इटहरी : कोशी प्रदेशसभा बैठक भदौ १८ गतेका लागि आह्वान गरिएको छ । असार ८ गते प्रदेश सभाको बैठक स्थगित भएको थियो ।
लामो समयदेखि स्थगित रहेको बैठक बोलाउन प्रतिपक्षीसहित सत्तारुढ दलका प्रदेशसभा सदस्यले दबाब दिएका थिए । दबाब बढेपछि सभामुख अम्बरबहादुर विष्टले संसद बैठक बोलाउन बाध्य भएका हुन् । उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई अनुकूल हुने गरी दुई सातापछिको समय राखेर बैठक बोलाएका छन् ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले भदौ १८ गते दिउँसो १ बजेलाई संसद बैठक बोलाइएको सूचना जारी गरेका छन् ।
मुख्यमन्त्री कार्कीमाथि संसदलाई बन्धक बनाएको आरोप लाग्दै आएको छ । प्रदेशसभाको पाँचौँ अधिवेशनको तेह्रौं बैठक बसेर स्थगित संसदका १४ औँ बैठक बोलाउन निक्कै समय लाग्नुले पनि आरोपको पुष्टि हुने बताइन्छ । बजेट कार्यान्वयनको विषय, दैवि प्रकोपबाट प्रदेशमा भएको क्षति र जनसरोकारका विषयमा छलफल गर्नुपर्ने भन्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अघिल्लो साता नै तत्काल प्रदेशसभाको बैठक राख्न माग गरेका थिए । सरकारले भने नेपाली कांग्रेस मन्त्रिपरिषद्मा सहभागी भएपछि बैठक राख्ने बताउँदै आएको थियो ।
कांग्रेसले कार्की नेतृत्वकै सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । तर, भागबन्डाको किचलोमा फसेको कांग्रेसले हालसम्म मन्त्रीको टुंगो लगाउन सकेको छैन । यसअघि बैठकले प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश कृषि व्यवसाय प्रवर्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक सरकारले संसदमा टेवल गरेको थियो ।
संसद बैठक नबस्दा विधेयकमाथिको छलफल अगाडि बढ्न सकेको छैन ।














Discussion about this post