इटहरी : कोशी प्रदेश प्रहरीले आर्थिक वर्ष २०८१/८२ मा भन्सार छली, चोरी तथा तस्करी नियन्त्रणका लागि सक्रियता देखाएको छ।
प्रहरीले चेकजाँच कडाई गर्दै सीमा क्षेत्रमा निगरानी बढाएको नतिजास्वरूप सो अवधिमा २० करोड ४२ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गर्दै राजस्व संकलन गरेको छ।
खुल्ला सिमानाका कारण चोरी–तस्करीका घटना बढ्ने प्रवृत्ति रहेकाले प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वयमा अनुगमन र चेकजाँच अभियान सञ्चालन गरिएको थियो। जस अन्तर्गत जिल्लागत रूपमा उल्लेखनीय सफलता हात परेको प्रहरीको दाबी छ।
जिल्ला प्रहरी कार्यालय झापाले मात्रै ७ करोड ३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
त्यसैगरी, मोरङले ५ करोड ५६ लाख, सुनसरीले ४ करोड २३ लाख, ताप्लेजुङले १ करोड ४ लाख, उदयपुरले ९६ लाख र इलामले ७० लाख रुपैयाँभन्दा बढी मूल्यको भन्सार छली तथा चोरी निकासीका सामाग्री बरामद गरी राजश्व संकलन गरेको छ।
प्रदेशका अन्य जिल्लाबाटसमेत भन्सार छलीमार्फत ओसारपसार गरिने अवैध वस्तुहरू नियन्त्रणमा ल्याउने कार्य प्रभावकारी रूपमा अघि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए ।
सोही अवधिमा चोरी–तस्करीमा प्रयोग गरिएको ८९ वटा सवारीसाधन नियन्त्रणमा लिएको उनको भनाइ छ । साथै, यस सम्बन्धमा संलग्न ८५ जनालाई पनि पक्राउ गरिएको छ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार चोरी–तस्करी नियन्त्रणमा प्रविधिको प्रयोग, सूचना संकलन, निगरानी र सशक्त चेकजाँचमार्फत थप प्रभावकारी कदम चालिएको छ।














Discussion about this post