इटहरी : इटहरीको मुख्य चौरस्ता गोलो चौकमा पुग्ने बित्तिकै सबैको ध्यान त्यहाँ बनेको नयाँ आकृतिमा जान्छ । ट्राफिक लाइटमा रोकिएका हर कोही व्यक्तिको आँखा त्यही आकृतिमा नै पुग्छ ।
यी चार जना मानिस को हुन् ? यिनीहरूले के बोकेका हुन् ? आम मानिसको मनमा प्रश्न उब्जन्छ । यहाँको प्रश्न र कौतुहलता मेट्न हामीले यसको उत्तर खोज्ने प्रयास गरेका छौँ ।
इटहरीको पहिचान
मुख्य गोलो चौकमा चार सुरमा उभिएका हिमाल, पहाड र तराईमा बसोबास गर्ने मानिस हुन् ।
हिमालमा बस्ने शेर्पा अथवा समग्र मंगोल जाति । पहाडमा बस्ने आर्यन समुदाय । तराईमा बस्ने आदिवासी र मधेशी समुदाय । र, इटहरीका प्रथम नागरिक थारु समुदायको प्रतिनिधिमुलक रूपमा चारजना मानिसलाई बिम्बका रूपमा देखाइएको हो ।
यी मानिसहरूले बोकेको आकृति ‘तुरुङ’ हो । जसलाई थारु भाषामा इट–हरी भनिन्छ । उहिल्यै यहाँका दरोगा नरसिंह चौधरीले अपराधीलाई सजाय दिन यस्तो ‘तुरुङ’ बनाएका थिए ।
तल्लो पट्टी इटाले बनाइएको, बीचमा प्वाल राखेर मासथ काठले बनाइएको ‘तुरुङ’ अर्थात् हरी सजाय दिने उपकरण हो । जसलाई थारुहरूले आफ्नो भाषामा इट र हरी भन्थे । पछि यहि इट र हरी बोलीचालीमा इटहरी भएको हो ।
हिमाल पहाड र तराईमा बसेका मानिसहरूले इट र हरी बोकेका हुन् । अर्थात इटहरी बोकेका हुन् । समग्रमा यो आकृतिले इटहरीको पहिचान देखाउन र बुझाउन खोजेको हो ।
‘यो आकृतिले इटहरीको नामकरण, पहिचान, भूगोल, बसोबास र पुरातात्विक कुरा दर्शाउन खोजेको छ । यसको मुख्य ‘उदेश्य’ पनि यहि हो,’ कलाकृतिको कन्सेप्ट तथा डिजाइन तयार गरेका कलाकार अभिषेक तिम्सिनाले भने ।
कलाकार अभिषेककै नेतृत्वको ८ जना कलाकारको टिमले यो कलाकृति निर्माण गरिएको हो । फाईबर ग्लासले बनेका यी कलाकृति कम्तीमा ७० बर्ष टिकाउ हुने उनी बताउँछन् ।
माथिको आकृतिलाई सौन्दर्यीकरण गर्न तल गोलो वरिपरी हाँसका गमला बनाइएका छन् । त्यसमा सुन्दर फूलहरूको गार्डेन निर्माण गरिनेछ । हाँस तराईमा हुने पंक्षी हो । त्यसैले हाँसको गमला बनाएर पनि सन्देश दिन खोजिएको कलाकार तिम्सिनाले सुनाए ।
‘वरीपरी ८ वटा नोजल जडान गरिएका छन् । जहाँबाट पानीको फोहोराले थप सुन्दरता थप्नेछ,’ उनले भने, ‘चार सुरका खम्बामा लाईट जडान गरिएको छ । जहाँबाट रातको समयमा विभिन्न रंगका लाईटले उभिएका कलाकृतिलाई थप रंगिन, आकर्षक र कलात्मक देखाउँछ ।’
अहिले मानिसहरुको ध्यान मुख्य रुपमा ‘तरुङ’मा गएको छ । माथिबाट हेर्दा यो जिजसलाई झुण्ड्याएको क्रुस जस्तो देखियो भन्न थालेका छन् । माथि अग्लो ठाउँबाट हेर्दा लामो, अलि भद्दा र क्रुस जस्तो देखिँदा यसको वास्तविक अर्थ गौण भएर अर्कै अर्थ बुझ्न थालेको कतिपयको आरोप छ ।
