विराटनगर : विराटनगरको रत्ना होटलमा सञ्चालित सम्राट क्यासिनोमा जुवा खेल्दा भएको विवादलाई लिएर खुकुरी प्रहार गरिएको घटनामा पक्राउ परेका युवकविरुद्व प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा दर्ता चलाइने भएको छ ।
जुवा खेल्ने क्रममा भएको विवादलाई लिएर युवाहरूबीच शनिबार बिहानका राति १ः३० बजेतिर खुकुरी हानाहान भएको थियो। घटनामा विराटनगर ११ का ३१ वर्षीय रोनाल कँडेल घाइते भएका छन्।
खुकुरी प्रहारबाट टाउको र देब्रे कानमा चोट लागेका कँडेलको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा १२ र कानमा ५ टाँका लगाइएको छ।
घटनामा संलग्न झापाको घैलाडुब्बा घर भइ विराटनगर ८ मा बस्दै आएका ३८ वर्षीय विक्रम थपलियालाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगको मुद्दा चलाइने मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।
उनका अनुसार कँडेलकी पत्नीले दिएको किटानी जाहेरीका आधारमा थपलियाविरुद्ध मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर घटना अनुसन्धानको बाँकी प्रक्रिया अगाडि बढाइएको छ।
‘युवाहरूबीच झैझगडा हुँदा कँडेलमाथि थपलियाले खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखियो। थपलियालाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको छ,’ डीएसपी दाहालले भने, ‘अनुसन्धानबाट थप विषय खुल्दै जान्छ। घटनासँग सम्बन्धित प्रमाण जुटाउने काम प्रहरीले गरिरहेको छ।’
यो पनि – विराटनगरमा क्यासिनोबाट जुवा खेलेर निस्किएका युवाबीच मध्यरातमा खुकुरी हानाहान













Discussion about this post