ्नै उत्पादनलाई मायाको चिनो बनाएको हो । आफ्नै संस्थाको उत्पादनलाई प्रर्वधन गर्न तथा बाहिरी वस्तुको प्रयोगलाई निरुत्साहित गर्न यस किसिमको कार्यलाई सुरुवात गरिएको संस्थाका अध्यक्ष खेमप्रसाद काफ्ले जानकारी दिए ।
अन्य संस्थाहरूले पनि खरिद गर्न चाहे आवश्यकताअनुसार खरिद गर्न सकिने व्यवस्थापक ध्रुवप्रसाद कोइरालाले बताए ।
आफ्नै संस्थाका उत्पादित वस्तुको प्रर्वधन गर्नु राम्रो काम भएको उद्योग कृषि तथा सहकारी मन्त्रालयकी डा.दीपा दिवालीले बताइन् ।
दुग्ध उत्पादक सहकारी संस्थाले राम्रो काम गरेको भन्दै उनले प्रशंसा गरिन् ।
कार्यक्रममा संस्थाका सबैभन्दा जेष्ठ सदस्यहरु बासुदेव पोख्रेल र हिरादेवी पौडललाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
संस्थाले बार्षिक साधारण सभाको अवसरमा वर्षभरी नियमित रूपमा दूध ल्याउने ३५ जना किसानलाई पुरस्कृत गरेको छ । यस्तै, उत्कृष्ट कारोबार गर्ने १० जना कृषकलाई सम्मान गरेको छ ।
यसैगरी शेयर सदस्य कृषकका विभिन्न तहमा उत्कृष्ट नतिजासहित अध्ययनरत छोराछोरीहरूलाई पनि सम्मान गरेको छ । संस्थाबाट नियमित रूपमा दूध खरिद गर्ने सात जना उपभोक्ताहरुलाईसमेत सम्मान गरेको संस्थाका सचिव राजेन्द्र धमलाले बताए ।
Discussion about this post