खोटाङ : खोटाङको रावाबेँसी गाउँपालिकाले राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ ।
पुर्खौली पेसा राडीपाखी व्यवसाय गर्दै आएका महिलाको व्यावसायिक विकासमा सघाउ पु¥याउने उद्देश्यका साथ गाउँपालिकाले आवश्यक सामग्री तयार गरेर उपलब्ध गराएको हो ।
गाउँपालिकाबाट गत आर्थिक वर्ष विनियोजित पाँच लाख बजेटमा एक सय ७० थान कोरेसो र ५० थान चर्खा निर्माण गरेर वितरण गरिएको गाउँपालिका उपप्रमुख कौशिला गुरुङले जानकारी दिइन् ।
पहिलो चरणमा हौंचुरको पोखरी र चाँपखर्क, कुभिन्डेको गोपिनी तथा डुम्रोधारापानी र दुवेकोलका राडीपाखी व्यवसायी महिलालाई चर्खा र कोरेसो वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
भेडाको उनबाट राडी, जमट, चकटी, अस्कोट, लुकुनी, घुमराडी, दोचालगायतका सामान बुन्ने क्रममा सामग्रीको अभाव झेलिरहेका महिलालाई लक्षित गर्दै चर्खा र कोरेसो वितरण गरिएको उपप्रमुख गुरुङले बताइन् ।
“धागो कात्ने सामग्री (चर्खा) बनाउने सीपको अभावले कतिपय महिला पेसा नै छाड्नुपर्ने अवस्थामा पुगेका थिए । कोरेसो प्रत्येक व्यवसायीलाई र चर्खा दुई तीन जनाले चलाउन पाउनेगरी वितरण गरिएको छ”, उनले भनिन्, “राडीपाखीसम्बन्धी काम गर्ने राई, भुजेल, मगर समुदायका महिलालाई पनि क्रमशः चर्खा र कोरेसो उपलब्ध गराउने कार्यक्रम बनाइएको छ । यसले उनीहरुको जीविकोपार्जनमा थोरै भए पनि सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।”













Discussion about this post