इटहरी : चैतको समयमा आएको पानीका कारण उदयपुरमा निर्माणाधीन पक्की पुल भाँचिएको छ ।
उदयपुरको कटारी नगरपालिका–२ स्थित सिमनापुर र कल्याणपुर जोड्ने पक्की पुल बैमौसमी बाढीले भाँचिदिएको हो ।
मिर्चैया–कटारी–घुर्मी सडक योजनाअन्तर्गत अमाह खोलामा निर्माणाधीन ५० मिटर लामो पक्की पुल हिउँदे झरीपछि आएको बाढीले भाँचिदिएको हो ।
पानी निकासाका लागि लगाइएको ‘ह्युमपाइप’ले बाढी थेग्न नसक्दा पुलको बीच भाग थुनिएको थियो ।
पुलको स्लाब ढलान २० दिनअघि मात्रै भएको थियो ।
बुधबार राति आएको सामान्य बाढीले ह्युमपाइप थुनेका कारण पुल भाँचिएको मिर्चैया–कटारी–घुर्मी योजनाका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार पुल भाँचिदा १ करोड ५० लाख हाराहारीको क्षतिको अनुमान छ ।
उनका अनुसार पुल निर्माण सम्पन्न गरेर असारअघि नै सञ्चालन गर्ने योजना थियो । भत्किएपछि निर्माणावधि थप लम्बिने भएको छ ।














Discussion about this post