इटहरी : इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बुधबार (आज) इटहरीको आँपगाछी चोक नजिकै मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा युवकको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीका अनुसार मृत्यु हुनेमा इटहरी ५ तुलसा टोल बस्ने नीरज बजगाईँ रहेका छन् । यद्यपि, उनको लाइसेन्स भएको ठेगाना भने इटहरी २ को रहेको प्रहरीले जनाएको छ ।
उनी घटनामा गम्भीर घाइते भएको र उपचारका लागि न्यूरो अस्पताल लगिएको भएपनि उपचारकै क्रममा डाक्टरले मृत घोषित गरेको भण्डारीले जानकारी दिए ।
‘तत्कालको समयमा उक्त पहिचान भएको मानिसको मृत्यु भएको खुलेपनि आफन्तले ठ्याक्कै पुष्टि गरिसकेका छैनन्,’ उनले भने, ‘घटना आज दिउँसो १२ः३० बजेतिरको हो ।’
इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२–०५४ प १७२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको उनले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।
थप अपडेट : मृतकका दाइले शवको पहिचान गरेको डीएसपी भण्डारीले जानकारी दिए ।
Discussion about this post