इलाम : हत्या मुद्दामा दोषी ठहर भएको करिब १५ वर्षपछि इलामका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
अदालतबाट पाँच वर्ष कैद सजाय तोकिए पनि कैद भुक्तान नगरी फरार रहेका चुलाचुली गाउँपालिका–३ का कमल भन्ने प्रेमकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार श्रेष्ठलाई २०८३ असोज ४ गते दिउँसो आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो । असोज ९ गते अदालतमा पेस गरिएका उनलाई तोकिएको कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
श्रेष्ठसमेत प्रतिवादी रहेको उक्त मुद्दा २०६१ सालमा भएको घटनासँग सम्बन्धित छ । प्रहरीका अनुसार २०६१ फागुन १ गते कुखुराको भाले चोरी भएको विषयमा उत्पन्न विवादपछि फागुन २ गते अशोक राईको विवाह भोजका क्रममा शुक्रप्रसाद लिम्बुमाथि खुकुरी, रड तथा भाटाले प्रहार गरिएको थियो ।
गम्भीर घाइते लिम्बुलाई उपचारका लागि धरानस्थित घोपा अस्पताल लगिएकामा उपचारकै क्रममा २०६१ चैत २ गते मृत्यु भएको थियो ।
उक्त घटनामा संलग्न रहेको अभियोगमा श्रेष्ठविरुद्ध चलेको ज्यान मुद्दामा इलाम जिल्ला अदालतले २०६६ कात्तिक १६ गते पाँच वर्ष कैद सजाय हुने फैसला गरेको थियो । सर्वोच्च अदालतले २०६८ चैत २४ गते उक्त फैसला सदर गरेपछि पनि उनी कैद भुक्तान नगरी फरार रहेका थिए ।
फरार प्रतिवादीको खोजतलासका क्रममा पक्राउ परेका श्रेष्ठलाई अदालतको आदेशअनुसार कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।















Discussion about this post