तरहरा : इटहरी उपमहानगरपालिका २० तरहरामा सुनसहित नगद चोरी भएको छ । यहाँको पुष्पलाल टोलस्थित स्थानीय कुमारी चौधरीको घरमा चोरी भएको हो ।
पीडितका अनुसार आफू बिहीबार घरमा ताल्चा लगाएर आफन्तकहाँ गएको मौका छोपेर चोरी भएको हो ।
आफू बिहीबार घरको गेटसहित कोठामा ताल्चा लगाएर आफन्तकहाँ गएको र शुक्रबार साँझ ५ बजेतिर मात्रै घरमा आउँदा चोरी भएको थाहा पाएको उनले बताइन् ।
उनका अनुसार घरको गेटको ताल्चा काटेर कोठाको दराजमा भएको दुईतोला सुन, मंगलशुत्र, नौगेडी, झुम्का, चाँदी तथा नगद ७० हजार रुपैँया चोरी भएको हो । रातिको घटना भएका कारण स्थानीयले पनि थाहा नभएको बताएका छन् ।
तरहरा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक (सई) मनोज अधिकारीसहितको टोली शुक्रबार साँझ घटनास्थलमा पुगेपनि घटनामा संलग्नबारे पत्तो लागेको छैन ।

स्थानीयका अनुसार तरहरामा पछिल्लो समय चोरीका घटना बढेपनि प्रहरी मुकदर्शक बनेको आरोप लागेको छ ।
‘प्रहरीले रातको समयमा गस्ती नगर्ने र चोरीमा संलग्नलाई पक्राउ नगरेका कारण पनि चोरी तथा आपराधिक गतिविधिका घटना बढेका छन्,’ एक स्थानीयले भने, ‘एक महिनाअघि मात्रै तरहराका विभिन्न क्षेत्रबाट मोटरसाइकल, खसी तथा घरै फोडेर सुन पनि चोरी भएको अवस्था छ, अहिलेसम्म एकजना पनि पक्राउ परेका छैनन् ।’
स्थानीयका अनुसार तरहरामा पटकपटक चोरीका घटना भएपनि यहाँको प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न निरुत्साहित बनेको छ ।
एकैठाउँमा पटकपटक चोरीका घटना हुनुमा स्थानीयकै केही व्यक्तिकै संलग्नता रहेको हुनसक्ने आशंका गरिएपनि प्रहरीले खोजी तथा अनुसन्धानमा खासै चासो नदेखाएको स्थानीयको आरोप छ ।
प्रहरी सहरकेन्द्रित मात्रै भएका कारण गाउँघरमा चोरीका घटना बढेको स्थानीयको भनाई छ ।














Discussion about this post