इटहरी : इटहरी १ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले ६७ औँ वार्षिकोत्सव मनाएको छ ।
विविध कार्यक्रमको आयोजना गर्दै विद्यालयले मंगलबार स्थापना दिवसको अवसर पारेर ६७ औँ वार्षिकोत्सव मनाएको हो । सामुदायिक विद्यालयमा गुणस्तरीय पठनपाठन हुँदैन भन्ने बुझाईलाई चिर्दै विद्यालयले प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।
विद्यालयका प्रधानाध्यापक शरण बस्नेतका अनुसार एसईईको नतिजालाई आधार मान्दा पनि उक्त विद्यालय उत्कृष्ट रहँदै आएको छ ।
उनका अनुसार विद्यालयमा अहिले एक हजार ९ सय ४१ विद्यार्थी छन् । अभिभावकको रोजाइमा विद्यालय परेकाले पनि सकारात्मक नतिजा निकाल्न आँफूहरू सफल भएको उनले बताए ।
उनले भने, ‘अभिभावकको बुझाइमा यो विद्यालयको पढाइ राम्रो छ । एसईईमा राम्रो नतिजा ल्याउँछ । यहाँबाट एसईई गरेपछि अन्यत्र अध्ययन गर्दा पनि शान हुन्छ भन्ने मान्यता स्थापित हुन थालेको छ ।’
कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुने गरेको र कक्षा ११ र १२ मा पनि अङ्ग्रेजी माध्यममा पढाइ हुने गरेको बस्नेतले बताए ।
कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले उपमहानगरभित्र रहेका सामुदायिक विद्यालयको स्तरोन्नतिका निम्ति आँफू सकारात्मक रहेको बताए ।
इटहरी उपमहानगरले सामुदायिक विद्यालयको सेवा सुविधा र गुणस्तर वृद्दि गर्नका निम्ति बजेट विनियोजन गरीएको उनको भनाइ छ ।
कार्यक्रममा इटहरी १ का वडाध्यक्ष रतन कार्की (कैलाश), इटहरी उपमहानगरका खेलकुद तथा शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदी लगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थीहरू, अक्षय कोष स्थापना गर्ने विभिन्न व्यक्तिहरू, तथा उत्कृष्ट शिक्षक, विद्यार्थी तथा अभिभावकरूलाई सम्मान गरिएको थियो ।












Discussion about this post