विराटनगर : कोशी प्रदेशको एकमात्रै महानगरपालिकाको रूपमा रहेको विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको छ ।
मोरङ जिल्लास्तरीय स्वास्थ्य कार्यक्रमहरूको आर्थिक वर्ष २०८०/८१ को वार्षिक समीक्षा कार्यक्रममा १७ पालिकामध्ये विराटनगर पाँचौ स्थानमा पर्न सफल भएको हो ।
पछिल्लो ६ महिनामा गरेको कार्यप्रगतिका कारण महानगरले महत्वपूर्ण उपलब्धि हासिल गरेको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादवको दाबी छ ।
‘अघिल्लो आर्थिक वर्षभन्दा हामी निकै राम्रो अवस्थामा आइपुगेका छौं,’ उनले भने, ‘हामीले आगामी दिनमा केही मेहेनत थप्यौं भने अझै राम्रो गर्न सक्छौं । प्रमुखज्यू, उपप्रमुखज्यू र प्रमुख प्रशासकीय अधिकृतज्यूको निरन्तरको मार्गनिर्देशनले यो उपलब्धि पाएको भन्ने हामीलाई लाग्दछ ।’
एकदेखि चारसम्म पर्ने पालिका र विराटनगरबीचको अंक धेरै फरक नभएको स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत रमेश कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार विभिन्न स्वास्थ्यका सूचकहरूबाट मूल्यांकनका आधारमा स्थान तय गरिन्छ । कार्कीले चालु आर्थिक वर्षमा १ देखि ३ नम्बरभित्रै पर्ने लक्ष्यसहित कार्य गरिरहेको जानकारी दिए ।
‘विगतमा संयोजकसहित हाम्रो महाशाखाले प्रमुखज्यू र उपप्रमुखज्यूलाई कम्तीमा ५ औं स्थानमा पार्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौं,’ कार्कीले भने, ‘सबै स्वास्थ्यकर्मीको अथक मेहनतका कारण यो उपलब्धि हासिल भएको हो ।’
स्वास्थ्य कार्यालय मोरङका अनुसार अघिल्लो आर्थिक वर्षको वार्षिक समीक्षामा विराटनगर महानगर १६ औं स्थानमा थियो ।














Discussion about this post