तरहरा : इटहरी २० स्थित तरहरा बजारमा ‘सेन्सर’ बत्ती जडान गरिएको छ । चाडपर्वलाई मध्यनजर गर्दै चोरी, डकैती, लुटपाट तथा झै–झगडा हुन नदिने उदेश्यले बजार क्षेत्रमा ‘सेन्सर’ बत्ती जडान गरिएको हो ।
लायन्स क्लब अफ तरहराको नेतृत्व तथा तरहरा साइक्लिङ र उद्योग बाणिज्य संघ तरहराको सहकार्यमा बत्ती जडान गरिएको लायन्स तरहराका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए । उनका अनुसार नयाँ प्रविधिको बत्ती निजी क्षेत्रको प्रयासमा जडान गरिएको हो ।
‘केही व्यक्ति र निजी संस्थासँगको सहकार्यमा करीब ८० हजार बराबरको बत्ती जडान गरेका हौँ,’ उनले भने, ‘यो सेन्सर बत्ती जडान भएकाले आफैँ बल्ने र आफैँ निभ्ने हुन्छ ।’
तरहरा साइक्लिङका अध्यक्ष शिवु रुम्दाली राईका अनुसार पछिल्लो समय अँध्यारोको समयमा हुने खतरालाई मध्यनजर गर्दै बत्ती जडान गरिएको हो ।
‘साइक्लिङ क्लबले सामाजिक काम पनि गर्छ भन्ने सन्देश दिनका लागि पनि हामीले बजार क्षेत्रमा एउटा सकारात्मक कामको थालनी गरेका हौँ,’ रुम्दालीले भने, ‘तरहरा चौकभरी सातवटा बत्ती जडान भएको छ, रातभर झिलिमिली बल्छ ।’
स्थानीयले तरहरामा निजी क्षेत्रले बत्ती जडान गर्नु उदाहरणीय रहेकाले प्रशंसा गरेका छन् । यसअघि पनि विभिन्न सामाजिक काममा सक्रिय हुँदै आएको लायन्स क्लब तरहराले समाजमा भएका अतिरिक्त आवश्यकतामा साथ दिदैँ आएको छ ।













Discussion about this post