इटहरी : इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा सुनसरी प्रहरीले उद्वार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी राजकुमार राईका अनुसार शुक्रबार साँझ कोशी गाउँपालिका ८ स्थित सप्तकोसी नदीको पुलबाट हाम्फाल्न लाग्दा महिलाको उद्वार गरिएको हो ।
इटहरी २ की ३४ वर्षीया ती महिलाले उनकै १२ र ९ वर्षीया छोरी साथै ७ वर्षीय छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीले उद्वार गरेको डीएसपी राईले जानकारी दिए ।
कोसीमा हाम्फाल्न लागेको भन्ने स्थानीयको सूचना पाएलगत्तै कोशीब्यारेजबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सकुशल उद्वार गरेको हो ।
ती महिलाका श्रीमान करीब ५ वर्षसम्म वैदेशिक रोजगारीमा रहेको र एक महिना अघि मात्रै घर आएर आर्थिक विषयमा मानसिक तनाव दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘आर्थिक लेनदेनको विषयमा बारम्बार मानसिक रूपमा परिवारलाई तनाव दिने र कुटपिट समेत गर्ने गरेकाले असह्य भएपछि ती महिलाले छोराछोरीसहित आत्महत्या गर्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डीएसपी राईले भने, ‘हामीले उनका श्रीमानलाई बोलाएर सम्झाईबुझाई छोराछोरीसहित जिम्मा लगाएका छौँ ।’














Discussion about this post