राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बोर्डले परीक्षाफल प्रकाशन गरेको हो ।
बोर्डका अनुसार सबै विषयमा ग्रेड प्राप्त परीक्षार्थीको कुल संख्या दुई लाख ६८ हजार १९० छ । कुल उत्तीर्ण (ग्रेड प्राप्त) प्रतिशत ६४.१३ रहेको बोर्डले जनाएको छ ।
नियमिततर्फ ग्रेड प्राप्त प्रतिशत ६९.७५ छ । आंशिकतर्फ ग्रेड प्राप्त प्रतिशत ४२.३८ रहेको बोर्डले जनाएको छ ।
यस वर्ष कुल ४० परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । परीक्षामा कुल चार लाख १८ हजार १७० विद्यार्थी सहभागी थिए ।
गएको वैशाख १४ देखि २७ गतेसम्म कक्षा–१२ को परीक्षा सञ्चालन गरिएको थियो । नतिजामा (एनजी) प्राप्त गरेका वा अनुपस्थित भएका योग्य विद्यार्थीका निम्ति मौका (पूरक)परीक्षाको समयतालिका समेत सार्वजनिक गरेको छ ।
आगामी साउन २ गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै र दुई विषयमा परीक्षा दिनेहरूका निम्ति सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ ।
साउन ३ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीका निम्ति आफूले परीक्षा दिने विषयमध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ ।
मौका परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।
सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा (एनजी) प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा (डी) वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थी यो परीक्षामा सामेल हुन पाउनेछन् ।












Discussion about this post