ए खर्दारनी बजै ! आउनुस् आउनुस्, कताबाट ?
आफ्नो भताभुङ्ग कोठामा बसेर खरदार सुन्दैछ र आफ्नो जनैको जुम्रा विक्षुब्ध भएर मार्दैछ । आफ्नो नङलाई नङ्ग्रा सम्झने भूल गर्दैछ जसले जुम्राबाहेक अरु केही मार्न सकेन (न आफ्नो अभाव, न अर्काको प्रभाव, न भोक, न शोक ।
ऊ झ्यालबाट देख्छ, खरदारनी बजै (ऊ आफू खरदार भैटोपलेकोले) पल्लो घर पोर्टिकोमा उभिएकी रहिछ । चाइजिन इँटको रातो बंगलाभित्रैबाट घन्किँदै रहेछ ।
बाहिर किन ? भित्र आउनुस् ।
खरदारनी बजै (जो यो माघदेखि पच्चिस पुगेर छब्बीस लागी) भित्र पसी । बङ्गलाका मालिक (जो चालीस पुगेर अझै माथि उक्लिसकेका छन् र पक्कै पनि बजैका नाति होइनन् ) हिटरनेर बसेर आह्वान गर्दैछन् ।
आउनुस्, बस्नुस्, सञ्चै छ ?
सञ्चै, नमस्कार !
नातिसामु बजै खुम्चेर सोफामा बस्छिन्। बस्दा कतै पनि बिझाउँदैन, जसरी खरदार बाजे बिझाउँछन् । रन्केको हिटरसामु पनि माघको जाडो बिझाउँछ, सँगसँगै संकोच पनि बिझाउँछ । उत्सुक र प्रसन्न नातिको अनुहार मुख हुन्छ ।
अनि भन्नुस् ?
अघि हरिहर साहुले घरमा आएर लोग्नेलाई बेइज्जत नगरेको भए ऊ यहाँ आउने थिइन । घरमै बसेर पनि के गर्नु ? यत्रा यातायातका साधन हुँदाहुँदै कहीँ न कहीँ, कतै न कतै, कसैकहाँ त हात थाप्न जानैपर्थ्यो । तिरौँला भन्ने लोग्ने र स्वास्नीको संयुक्त अठोटले गर्दा ऊ यहाँ पाँचौ पटक पनि आउन सकेकी हो । वरिपरिका अन्य ठाउँहरुमा ‘पटकहरु’ गन्न अहिले सकिराखेकी छैन । यति बेइज्जति प्राप्त भइसकेपछि अब केही दिनका लागि हरिहर साहुतिर निश्चिन्त भए हुन्छ । तर वर्तमान त काखमै छ, फुल्याउनु कि रुवाउनु ? फुल्याउनै र्पयो ।
कति कामले आउनु भएको थियो ?
ए अँ, अलिकति घरायसी किनमेल थियो ‘यहाँसित’..
फेरि बिझायो, सोफा होइन, संकोच । पाँच पटकमा पाँच वटा तगारा । सबै तगाराहरु एकैचोटी फड्किन कति गाह्रो !
ए बुझेँ बुझेँ, कति चाहियो ?
अहिलेलाई गोडा पच्चिसेक भएँ ।
ऊ तगारोतिर अचम्म मानेर हेर्छे, बुरुक्कै फड्किसकिएछ ।
ल लिनुस्, अँ, खरदार बाजेलाई भन्नुहोला यसो सिमन्टी पत्तो लगाइराख्ने भनेर । ग्यारेजमा काम छ ।
हजुरलाई पछिको पनि हिसाप दिनु छ ।
भो–भो दिनुपर्दैन, काम चलाउनुस् । यो त मैले हिजो पप्लुमा जितेको ।
ऊ दातातिर हेर्छे । दाता विधाता झैँ टुलुटुलु ऊतिरै हेर्दै रहेछन् । ऊ झस्केर हातको जिताउरी पट्याउन थाल्छे । ‘दिनुपर्दैन’ ले धेरै कुरा लिन खोजेजस्तो लाग्छ । के–के ? विवरण प्रष्ट छैन । अस्पष्टताले कुनै अन्यौलमा पार्दैन।
बुझेर नबुझ्नुलाई नै व्यवहारिकता भन्दछन् । आदर्श ज्ञान र व्यवहारिक अज्ञानको रेखा कहीँ न कहीँ गएर अवश्य काटिएला र एउटा कुनो (कोण) बनाउला । यी दुवै कहिल्यै समानान्तर हुँदैनन् । एक न एक दिन ज्ञानले अज्ञान भेट्टाउँछ र अज्ञानले ज्ञान । अनि भेट हुने कुनामा पप्लु चल्छ । एउटा हार्छ, अर्को जित्छ ।
ऊ हातको जिताउरी अभ्यासवश चोलोमा हाल्न खोज्छे तर विधाता सामु हुनाले यसो गर्न सक्तिन । स्वास्नीमान्छेले ‘सम्पति’ कि त चोलोमा हाल्नुपर्ने, कि त पेटिकोटमा । के यस्तो चलन होला ? लोग्नेमान्छेका भने जताततै गोजी नै गोजी छन् । यो सोचेर उसलाई झर्को लाग्छ । जिताउरीलाई हत्केलामा जोडसित अँठ्याउँछे । अब समापन भाषण पनि त हुनुर्पयो । ऊ भन्छे ।
यस्तो संकटमा पनि हजुरले यति गुन ।
आ केको गुन ? फेरि पनि र्साहो र्गाहो परे आए हुन्छ नि !
