झापा : भारतबाट दिनहुँजसो आउने जंगली हात्तीको हुल रोक्न झापाको मेचीनगरमा सरकारी अधिकारीहरूसहित स्थानीयहरूले गस्ती गर्न थालेका छन् । ठूलो हुलमा आउने जंगली हात्ती रोक्न मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा संयुक्त गस्ती गर्न थालिएको छ ।
डिभिजन वन कार्यालयका कार्मचारी, सशस्त्र प्रहरी र स्थानीयवासीले हात्तीलाई गाउँ पस्न नदिन संयुक्त गस्ती सुरु गरेको वडा नं ४ का अध्यक्ष अर्जुन कार्कीले जानकारी दिए ।
दैनिक भारततर्फबाट बाहुनडाँगीका विभिन्न गौँडा प्रयोग गरेर नेपाल प्रवेश गर्ने हात्तीले पाकेको मकै, सुपारी र बाँस क्षति पुर्याउने गरेको कार्कीले बताए ।
कार्कीका अनुसार बाहुनडाँगीमा विद्युतीय घेरबार समेत तोडेर हात्ती गाउँ पस्ने गरेका छन् । ‘घेरबार मर्मत गरिरहेका छौँ । तर हात्तीले भत्काएर बस्ती पस्ने गरेका छन् । रोक्नका लागि गस्ती गरिरहेका छौं,’ उनले भने ।
विद्युतीय घेरबार भएको सबै क्षेत्रमा बाटो नहुँदा गस्ती गर्न समस्या भएको कार्कीले बताए । प्रकृति संरक्षण कोषले बाहुनडाँगीमा हात्ती द्वन्द्व व्यवस्थापन गर्ने उद्देश्यले २०७२ सालमा तिरिङदेखि नकलबन्दासम्मको १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारवार निर्माण गरेको छ ।
हाल सोही तारबार मेचीनगर नगरपालिकाको रु १८ लाख र डिभिजन वन कार्यालयको रु पाँच लाखको लागतमा मर्मत भइरहेको छ । डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले दैनिक साँझपरेपछि साइरनसहितको गाडी बाहुनडाँगी क्षेत्रमा हात्ती धपाउन पठाउने गरेको बताए ।
राइले भने, ‘जिल्लाका अन्य क्षेत्रमा भन्दा बाहुनडाँगीमा हात्तीले दुःख दिने गरेका छन् । स्थानीयवासी र प्रहरीसँगको साझेदारीमा गस्ती गरिरहेका छौं ।’ गस्ती टोलीले भारतबाट आउने हात्तीलाई उतै फर्काउने गरेको राईले बताए ।














Discussion about this post