पाँचथर : प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कारागारमा रहेका कैदीबन्दीको मानवअधिकार रक्षा हुनुपर्नेमा जोड दिएका छन् ।
आज (सोमबार) मन्त्रालयले पाँचथर कारागारमा आयोजना गरेको कारागारभित्र मानवअधिकार प्रवर्द्धन तथा कानूनी सचेतना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कारागारमा रहेका कैदीहरूले अनुशासन वहन गरेकोमा उनले खुसी व्यक्त गरे । उनले भने, यहाँ घरघरमा श्रीमान–श्रीमतीको झगडा हुन्छ, तर यहाँ तपाईँहरू मिलेर बस्नुभएको छ ।
उनले यहाँ बस्दा होस्टेल बसाइका रूपमा लिन आग्रह गरे । कारागारका भौतिक संरचना निर्माणमा सरकारले आवश्यक सहयोग गर्ने बताउँदै उनले कैदीबन्दीलाई कानूनी परामर्श लिन समस्या भइरहेकोले निःशुल्क कानूनी परामर्श सेवा उपलब्ध गराउने उल्लेख गरे ।
मन्त्री कार्कीले जिल्लामा रहेका सुरक्षा निकायका प्रतिनिधिसँग जिल्लाको सुरक्षा स्थितिका बारेमा जानकारी लिएका छन् । तीनै सुरक्षा निकायका प्रतिनिधिसँग भएको छलफलमा सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्न उनले निर्देशन दिए ।
यस्तै, पाँचथरको विकासका लागि प्रदेश सरकार लागि परेको उनको भनाइ छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा उनले जिल्लामा कांग्रेसको पकड बलियो बनाउँदै निर्वाचनमा विजयी गराउर्नुपर्नेमा जोड दिए ।
मन्त्री कार्कीले जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य कार्यालयलाई अक्सिजन कन्ट्रन्सेसर प्रदान समेत गरे ।














Discussion about this post