इटहरी : इटहरी उपमहानगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उमेद्वार हेमकर्ण पौडेलले मनोनय दर्ता गर्दा मेयरका आकांक्षीद्वय भीम पौडेलले प्रस्तावक गरेका छन् भने रोहित प्रसाईँले समर्थन गरेका छन् ।
कांग्रेसबाट मेयर पदमा टिकट पाएका पौडेलले सोमबार निर्वाचन अधिकृतको कार्यालय इटहरीमा मनोनय गर्दा भीम पौडेलले प्रस्तावक गरेका हुन् भने रोहित प्रसाईँले समर्थन जनाएका हुन् ।
इटहरी ४ का पौडेल र इटहरी ६ का प्रसाईँले उनलाई मेयरमा प्रस्तावक र समर्थन गरेका हुन् । पौडेल र प्रसाईँ पनि मेयरका आकांक्षी थिए ।
तर, सोमबार बिहानभर केन्द्रीय नेताहरूको उपस्थितिमा विराटनगरमा भएको छलफलबाट मेयरका हेमकर्णलाई टिकट दिने निर्णय गरेको थियो ।
तीनैजना आकांक्षीसहित दर्जनौ कार्यकर्ताले विराटनगरबाटै एकैसाथ भएर इटहरी आएका थिए । उनीहरूले मेयरमा प्रस्तावक र समर्थन जनाएपछि इटहरीमा कांग्रेस एकै छ भन्ने सन्देश दिएको अधिकांश कार्यकताहरूको बुझाई छ ।
यसअघि पनि धेरैजसो मञ्चहरूमा उनीहरूले आफूहरु एकै रहेको बताउँदै आएका थिए ।
२०५४ सालमा जनता क्याम्पसको स्ववियु सभापति हुँदै राजनीतिक यात्रालाई निरन्तरता दिएका पौडेलको अहिले कांग्रेस इटहरी नगरसभापति भएको तेस्रो कार्यकाल हो ।
आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा इटहरीमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला ईन्चार्ज केशवकुमार विष्टले उपमेयरमा उमेद्वारी दर्ता गरेका छन् ।














Discussion about this post