इटहरी : ‘नेपालको संविधानले आमाको नामबाट पनि नागरिकता पाउने ब्यवस्था गरेको छ । तर, मैले आमाको नामबाट नागरिकता किन नपाउने ?’
यो प्रश्न हो, इटहरी ४ की रञ्जना राउतको । इटहरी उपमहानगरपालिकाले आयोजना गरेको नागरिकता प्राप्तीमा भएका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा उनले सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समक्ष उक्त प्रश्न राखेकी हुन् ।
उनले कक्षा १२ पास गरेको भएपनि नागरिकता नभएका कारण जागिर नपाएकोप्रति गुनासो पोखिन् ।
बुवा बेपत्ता रहेको र आमाले विवाह गर्नुभन्दा अघि बनाएको नागरिकता भएपनि आमाको नामबाट नागरिकता पाउन नसक्दा समस्यामा रहेको उनले सुनाइन् । उनी एक प्रतिनिधि पात्र मात्र हुन् । इटहरीमा मात्रै ५० जनाले आमाको नामबाट नागरिकता नपाएको गुनासो गरेका छन् ।
कार्यक्रममा इटहरीका ४२ जना महिला र ८ जना पुरुष गरी ५० जनाले नागरिकता पाउन नसक्दा झेलेको दुःख सुनाए । प्रमुख जिल्ला अधिकारी यादवले गुनासो टिपोट गर्दै नागरिकता प्राप्तीका लागि पु¥याउनुपर्ने प्रक्रिया र कागजातका बारेमा जानकारी गराएका छन् ।
‘संविधानले आमाको नामबाट नागरिकता पाउने ब्यवस्था गरेपनि कानुन नबन्दा आमाबाट नागरिकता दिन सकिएको छैन,’ उनले भने, ‘कानुन बन्ने बित्तिकै नागरिकता दिने तयारीमा छौं ।’
उपप्रमुख लक्ष्मी गौतमका अनुसार कार्यक्रममा विशेष गरी चार किसिमका समस्याले नागरिकता नपाएका गुनासाहरू पेश भएका छन् । धेरैजसोको बुवा वेपत्ता भएका वा नभएका तर आमाका नामबाट नागरिकता पाउन नसकेको समस्या देखिएको छ ।
यस्तै, भारतबाट नेपालमा विवाह गरी आएका, तर उताको कागजपत्र नभएका कारण नागरिकता बन्न नसकेका र विभिन्न ठाउँदेखि बसाँईसराईँ गरी आएका भएपनि बसाईँसराईँ लगायतका कागजपत्र नल्याएका कारण नागरिकता पाउन नसकेको पाइएको उनले बताइन् ।
यस्तै, आफन्तका नाममा कोही पनि नभएका ब्यक्तिहरूले पनि नागरिकता पाउन नसक्दा समस्या भएको उनले बताइन् ।
इटहरी उपमहानगरपालिकाले महिला हिंसा विरूद्धको १६ दिने अभियानका क्रममा उक्त कार्यक्रम गरेको हो ।












Discussion about this post