इटहरी : इटहरीका मेयर द्वारिकलाल चौधरीले फेरि डोजर आतङ्क दोहोर्याएका छन् । जथाभावी बोलेर चर्चामा आएका मेयर चौधरीले मंगलबार इटहरीको खनार नजिकै एक व्यवसायीले निर्माण गर्दै गरेको कम्पाउन्ड वाल भत्काएका छन् ।
नहरको जमिन मिचेर संरचना बनाएको भन्दै मेयर चौधरीले नगर प्रहरी, दमकल, डोजर (स्काभेटर) र नेपाल प्रहरीसहित त्यहाँ पुगेर भर्खरै लाउँदै गरेको कम्पाउन्ड वाल भत्काएका हुन् ।
उनले अब पुनः ‘एक्सन’ मा उत्रिएको बताउँदै सार्वजनिक जग्गा मिचेका संरचनाहरु भत्काउने बताएका छन् । आफूले काम गर्नेबारे थाहा भए अदालतले ‘स्टे अडर’ जारी गर्ने भएकाले आफू सोझै ‘एक्सन’ मा उत्रिने उनको चेतावनी छ ।
‘कहाँ–कहाँ हान्ने भनेर अहिले भन्ने होइन’, मेयर चौधरीले भने, ‘मेयरले यहाँ एक्सन गर्दैछ भन्ने थाहा पायो भनेचाहिँ स्टे अर्डर आइहाल्छ ।’
उनले आफू जुनसुकै समयमा पनि एक्सनमा उत्रिने बताए । निजी स्वार्थमा भइरहेको नदी तथा ढलहरुको प्राकृतिक बहावलाई मिच्ने प्रवृत्तिले इटहरीका धेरै भू–भाग डुबानमा परेको उनको दाबी छ । साथै इटहरीका व्यवसायीले बनाउन लागेको रिसोर्टका विषयमा उपमहानगरसँग अनुमति नै नलिई र कानुनी प्रावधान पूरा नगरेकाले डोजर चलाएको चौधरीले बताए ।
‘हरेक संरचना निर्माण गर्दा उपमहानगरपालिकासँग अनुमति लिएर, नक्सा पास गरेर गनुपर्छ’, मेयर चौधरीले भने ।














Discussion about this post