इटहरी : सप्तकोशी नदीमा एक वृद्ध बेपत्ता भएका छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोकाहा र सप्तकोशीको संगमस्थलबाट ७२ वर्षीय वृद्ध बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मंगलबार बिहान ११ बजेतिर मोरङको केराबारी ७ दाहाल चोकका मकरबहादुर घिसिङ तामाङ बेपत्ता भएका हुन् ।
वृद्धले कोशीमा हाम्फालेको देखेपछि स्थानीयबासीले प्रहरी चौकीलाई जाानकारी गराएका थिए ।
घटनास्थलमा प्रहरीले ब्याग फेला पारेको थियो । उक्त ब्याग खोलेर हेर्दा ब्यागभित्र एक थान मोबाइल, कागजको पानामा ‘मेरो घर मोरङ केराबारी वडा नं. ७ दाहाल चोकमा हो, मेरो झोलामा फोन छ निकालेर दयालु मित्रजनले फोन गरी दिनुहुन अनुरोध छ,’ भनेर पत्र लेखेको फेला पारेको थियो ।
यसैगरी अर्को कागजको पानामा ‘खाना रूचि नभएको कारणले जीवन सुकेर जाने भयो, त्यस कारणले सप्तकोशीमा गएर जलदेवता मातालाई अनुरोध गरेर हामफालेको, मैले पीर खप्न सकिन, मनुष्य लोकको मित्रहरूलाई मेरो तर्फबाट बाई–बाई छ’ भनेर लेखिएको पत्र फेला पारिएको सुनसरी प्रहरीले जनाएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक विकास राई र इलाका प्रहरी कार्यालय चतराबाट प्रहरी नायब निरीक्षक राजन खड्काको कमाण्डमा टोली खटिएको र सशस्त्र प्रहरी सुरक्षा बल नेपाल बेस चतराबाट सहायक प्रहरी सशस्त्र निरीक्षक सीताराम श्रेष्ठको कमाण्डमा गोता खोर समेतको टोलीले वृद्धको खोजी गरिरहेको प्रहरीको भनाइ छ ।
खोजी गरिएपनि उनलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।














Discussion about this post