इटहरी : इटहरीमा कुटपिट गरी २० वर्षीय युवकको हत्या भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार घटनामा संलग्न तीनजनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।
प्रहरीका अनुसार जेठ ५ गते राति इटहरी ४ स्थित सडक मानव सुमन तामाङलाई कुटपिट गरी हत्या गरेको आरोपमा तीनजनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा इटहरी ४ बस्ने १९ वर्षीय अनिष मगर, सोही ठाउँ बस्ने २० वर्षीय सुशील राई र मोरङको सुन्दरहरैँचा ४ वस्ने २५ वर्षीय बबी चौधरी रहेका छन् ।
इटहरीको बूढीगंगा जमुना मुक्तिघाटमा उनलाई कुटपिट गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार कुटपिटबाट गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा कोशी अञ्चल अस्पतालमा मृत्यु भएको हो ।
पक्राउ परेकाहरूमाथि आज (मंगलबार) सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत कर्तव्य ज्यान मुद्दामा पाँचदिनको म्याद थप गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।














Discussion about this post