इटहरी : इटहरीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका वडा नं. १३ बस्ने २९ वर्षीय मदन सरदार र मोरङको सुन्दरहरैँचा नगरपालिका ४ बस्ने ३६ वर्षीया सुनिता सरदार रहेकी छन् ।
पीडितको उजुरी अनुसार ‘मदन सरदार, मोहम्मद रियाज आलम हुसैन र सुनिता सरदार आएर सप्तरीको मन्दिरमा पूजा गर्नका लागि ५।५ फिट उचाई भएकी अविवाहित केटी चाहिएको तथा पूजारीले घुम्टो ओढाएर मन्दिरभित्र लगेपछि दुवै हात अञ्जुली बनाएर थापे ५ अर्ब रुपैयाँ र ५ तोला सुन प्राप्त हुन्छ भन्दै लोभलालच देखाएको’ उल्लेख छ ।
भदौ १५ गते पुनः मदनले फोन गरेर इटहरीको पूर्वाञ्चल क्याफेमा बोलाई पीडितको शरीरको उचाई, हातखुट्टाको नापजाँच गरेको उजुरीमा उल्लेख गरिएको डीएसपी खड्काले बताए ।
पीडित युवतीको उचाईको नाप लिइ, हातखुट्टाको फोटो खिचेर अन्यत्र पठाएको र त्यसपश्चात आफूजस्तै देखिने अन्य साथीहरू खोज्न समेत भनिएको खुलेको छ । उनीहरूमाथि शंका लागेर प्रहरीमा भदौ १६ गते उजुरी गरिएको थियो ।
सोही उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । अन्य फरारको पनि खोजी कार्य भइरहेको छ ।
पक्राउ परेका दुवैमाथि जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको इटहरी प्रहरीले जनाएको छ ।














Discussion about this post