इटहरी : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा इटहरीबाट समातिएका २० जना कार्यकर्तालाई प्रहरीले छाडेको छ ।
मंगलबार बिहान इटहरी ९ बाट समातिएका २० जनालाई प्रहरीले साँझ छाडेको हो । बजार, पसल बन्द गराउँदै हिँडेका २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्दि गरेसँगै विप्लवका कार्यकर्ताले बजार, पसल बन्द गराउँदै हिँडेका थियो ।
उनीहरूलाई सम्झाई, बुझाई गरेर छाडिएको प्रहरीले जनाएको छ ।
यस्तै, धरानबाट इटहरीतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको जीपमा ढुंगा प्रहार गर्ने २ जनालाई कानूनी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ढुंगा प्रहार गर्नेहरूमा सुवास राई र रमेश राई रहेका छन् । प्रहरीका अनुसार धरान ८ साम्पाङ चोक भित्री सडकमा उनीहरूले ढुंगा प्रहार गरेर जीपको शिशा फोडेका थिए ।
उनीहरूलाई पीडित पक्षको जाहेरीको आधारमा कानूनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यो पनि – इटहरीमा पसल बन्द गराउँदै हिँडेका विप्लवका २० जना कार्यकर्ता पक्राउ
यो पनि – विप्लवको बन्दले सुनसान इटहरी, ठाउँठाउँमा प्रहरी परिचालन












Discussion about this post