धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रमाणहीन समाचार प्रकाशित गरेको भन्दै आपत्ति जनाएको छ ।
काठमाडौँको एक अनलाइनले आधार र प्रमाणहीन रुपमा प्रतिष्ठानको समाचार प्रकाशित गरेको भन्दै प्रतिष्ठानले आपत्ति जनाएको हो ।
एक खण्डन प्रकाशित गर्दै प्रतिष्ठानले भनेको छ – ‘प्रकाशित भएको समाचार गलत, भ्रामक, तथ्यहीन र कपोकल्पित भएको सबैमा जानकारी गराउन चाहन्छौँ, कुनै आधार र प्रमाणबिना एकपक्षीय रुपमा समाचार लेखेर प्रतिष्ठानको छवि धमिल्याउने एवं उपकूलपतिको चरित्रमाथि नै धावा बोल्ने काम भएको छ ।’
राजधानीको एक अनलाइनले वीपी प्रतिष्ठानका उपकुलपतिको यस्तो धन्दा भन्दै आधारहीन समाचार प्रकाशित भएकाले खण्डन प्रकाशित गरिएको प्रतिष्ठानले आपत्ति जनाएको हो । प्रतिष्ठानले प्रमाणसहितको समाचार प्रकाशित गर्नका लागि कुनै बाधा नपुर्याएको उल्लेख गर्दै कपोकल्पित, तथ्यहीन समाचार प्रकाशन गरेर व्यक्तिको चरित्र हत्या गर्ने काम भएको जनाएको छ ।
प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको करीब तीन वर्ष अगाडि कैद भएका पारिवारिक जमघटको तस्वीर प्रकाशित गरेर चरित्र हत्या गर्न खोजेको भन्दै प्रतिष्ठानले आपत्ति जनाएको छ । यस्तै, हाल कोभिड अस्पतालमा ६० जना संक्रमित भर्ना भएर उपचार भइरहेको र सो अनलाइनले ३० शैया भन्दा कम बेड रहेको भनेर समाचार प्रकाशित गरेको प्रतिष्ठानले जनाएको छ ।














Discussion about this post