झापा : झापामा सवारी दुर्घटनामा परेर एकैदिन दुईजनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार बुधबार दिउँसो १ बजेतिर जिल्लाको गौरादह नगरपालिका र बिर्तामोड नगरपालिकामा सवारी दुर्घटना भएको थियो ।
गौरादह १ गुरुङ चोकस्थित गौरादह–पाडाजुँगी सडक खण्डमा धान बोकेको ट्रकले किचेर शिवसताक्षी नगरपालिका १ की ५३ वर्षीया हिमादेवी दाहालको मृत्यु भएको हो । उ
त्तरबाट दक्षिणतिर जाँदै गरेको प्र.१–०१–०१४ प ३३२६ नम्बरको मोटरसाइकलको पछाडि सवार दाहाल मोटरसाइकलबाट सडकमा लडेकी थिइन् ।
उनलाई सोही दिशातर्फ जाँदै गरेको मे १ ख २६९८ नम्बरको ट्रकले किचेको थियो । दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, बिर्तामोड नगरपालिका ६ बुट्टाबारीस्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिम आउँदै गरेको मे १ ज १९१८ नम्बरको म्याजिक भ्यानले विपरीत दिशाबाट जाँदै गरेको प्र.१–०१–०१३ प ७३२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
म्याजिकको ठक्करबाट मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका ११ का ५४ वर्षीय दिलीप राजवंशी र पछाडी सवार बिर्तामोड ४ का ४९ वर्षीय कृष्ण राजवंशी घाइते भएका थिए ।
गम्भीर घाइते चालक राजवंशी दिलीपको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















Discussion about this post