हस् नमस्कार ! अनुहार झन् उज्यालो छ ।
घरमा आउँदा दुवै छोरा पाठ घोक्दै रहेछन् । लोग्ने खुइलिएको जर्किनमा ठुटो खोजेर धुवाउँदै रहेछ । लोग्ने र छोराहरुलाई देखेर उसले विधातालाई बिर्सी र समस्या समाधानको उज्यालो मुखले हाँसी
दियो ?
दियो, पच्चिसवटा। यति नै माग्ने भनेको होइन ?
अँ, लौ काम चलिहाल्यो । आज त माछा पनि पर्ने भएको छ ।
काँ ?
खोलामा हैन अफिसमा क्या । कस्ती लाटी रैछ। बाठो लोग्नेले लाटी स्वास्नीलाई कुरा बुझायो ।
अलि ठूलो माछा पारे पो । कैलेकाहीँ पार्नुहुन्छ । त्यै पनि बुदुना र भोटी ।
असला पर्छ क्या असला । अनि त्यो हरिहरेको मुखमा बुजो ठोकौँला ।
असला कत्रो हुन्छ र ? त्यै हरिहरेको मुखमा पनि नअटाउला । मदिसे रहु पारे पो अलिक दिन ढुक्क होला ।
तेरो खर्दारको मात्रै मुख छ, हैन ? अफिसमा त अरु छँदै छैनन् ? जतो जाल त्यत्रै माछा ।
छोराहरु माछाको प्रसङ्ग सुनेर पाठ बिर्सन्छन् ।
सानो छोरो, कत्रा माछा ल्याउने बा ?
ठूलो छोरो, एफ आई एस एच फिस्, फिस् माने माछा ।
चूप लाग, पढ्नु सढ्नु छैन । पढ् बसेर ।
दुवै एक साथ भन्छन् र बेग्लाबेग्लै झर्किन्छन् । अनि आफ्नो कुराको प्रसंग सम्झेर दुवै फेरि मुखामुख हुन्छन् ।
त्यो आएपछि म एउटा सारी किन्छु ल ? बाहिर निस्कन पनि लाजमर्नु भैसक्यो । ऊ झल्याँस्स विधातालाई सम्झिन पुग्छे ।
अनि सम्झिएरै फेरि भन्छे, उनले यी रुपैयाँ फर्काउनु पर्दैन भनेका छन् ।
आफ्नो थोत्रो जुत्ता सम्झिराखेको ऊ झस्केर सोध्छ, किन ?
कुन्नि ? पप्लुमा जितेका रे, दिनु पर्दैन ।
ऊ घोरिएर स्वास्नीतिर हेर्न थाल्छ । भनिसकेपछि ऊ पनि झस्केर लोग्नेतिर हेर्न थाल्छे । आफ्नो सारी किन्ने हिसाबको तानामाना मिलार्न खोज्दा उसको सुद्धि हराएछ – यसोभन्दा कसो पर्ला भनेर । ऊ देख्छे, लोग्नेको आँखामा परम्परागत पुरुष ठिङ्ग उभिएको रहेछ । ऊ छोराहरुतिर हेरेर सहज हुन खोज्छे ।
हामी माग्ने त होइनौँ ?
