इटहरी : दोस्रो तरहरा गोल्डकपको दोस्रो खेलमा पानबारी फुटबल क्लब धरान विजयी भएको छ । बेलका यूथ क्लब उदयपुरबीच भएको खेलमा पानबारीले २१ गोल गदै विजयी भएको हो ।
खेलको पहिलो हाफको १६ मिनेटमा पानबारी फुटबल क्लबको तर्फबाट प्रदीप राईले पहिलो गोल गरेका थिए । यस्तै, दोस्रो हाफको ६ मिनेटमै पानबारीको तर्फबाट अर्जुन लिम्बूले दोस्रो गोल गरे ।
दोस्रो हाफको २१ औँ मिनेटमा भने बेलका फुटबल क्लबका तर्फबाट रोशन गुरुङले गोल गरेका थिए । आइतवारको खेलमा प्रदीप राई म्यान अफ द म्याच घोषित भए । सोमबारको खेल भने योङ ब्रोदर्श फुटबल क्लब इटहरी र केराबारी फुटबल क्लब मोरङबिच हुनेछ ।
शनिवारको उद्घाटन खेलमा पञ्चकन्या फुटबल क्लब रामधुनीले आरआईएफसी काठमाडौँलाई रोमाञ्चक पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै प्रतियोगिताको पहिलो जित दर्ता गरिसकेको छ ।
प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यसबाहेक उत्कृष्ट खेलाडी लगायतका विभिन्न उपाधिमा पनि पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
तरहरा गोल्डकप पुस ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता तरहराको बहुभाषी खेलमैदानमा भइरहेको छ ।
स्थानीय तथा बाहिरका विभिन्न टोलीहरूको सहभागिता रहेको प्रतियोगिताले फुटबल प्रेमीहरूलाई उत्कृष्ट खेलको प्रदर्शन गराउने आयोजकले विश्वास व्यक्त गरेको छ ।
योङ्ग ब्वाइज फुटबल क्लब तरहराको आयोजनामा प्रतियोगिता भएको हो ।














Discussion about this post