तरहरा : तरहरा जेसीजले भाषणकला तालिमको आयोजना गरेको छ । शुक्रबार साँझ तरहरा जेसीजको सचिवालयमा भाषणकला तालिमको आयोजना गरिएको हो ।
तरहरा शाखाका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष रामकुमार गिरीले भाषणकला तालिममा सहजीकरण गरे ।
बोल्दा ध्यान पु¥याउनुपर्ने कुरा र आम मानिसले वक्ताबाट के चाहेको छ भन्ने कुरा थाहा पाउनुपर्ने महत्वपूर्ण हुने उनले बताए ।
‘हामीले हरेक कार्यक्रम वा कुनै ठाउँमा के गर्छौँ, के बोल्छौँ त्यो महत्वपूर्ण हुँदैन,’ उनले भने, ‘कसरी गर्छौँ महत्वपूर्ण हो, अबदेखि हामी कसरी प्रस्तुत हुने भन्ने कुरा सिक्न आवश्यक छ ।’
अघिल्लो वर्ष जेसीजमा प्रवेश गरेका सदस्यहरूलाई लक्षित गरी उक्त तालिमको आयोजना गरिएको तरहरा जेसीज वर्ष २०२३ का अध्यक्ष बहादुर तामाङले बताए । उनका अनुसार भाषणकला तालिमले जेसीज सदस्यको बोल्ने क्षमता अभिवृद्वि हुनेछ ।
उनले भने, ‘हामीले एक महिनामा एक तालिमको आयोजना लक्ष्य लिएका छौँ, यसअघि बोर्ड पदाधिकारीलाई तालिम प्रदान गरिएको छ ।’
यस वर्ष तरहरा शाखाले विभिन्न तालिममार्फत जेसीज सदस्यलाई दक्ष र अब्बल बनाउने उदेश्य राखिएको तालिम निर्देशक तथा कार्यकारिणी उपाध्यक्ष विवेक विवश रेग्मीले बताए ।
यही चैत २५ गते ‘पार्लमेन्ट्री प्रोस्युडर’ विषयक तालिमको पनि आयोजना गरिने उनको भनाइ छ । ‘हामीले यस वर्ष विभिन्न तालिमको आयोजना गर्ने लक्ष्य लिएका छौँ,’ उनले भने, ‘सोही लक्ष्यअनुसार यो तालिमको आयोजना गरिएको हो ।’
उपाध्यक्ष मदन बस्नेतको संयोजकत्वमा भएको तालिलमा सक्रिय सहभागिता जनाएका सत्य योञ्जन तामाङ र सम्झना पुरीले उक्त तालिमबाट आँफूहरूले बोल्नेसँगै कहाँ, कसरी प्रस्तुत हुने कुरामा सहज भएको बताएका थिए ।
औपचारिक कार्यक्रम महासचिव चेवन खतिवडाले सञ्चालन गरेसँगै तालिम सुरु भएको थियो ।














Discussion about this post