इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–४ हरिनगरा–बसन्तपुर भित्री सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
मंगलबार साँझ करिब ६ः३५ बजेतिर दक्षिणबाट बसन्तपुर हुँदै उत्तरतर्फ आउँदै गरेको भारतीय नम्बर बीआर ५० एसी ०७५५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को १३ प १८२० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।
दुर्घटनामा भारतीय नम्बरको मोटरसाइकल चालक हरिनगर गाउँपालिका–५ का ३५ वर्षीय सञ्जय मण्डल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि विराट नर्सिङ होम, विराटनगर पठाइएको थियो।
उपचारकै क्रममा साँझ ७ः२५ बजेतिर चिकित्सकले मण्डललाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
त्यस्तै, को १३ प १८२० नम्बरको मोटरसाइकल चालक भोक्राहा नरसिंह गाउँपालिका–५ का करिब ४० वर्षीय कलामुद्दिन अन्सारी र पछाडि सवार सोही स्थानका ४५ वर्षीय जलामुद्दिन अन्सारी गम्भीर घाइते भएका छन्। उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको प्रारम्भिक कारण मोटरसाइकलको तीव्र गति रहेको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












Discussion about this post