इटहरी : सिमसिम झरी परिरहेको छ । अरुबेला हातमा स्कूल ब्गाग, ब्यागभित्र किताब र कापी बोकेर स्कूल धाउने स–साना बालबालिकाहरू आज भने फरक दृश्यमा देखिए । कोही हातमा धानको बीउ बोकेर त कोही पूजा गर्नका निम्ति हातमा थाली बोकेका छन् ।
शुक्रबार (आज) इटहरी १९ मा रहेको फुजीसान सगरमाथा बोर्डिङ स्कूलमा अध्ययनरत विद्यार्थीहरूले धान दिवसको अवसर पारेर रोपाईँ गरेका छन् । प्रयोगात्मक सिकाईलाई प्राथमिकतामा राख्दै विद्यार्थीहरूलाई धान रोपाईँमा जोडिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद चौलागाईँले प्रयोगात्मक कक्षालाई प्राथमिकतामा राखेर धान रोप्ने कार्यक्रम आयोजना गरिएको बताए ।
‘धेरैजसो विद्यार्थीका बाबुआमा कृषि पेसामै हुनुहुन्छ । कतिपय विद्यार्थीहरूले आफ्ना बुबाआमाले कृषि पढ्नुपर्छ भनेर भन्नुहुन्छ भन्ने कुरा हामीलाई सुनाउनुहुन्छ,’ उनले भने, ‘विद्यार्थीहरूले कृषि पेसामा चासो राख्दा खुशी लाग्छ । हामीले सिकाइसँग सम्बन्धित रहेर काम गरिरहेका छौँ ।’
स्टीम विषयमा आधारित रहेर विज्ञान, प्रविधि, इञ्जिनियरिङ, गणित, भाषा, कला, संंस्कृति र संस्कारलाई आत्मसाथ गर्दै प्रयोगात्मक विधिबाट सिकाइएको उनले बताए ।
उनका अनुसार विद्यालयले अघिल्लो वर्षपनि राष्ट्रिय धान दिवस मनाएको थियो । उनका अनुसार व्यवहारिक जीवनमा प्रयोग हुने सिकाईलाई विद्यालयले प्राथमिकतामा राखेर अध्यापन गराउँदै आएको छ ।
‘आधुनिक खेती गर्न सानै उमेरदेखि नै जानकारी हुनुपर्छ भन्नका लागि हामीले यो किसिमको कार्यक्रम आयोजना गरेका हौँ,’ प्रधानाध्यापक चौलागाईँले भने ।
विद्यालयका प्रबन्ध निर्देशक राकेश श्रेष्ठले विद्यार्थीहरूले नै बीउ राखेको र धान रोपाईँदेखि गोडमेल गर्दै यसको अन्तिम रुप दिने बताए ।
‘हामीले अघिल्लो वर्ष पनि यो किसिमको कार्यक्रम आयोजना गरेका थियौँ,’ उनले भने, ‘यस वर्षपनि विद्यार्थीहरू आफैँले बीउ राख्नेदेखि धान रोप्नेसम्म गरेका छन् ।’
धान रोपाईँको पहिला चरणदेखि अन्तिम रुपसम्म पनि विद्यार्थी स्वयम्ले सक्रिय सहभागी हुन्छन् ।
विद्यार्थी जीवनदेखि नै सिक्दा भविष्यमा व्यवहारिक रूपमा सिकाई हुने भएकाले उक्त कार्यक्रम वर्षेनी गरिएको उनले बताए । उनका अनुसार विद्यालयकै तीन कठ्ठा जमिनमा चरणवद्व तरिकाबाट रोपाईँ हुँदै आएको छ ।
रोपाईँअघि पण्डित पढाएर, पञ्चकन्या अघि लगाएर बीउ वितरण गरियो । बीउ वितरणपछि झरीमै पनि विद्यार्थीहरूले रोपाईँमा सक्रिय हुँदा विद्यालयका शिक्षक, शिक्षिकाहरूले साथ दिएका थिए । विद्यालयले प्रयोगात्मक सिकाईलाई जोड दिदाँ अभिभावकहरूले खुशी व्यक्त गरेका छन् ।

















Discussion about this post