इटहरी (डेस्क) : अनलाइन जुवा खेलाएको आरोपमा झापाको दमकबाट प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
नेपालमा प्रतिबन्धित ‘वान बेट एप्लिकेसन’मार्फत् खेल खेलेको र खेलाएको आरोपमा दमकबाट चारजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा दमक ८ मा रहेको पद्मा इन्टरनेसनल कन्सल्टेन्सीका सञ्चालक २५ वर्षीय सतप्रकाश साह, दमक नगरपालिका ७ का २७ वर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेसन एन्ड फोटो स्टुडियोका सञ्चालक कमल गाउँपालिका २ का ३० वर्षीय अरुण कार्की र ब्रिटिस आर्मी ट्रेनिङका सञ्चालक दमक ८ का ३३ वर्षीय राजु लिम्बू रहेका छन् ।
गोप्य सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको आरआइटी समूहबाट खटिएको प्रहरी टोली, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई दमकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई आज (सोमबार) पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो ।
पक्राउ परेको यो समूहले दमक नगरपालिका तथा आसपासका क्षेत्रमा अनाधिकृत रूपमा अनलाइन गेमिङ खेलाउन व्यक्तिहरूको नागरिकताबाट एनसेलको सिम झिकेर सोही सिमबाट सट्टाबाजीको लागि आवश्यक पर्ने रकम प्राप्त गर्न सोही सिमबाट इसेवा आइडी खोलेर चलाउने गरेका थिए ।
पक्राउ परेकाहरूको साथबाट प्रयोग भएका दुई सय ७९ र प्रयोग नभएका ४५ थान एनसेलको सिम, १९ वटा मोबाइल, ल्यापटपलगायत सामग्री प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post