इटहरी : १४ वर्षको कलिलो उमेर । खेल्ने, रमाउने समयमा करीब १५ वर्ष अगाडि भारतको असाम राज्य गुहाटीमा पढ्दा पढ्दै दीपा वाग्ले आफ्नी फुपू दिदीको घर इटहरी २ आँपगाछी आईन् ।
यहीँ बस्ने क्रममै उनको विवाहको कुरा चल्यो । कक्षा ८ मा पढ्दा पढ्दै उनको स्थानीय अधिकारी थरका दम्पत्तीसँग विवाह भयो । विवाहपछि बीचमै पढाई रोक्नुपर्दाको पीडा दीपाको आँखामा अहिले पनि झल्किन्छ ।
‘मलाई विवाह भन्ने कुरा नै के हो भन्ने थाहा नहुँदै विवाह भयो,’ उनले सुनाईन्, ‘विवाह भएको केही वर्षमै छोरीको जन्म भयो, त्यसपछि त घरको काममा व्यस्त हुनपर्यो ।’
उनका अनुसार विवाह गरेको दुई वर्षमै पहिलो सन्तानको रुपमा छोरीको जन्म भयो । छोरीको जन्म भएसँगै उनका श्रीमान पनि नेपाल प्रहरीमा भर्ती भए । अहिले एउटी छोरी १३ वर्षकी छिन् भने अर्का छोरा नौ वर्षका ।
गत ०७२ सालमा उनले दुई लाख ४० हजार रुपैँयामा ई–रिक्सा (सिटी सफारी) किनिन् । सफारीबाट राम्रै कमाई भईरहेको थियो । करीब पन्ध्र महिना सफारी चलाएपछि शरीर कमजोर हुने, टाउको, आँखा दुख्ने गरेकाले उनले सफारी बिक्री गरिन् ।
‘परिवारसँगकै सल्लाहमा सफारी चलाउँदै आएकी थिएँ,’ दीपाले भनिन्, ‘सफारी बेचेपछि मैले भ्यान सिक्न सुरु गरेँ, महिलाले गर्न नसक्ने भनिएका भिन्न काम गर्न चाहन्थेँ ।’
दीपा अहिले उमेरले २८ वर्ष लागिन् । उनका श्रीमान नेपाल प्रहरीमा जागिरे छन् । तर, दीपा श्रीमानको मात्रै जागिरले सन्तुष्ट हुन सकिनन् । उनले आँफूले भ्यान सिक्नका लागि पच्चीस हजार रुपैँया खर्च गरेपनि लाइसेन्स निकाल्न नपाउँदा आँफू समस्यामा रहेको सुनाईन् ।

बीचको समय त्यतिकै गुज्रिनुपरेको पीडालाई सम्झदैँ उनले भनिन्, ‘बीचमा के के समस्याले गर्दा त्यतिकै समय बित्यो, अहिले इटहरी उपमहानगरपालिकाको स्काभेटर सिकेर काम गरिरहेको छु ।’
उनले महिलाले पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने उदाहरणका रुपमा आँफू स्थापित हुने विश्वास लिएकी छिन् ।
उनी भन्छिन् ‘स्काभेटर सिक्न थालेको धेरै त भएको छैन । तर, अहिले खोलामा जाने, बालुवा, गिटि उठाउने जस्ता काम गर्न थालेकी छु । केही समयमै पूर्ण रुपमा चलाउँछु भन्ने विश्वास लिएकी छु ।’ आँफूमा बलियो आत्मबल र दृढ संकल्प भएकै कारण स्काभेटर चलाउन सक्ने भएको उनले सुनाईन् ।
लकडाउनमै स्काभेटर सिकेर २५ संक्रमितको शव पुरेँ
पछिल्लो समय कोभिड १९ का कारण आम मानिसमा त्रास छाएको छ । कोभिडका कारण दैनिकजसो मानिसको ज्यान पनि गईरहेको अवस्था विद्यमान छ । तर, यो समयमा मृतकको शव पुर्नका लागि समस्या भएपनि दीपाले हालसम्म कोभिडबाट ज्यान गुमाउने २५ जनाको शव पुरिसकेको बताउँछिन् ।
इटहरी–धरान अन्र्तगतको चारकोशे झाडीमा उनले हालसम्म २५ वटा संक्रमितको शव पुरेको सुनाईन् ।
दीपाले भनिन्, ‘मलाई डर भन्ने शब्द नै मनमा आउँदैन, जुनसुकै सक्ने काम छ भने आटँ गर्छु ।’ इटहरीमा अहिले उनले मात्रै संक्रमितको शव पुर्दै आएकी छिन् ।
‘कहिले राती ११ बजे पनि संक्रमितको शव पुरेर घर आएकी छु,’ उनले भनिन्, ‘हिम्मत र साहस भएमा पुरुष सो सरह महिलाले पनि काम गर्न सक्छन् भन्ने विश्वास लाग्न थालेको छ ।’
ठूला–ठूला मेसिन पुरुषले मात्रै चलाउँछन् भन्ने मान्यतालाई तोड्दै दीपाले आफ्नो अदम्य साहस र हिम्मतले लकडाउनकै समयमा स्काभेटर सिकेर हाल मृतक संक्रमितको शव पुर्न लागिपर्नु उदाहरणीय काम हो ।
दीपा जस्तै अन्य साहसी दीपाहरुलाई स्थानीय सरकारले प्रोत्साहन गर्न आवश्यक देखिन्छ ।
प्रकाश तिम्सिनाको सहयोगमा ।














Discussion about this post