इटहरी : इटहरी उपमहानगरपालिका–४ हलगडा चोकमा ट्रकको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ।
दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–२–००२ ख १३२८ नम्बरको ट्रकले सोमबार पश्चिमबाट पूर्वतर्फ सडक पार गर्दै गरेकी इटहरी–५ निवासी अन्दाजी ७५ वर्षीया पद्मकुमारी खड्कालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेपछि उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनापछि ट्रक र चालक संखुवासभाको धर्मदेवी नगरपालिका–५ निवासी २६ वर्षीय निमा जाङ्बु शेर्पालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा चालकको सडकमा पर्याप्त ध्यान नपुग्दा दुर्घटना भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















Discussion about this post