विराटनगर : सरकारी अस्पतालको बहुमूल्य जग्गामा वर्षौँदेखि व्यावसायिक सटर सञ्चालन गरी मासिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका संस्थाहरूलाई कोशी अस्पतालले अन्तिम चेतावनी दिएको छ।
पहिलो पटक दिएको १५ दिने म्याद बेवास्ता भएपछि अस्पताल प्रशासनले सोमबार दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र संरचना खाली गर्न निर्देशन दिएको हो।
अस्पतालका अनुसार विराटनगर–७ स्थित कित्ता नम्बर ११, १२, १५, २२, २३ र २६ मा रहेको करिब १० कठ्ठा जग्गा लामो समयदेखि विभिन्न चार संस्थाले प्रयोग गर्दै आएका छन्। नापी कार्यालय मोरङले गत जेठ २९ गते गरेको फिल्ड रेखांकनले उक्त जग्गा कोशी अस्पतालकै स्वामित्वमा रहेको पुष्टि गरिसकेको छ।
अस्पताल प्रशासनका अनुसार नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले अस्पतालको जग्गामा संरचना निर्माण गरेर ३० भन्दा बढी व्यावसायिक सटर सञ्चालन गरिरहेका छन्। ती सटरबाट मासिक लाखौँ रुपैयाँ भाडा उठाइँदै आएको अस्पतालको दाबी छ।
आन्तरिक अध्ययनअनुसार नेपाल क्षयरोग निवारण संस्थाले करिब ६ कठ्ठा ८ धुर जग्गामा बनेका संरचनाबाट मासिक करिब दुई लाख रुपैयाँ भाडा उठाउँदै आएको छ।
नेपाल रेडक्रस सोसाइटीले दुई कठ्ठा जग्गामा बनेको भवन राष्ट्रिय वाणिज्य बैंकलाई भाडामा दिएर मासिक करिब एक लाख ५० हजार रुपैयाँ आम्दानी गरिरहेको अस्पतालले जनाएको छ। गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले पनि आफ्नो कब्जामा रहेका सटरबाट नियमित भाडा उठाउँदै आएका छन्।
यसअघि अस्पतालले असार ५ गते १५ दिनको समय दिँदै पहिलो सूचना जारी गरेको थियो। तर, तोकिएको अवधिसम्म कुनै पनि संस्थाले संरचना खाली नगरेपछि दोस्रो पटक सात दिनको अन्तिम अल्टिमेटम जारी गरिएको अस्पताल प्रशासनले जनाएको छ।
आइतबार गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले अस्पतालको अतिक्रमित जग्गाको स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा दुवै मन्त्रीले सरकारी सम्पत्तिको संरक्षण गर्न, अस्पतालको विकासमा बाधा बनेका संरचना हटाउन र कानुनअनुसार प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए।
अस्पतालले सात दिनभित्र पनि जग्गा खाली नगरिए प्रचलित कानुनअनुसार प्रशासन आफैँले संरचना हटाउने स्पष्ट चेतावनी दिएको छ। अस्पताल प्रशासनले सरकारी स्वास्थ्य संस्थाको सम्पत्तिको संरक्षण र भविष्यमा अस्पताल विस्तारका लागि जग्गा आवश्यक भएकाले अतिक्रमण हटाउने अभियानमा कुनै सम्झौता नगर्ने जनाएको छ।





















Discussion about this post