घर व्यवहार भएको मान्छे माग्ने हुँदैन । अनि सापटी लिने चलन नौलो पनि होइन । सापटी लिने परम्परामा सकभर सापटी फर्काउने चलन पनि छैन – गाउँघरदेखि अन्तर्रा्ष्ट्रियसम्म ।
अन्तर्रा्ष्ट्रिय जगतमा कसले कसको सापटी फर्काएको छ र ? बरु त्यसको सट्टा केही भित्री कुरा गए जाओस् । भित्री कुरा गएको कसले देख्छ र ? आफूले मात्र बुझिन्छ, जानिन्छ, अनुभव महसूस गरिन्छ । बुद्धि बढेर आउँछ । बुद्धत्वले छुन – छुन आँट्छ । कन्तुरको इज्जत कन्तुरमै रहन्छ । माग्ने त भइँदैन ?
एसएलसी पास गरेर अखबार पढेको बुद्धिले यति तर्क गरेपछि ऊ टोलाइराखेको स्वास्नीतिर फर्केर फेरि सोध्छ, अघिभन्दा किञ्चित् कठोर स्वरमा–हामी माग्ने त होइनौँ ?
स्वास्नी दलिनभित्ता हेर्दैछ । उसलाई थाहा छ, यो लोग्नेमात्र होइन, लोग्नेमान्छे पनि हो। बहस गर्नु व्यर्थ छ । बरु झोला बोकाउनु बेस । अनि बल्ल खाली झोलाको शून्यमा लोग्नेमान्छे हराएर झोला बोकेको लोग्ने चतुर्भुज विष्णु झैँ ठिङ्ग उभिनेछ ।
उनको भन्ने काम, भने । फर्काइदिउँला । ल, यो झोला लेऊ । यी रुपियाँ पनि । दुई किलो चामल, दाल होला, साबुन छैन, तरकारी आफूलाई चुरोट पनि ल्याउनू । कति ठूटो खाएको ? नखानू भन्छन् । टीबी हुन्छ रे ।
झोला हातमा परेपछि उसले पनि परिस्थिति बुझ्यो । तिर्छु भनेपछि मन कत्रो भएर आउँछ ! बुझ्ने होइनन् यिनीहरु । उसले खाली झोलाको झटारोले खाटमा उक्लिँदै गरेको साङ्लोलाई हिर्कायो ।
ए, अँ सिमन्टी खोजिदिनू भन्थेँ ।
मैले काम पाएको छैन र ? सक्तिनँ म त्यो सालाको सिमन्टी लिमन्टी खोज्न ।
किन चिच्याएको ? सुन्लान् क्या, जसको खायो उसैलाई गाली गर्नु त भएन !
बाठो लोग्नेले फेरि कुरा बुझ्यो र चूप लाग्यो ।
चूप लागेपछि गुम्सियो र रन्थनिँदै झोला बोकेर बाहिरियो ।
एफ आई एस एच फिस्, फिस् माने माछा !
आमा ख्वै माछा ?
ऊ सडकमा आएपछि अनुहार छाम्छ, खस्रो लाग्छ । ब्लेड पनि किन्नुपर्ने । ऊ अझै रन्थनिएकै छ । तर सडकमा रन्थनिएर हिँड्नु भएन । किनभने कुनै रन्थनिएको वाहनसित जुध्न पुगिएला ।
एउटा ल्याम्पपोस्टनेर एकछिन उभियो ।
भएन, हुँदै भएन । ठ्याम्मै हिसाब मिलेन । बरु पचास माग्नुपर्ने रहेछ । के थाहा यति सजिलै पाइएला भन्ने । नत्र कसरी आदर्शवादीहरुले भौतिकवादीहरुसित रुपियाँ खुस्काउँछन् कुन्नि ?
