मोरङ : नेपालसग सिमा जोडिएको नाका भारतको जोगवनीबाट आटा मैदाको बोराभित्र राखेर नेपालतिर लागूऔषधको ओसारपसार भइरहेको पाइएको छ। आटाको बोराभित्र राखेर ल्याउँदै गरेको लागूऔषध सशस्त्र प्रहरीले विराटनगरबाट बरामद गरेको छ।
बोराको आटाभित्र लुकाएर साइकलमा ल्याउँदै गरेको लागूऔषध नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१६ दरैयाबाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिएका छन्।
उनका अनुसार सशस्त्र प्रहरी बल बीओपी बोर्डर आउट पोस्ट दरैयाबाट खटिएको टोलीले भारतको जोगवनीबाट नेपालतिर आटाको बोरा राखेर ल्याइँदै गरेको साइकल शुक्रबार दिउँसो नियन्त्रणमा लिएको थियो।
खानतलासी गर्दा बोराभित्र आटा र आटाभित्र लागूऔषध लुकाएर ल्याएको पाइएको एसपी लामिछानेले बताएका छन्।
सशस्त्र प्रहरीले रोक्नासाथ लागूऔषध ओसारपसारमा संलग्न रहेका व्यक्ति भने साइकल र बोरा छाडेर भारततिर नै फरार बनेको उनको भनाइ छ। फरार भएका व्यक्तिको खोजी तीव्र पारिएको उनले बताएका छन्।
एसपी लामिछानेका अनुसार आटाको बोराभित्रबाट लागूऔषध नाइट्राभेट ६ सय ट्याब्लेट, स्पास्मोप्रोक्सिभन ५ सय २८ ट्याब्लेट र डाइलेक्स डीसी ५९ बोतल बरामद गरिएको छ। बरामद गरिएको लागूऔषध र नियन्त्रणमा लिएको साइकल आवश्यक कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको उनले बताएका छन्।
निर्वाचनमा बढेको सुरक्षा व्यवस्थाका कारण सीमा क्षेत्रबाट हुनसक्ने सबै खालका अवैध गतिविधि र अवैध धन्दा नियन्त्रणमा लिन निगरानी बढाइएको प्रहरीले जनाएको छ













Discussion about this post