इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले दमकल खरिदका लागि नगरबासीबाट चन्दा उठाउने हल्ला निराधार भएको स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर पौडेलले नगरको सुरक्षालाई मध्यनजर गर्दै दमकल खरिद प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए।
उनका अनुसार नेपालको सार्वजनिक खरिद प्रक्रियाका कारण केही समय लाग्नु स्वाभाविक भए पनि बैशाखभित्रै दमकल सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
हालै भएका आगलागीका घटनाप्रति दुःख व्यक्त गर्दै उनले यस कठिन घडीमा नगरबासीको सुरक्षा, स्वास्थ्य र आपतकालीन सेवामा नगरपालिका पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।
खासगरी सामाजिक सञ्जालमा “दमकल किन्न चन्दा उठाउने” भन्ने भ्रामक, अतिरञ्जित तथा स्वार्थप्रेरित सूचनाहरू फैलिएको उल्लेख गर्दै मेयर पौडेलले त्यस्ता प्रचारप्रति सचेत रहन आग्रहसमेत गरे।
नगरपालिकाले आफ्नै स्रोत र प्रक्रिया अनुसार दमकल खरिद गरिरहेको जनाउँदै उनले कसैले पनि सहयोग वा चन्दाको नाममा रकम मागेमा विश्वास नगर्न र त्यस्तो कार्यमा संलग्न नहुन नगरबासीलाई अनुरोध गरेका छन्।
मेयर पौडेलले सुरक्षित, समृद्ध र सक्षम नगर निर्माणतर्फ नगरपालिका दृढतापूर्वक अघि बढिरहेको उल्लेख गर्दै नगरबासीको साथ, विश्वास र सहयोग नै सबैभन्दा ठूलो शक्ति भएको बताएका छन्।
यो पनि – ‘इटहरीमा दमकल खरिदको प्रक्रिया अगाडि बढिसकेको छ’ : नगर प्रवक्ता
















Discussion about this post