थाप्लोमाथि गुलुप रहेछ, राति बल्ने । अहिले त सूर्य बलिराखेको छ–झलमल्ल । प्रकाश आँखासम्म आइपुग्छ, भित्र पस्दैन । त्यहीँबाट रिफ्लेक्ट भएर चारैतिर छरिन्छ र सबै कुरा देखिन्छ । देख्छ, बीस रुपैयाँ घरखर्च–जतिसुकै आओस् र पाँच रुपैयाँ आफ्नो गोजीमा। माछा समात्न अफिस पनि त पुग्नुछ ।
यसरी माछाको निहुँको हिसाबले आफूलाई सन्तुष्ट पारेपछि ऊ ल्याम्पपोस्टको छायाबाट अगाडि लम्कन्छ । यति वैज्ञानिक ढंगले त उसको अफिसको एकाउन्टेन्टले पनि अडिटरलाई सन्तुष्ट पारेको थिएन होला । अडिटर र ऊ सन्तुष्ट हुने एउटै गाँठी त हो गोजीमा पाँच रुपियाँ ।
अनुहार छाम्छ, खस्रै छ । दिक्क लाग्छ । पिउन गोकुलकी स्वास्नी, गाउँबाट आएकी कान्छीलाई फकाउन जाँदा पनि के यही अनुहार लिएर जानु ? छि छि यो त भएन ।
अनि कान्छी पनि गाउँघरका जुँघामुठेहरुको बल्छीबाट फुत्किँदा फुत्किँदा छल्न खप्पिस् भएकी रहिछ । उसको जालमा पर्दैपर्दिन । हरे राम ! गरिपलाई कतै सुख छैन । होस् खस्रै अनुहार ।
बीस रुपैयाँको जे जित आउँछ, किन्यो ।
अब गोजीमा पाँच रुपियाँ छ, यसको आफ्नो निजी सम्पति । यसैबाट अब रोबरवाफ, कर्म कुकर्म, धर्म अधर्म सबै गर्नुछ ।
पाँच रुपैयाँ छ । पुलकित छ ।
ऊ यस लाइनको सबैभन्दा राम्री साहुनीकहाँ पुग्छ चुरोट किन्न । साहुनी, होटेल क्लब पार्टीमा जाने डाँफे मुनाल जस्तो चराचुरुङ्गी त होइन तापनि भँगेरो फिस्टो त हो नै ।
दशओटा गैँडा देऊ त साहुनी मैयाँ ! ऊ अर्थपूर्ण ढंगले मुसुक्क हाँसेर पाँचको नोट दिँदै भन्छ ।
साहुनी ‘मैयाँ’ शब्दले गर्दा झस्केर ऊतिर हेर्छे। ऊ पासो थापेर बसेको शिकारी झैँ चनाखो भएर साहुनितिर हेर्दैछ । साहुनीले उसको आँखा र हँसिलो अनुहारमा के देख्छे कुन्नि, बट्टा खोलेर छिटोछिटो दशवटा गैँडा चुरोट ऊतिर लम्काउँदै कन्तुरमा चानचुन खोज्न थाल्छे ।
ऊ दशवटा चुरोटको साथसाथै पाँचवटा औँला पनि तान्न खोज्छ, हुँदैन । साहुनी ध्यान चानचुन खोज्नतिर लागेकाले यस कुरातिर कुनै वास्ता हुँदैन ।
चानचुन त छैन बाजे, अरु के चाहिन्छ ?
‘बाजे’ले उसलाई झस्काएर ‘नाति’ छेउ र्पुयाउँछ । नाति झैँ मुसुक्क हाँसेर रवाफिलो स्वरमा अर्थपूर्ण दृष्टि दिँदै भन्छ, भैगो, दिनुपर्दैन ।
ऊ निधारमा गाँठो पारेर भन्छे, किन ?
किन ? ऊ अलमलिन्छ । ऊ अलमलमा परिराखेकै बेला साहुनीले पसलभित्रको सानो ढोकाबाट के भन्छे कुन्नि एउटा लोग्नेमान्छे त्यहाँबाट गोजीमा हात हाल्दै बाहिर निस्कन्छ र चानचुन पैसा ऊतिर लम्काउँदै रिसाएको स्वरमा भन्छ, लेऊ ।
ऊ परिस्थिति नबुझेर नाति झैँ कल्पनामा रङ्गमगिँदै उस्तै रवाफिलो स्वरमा घोषणा गरे झैँ भन्छ, भैगो भैगो पर्दैन ।
किन पर्दैन बाज्या ? भनेर उसले चानचुन पैसा भूँइमा छर्दै उसको खुइलिएको जर्किन समातेर मुण्ट्याइदिन्छ ।
पैसाको साथै झोलाका चीजबीजहरु पनि छरिएछन् ।
ऊ ‘नाति’ को प्रभावलाई मनमनै सराप्दै आफ्नो अनुभव बटुल्न थाल्छ ।
के भो ? के भो ?
मुण्टो उचालेर पुलुक्क हेर्दा उसलाई लाग्छ, त्यहाँ साहुनी मैयाँको सट्टा बजै मैयाँ ऊतिर हेरेर मुसुमुसु हाँस्दैछिन् ।
मानिसहरु बटुलिन्छन् । मात्र तमासा हेर्ने ।
(तिम्री स्वास्नी र म कथा संग्रहबाट)














Discussion about this post