विराटनगर : कोशी प्रदेशका २७ स्थानीय तहमा राष्ट्रिय भवन निर्माण संहिता कडाइका साथ लागू गरिने भएको छ ।
सुरक्षित आवास निर्माण र भूकम्पीय जोखिम न्यूनीकरणका लागि प्रदेश सरकार र सम्बन्धित पालिकाबीच समझदारी भएपछि कार्यान्वयन अभियान अघि बढाइएको हो ।
झापा, मोरङ, सुनसरी र उदयपुरका २७ पालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले भौतिक पूर्वाधार विकास मन्त्रालयसँग भवन संहिता कार्यान्वयनसम्बन्धी समझदारी गरेका छन् ।
अभियानअन्तर्गत मंसिर १३ देखि मनमोहन प्राविधिक विश्वविद्यालयमा २७ पालिकाका सिभिल इन्जिनियरका लागि पाँचदिने तालिमसमेत सुरु भएको छ । तालिममा भूकम्प प्रतिरोधी भवनको डिजाइन, निर्माण र भवन संहिता कार्यान्वयनसम्बन्धी सीप प्रदान गरिनेछ ।
धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठका अनुसार कोशी प्रदेशमा अझै करिब ९० प्रतिशत निजी घर नक्सा पास नगरी निर्माण भइरहेका छन् । नक्सा पास भएका घरमध्ये पनि करिब ८० प्रतिशत मात्र स्वीकृत मापदण्डअनुसार निर्माण हुने गरेका छन् ।
नक्सा पास भएका घरमध्ये पनि करिब ८० प्रतिशत संरचना मात्रै स्वीकृत मापदण्डअनुसार निर्माण हुने गरेको उनको भनाइ छ ।
नेपालमा भूकम्पपछि भवन संहिता कार्यान्वयनको प्रयास सुरु भए पनि निर्माणको व्यवहारमा अपेक्षित सुधार आउन नसकेको श्रेष्ठ बताउँछन् । उनका अनुसार घरधनीलाई मात्रै सचेत गराएर पुग्दैन, निर्माणमा संलग्न इन्जिनियर, प्राविधिक, डकर्मी र ठेकेदारलाई समेत तालिम तथा अभिमुखीकरण आवश्यक छ ।
‘अब कागज र नक्सामा मात्र होइन, फिल्डमै सुधार आवश्यक छ । बिल्डिङ कोड लागू गराउन देख्दा मात्र गाह्रो हो, गर्दै गएमा सहज हुन्छ,’ श्रेष्ठले भने । उनको भनाइले भवन निर्माणमा नक्सा पासलाई औपचारिकता मान्ने र स्वीकृत नक्साअनुसार निर्माण भए–नभएको परीक्षण नगर्ने प्रवृत्तिलाई उजागर गर्छ ।
स्थानीय तहले नक्सा स्वीकृत गरेपछि निर्माण सम्पन्न हुँदासम्म नियमित अनुगमन गर्न नसक्दा भवन संहिताको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण बनेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेशका निमित्त प्रदेश सचिव ललित चौधरीले प्रदेशका धेरै सरकारी तथा निजी अस्पतालसमेत भूकम्पीय जोखिममा रहेको बताए । उनका अनुसार नागरिकलाई भूकम्प प्रतिरोधी घर निर्माणको महत्व बुझाउन अझै कठिन भइरहेको छ ।
पुरानै निर्माण पद्धतिबाट संरचना बनाउने प्रवृत्ति कायम रहेकाले प्राविधिक जनशक्तिले नयाँ प्रविधि र निर्माण विधिबारे आफूलाई अद्यावधिक गर्नुपर्ने उनले बताए । अस्पतालजस्ता संवेदनशील संरचनासमेत जोखिममा रहनुले भवन संहिता कार्यान्वयन निजी घरमा मात्रै सीमित नराखी सार्वजनिक संरचनामा पनि प्राथमिकताका साथ लागू गर्नुपर्ने देखिएको छ ।
नेपालको संविधानको धारा ३७ र ५१, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का दफा २७, ४३ र ४४ तथा प्रदेश भवन ऐन, २०७६ (पहिलो संशोधन २०८१) र प्रदेश भवन नियमावली, २०८२ को व्यवस्थाअनुसार समझदारी गरिएको हो ।
समझदारीअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले तालिमका लागि प्राविधिक सहयोग उपलब्ध गराउने, विकास साझेदारसँग समन्वय गरी स्रोत परिचालन गर्ने, विश्वविद्यालयसँगको सहकार्यमा उत्थानशील भवन निर्माणसम्बन्धी तालिम सञ्चालन गर्ने र कार्यक्रमको गुणस्तर अनुगमन गर्नेछ
















Discussion about this post