आरोपहरू सुनिरहेका कलाकार अभिषेक त्यस्तो नभएको बताउँछन् । यहाँ केही भ्रम पर्न र पार्न खोजिएको छ । उनले यसको अर्थ बुझाए । यहाँ मुख्य ३ कुरा बुझ्नुपर्छ । क्रुस, प्लस र क्रस । क्रुसको आकार प्लस भन्दा माथिबाट काटिएको हुन्छ । सेन्टर भन्दा माथि ।
प्लस जो रेडक्रसले प्रयोग गर्छ, यसको सेन्टरबाट काटिएको हुन्छ । र अर्को रह्यो क्रस अर्थात् एक अर्कामा काटिएका हुन्छन् । अभिषेकले स्पष्ट पार्दै भने, ‘यो आकृति प्लसमा छ । क्रुस हुनै सक्दैन । क्रुस हुन सेन्टर भन्दामाथि काटिनुपर्छ, यो प्लसमा छ ।’
‘केही लामो जस्तो देखिदाँ मानिसलाई त्यस्तो भ्रम पर्न गएको हो । अर्कोतर्फ यहाँ ‘तुरुङ’को प्वाल धेरै देखिएर पनि त्यस्तो पर्न गएको हुनसक्छ,’ उनले भने, ‘यसलाई प्राविधिक रूपमा मिलाउने काम गर्दैछौँ र कलर पनि चेन्ज गर्दै छौँ ।’
वीरेन्द्रको सालिक भनेर इट–हरी ?
केही समय अघिसम्म यहाँ स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्ने चर्चा थियो । वीरेन्द्र कै सालिक राख्ने मेयर हेमकर्ण पौडेल स्वयम्ले बताएका थिए । तर, अहिले वीरेन्द्रको सालिक नभइ इट–हरी बन्यो ।
कसरी यस्तो भयो ?
अभिषेकले मुस्कुराउँदै भने, ‘खास कुरा भनौ है सुरुमा यहाँ वीरेन्द्रकै सालिक राख्न हामीलाई भनिएको थियो । हामी तयारी पनि गरिरहेका थियौँ । राजाको सालिक राख्ने भनेपछि राजावादी हौसिए । सालिक ढाल्नेहरू तर्सिए । सालिक राख्ने पनि यहीँ छन् । सालिक ढाल्नेहरू पनि यहीँ छन् ।’
वीरेन्द्रको सालिक राख्ने कुराले ढाल्नेहरूलाई चोट पुगेको र त्यसले नयाँ मोड लिने संकेत देखिएपछि मेयर पौडेलले विकल्पको खोजी गरेको उनले सुनाए । उनका अनुसार विकल्प खोज्दा इटहरीकै पहिचान राखाँैँ भन्ने सहमति भयो । सोही अनुसार अहिलेको कलाकृति बनेको हो ।
वीरेन्द्र चौक अब इटहरी चौक
वीरेन्द्र चौक भन्दै आएका इटहरीबासीले अब मुख्य गोलो चौकलाई इटहरी चौक भन्नेछन् । वीरेन्द्र चौक भन्न थालिएको पनि धेरै भएको छैन । वीरेन्द्रको पूर्ण कदको सालिक राखेपछि नै यो चौकको नामकरण भएको हो वीरेन्द्र चौक ।
इटहरीका राजावादीे नेता रामकुमार सुब्बाको अगुवाईमा वीरेन्द्रको सालिक स्थापना भएको थियो । वीरेन्द्रको सालिक तत्कालिन रानी ऐश्वर्यले उद्घाटन गरेकी थिइन् । तर वि.स. २०६२/०६३ सालको दोस्रो जनआन्दोलनमा सालिक ढालियो ।
हुन त वीरेन्द्रको सालिक अघि यहाँ कुनै चौक थिएन । घरहरू थिएनन् । अहिले चौक भएको स्थानदेखि उत्तरतर्फ महेश्वर सुब्बाको काठको ठूलो घर थियो । बस्ती बढ्दै गएपछि यहाँ चौक बनेको हो । नामबिहीन भएको समयमा वीरेन्द्रको सालिक राखेसँगै चौकको नामकरण भएको थियो ।
अब वीरन्द्र चौक अब इट–हरी अर्थात इटहरी चौक बनेको हो ।














Discussion about this post