इटहरी : केही दिनदेखि परेको अविरल वर्षा र बाढीका कारण कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा सडकहरू अवरुद्ध भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार प्रदेशका ५ वटा जिल्लामा सडक अवरोध भएको हो । जसमा केही स्थानमा वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ भने केही स्थानमा वैकल्पिक व्यवस्था छैन ।
प्रहरीका अनुसार पाँचथरको फालेलुङ–५ स्थित मुभाबोटामा बाढीले बाटो भत्काएको छ । सो स्थानमा फिदिम–फालोट सडक प्रभावित भए पनि वैकल्पिक मार्ग प्रयोग गरिएको छ ।
ताप्लेजुङको दुई स्थानमा सडक बन्द भएको छ । मिक्वाखोला–९ श्यामपुमा सडक भासिएपछि आठराई–धनगढी–रवि सडक बन्द भएको छ । जसमा वैकल्पिक मार्ग प्रयोग भइरहेको छ ।
तर, फुङलिङ–८ सागपुजास्थित तमोर नदीको झोलुंगे पुल बगाउँदा सद्दुकुम–ओलाङचुङ गोला मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । जसमा वैकल्पिक मार्ग उपलब्ध नभएको प्रहरीले जनाएको छ ।
यता, उदयपुरको त्रियुगा–३ हातिपुरमा रामपुर खोलाको पुल भासिँदा जलजले–कनली सडक बन्द भएको छ । उक्त सडकमा वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ ।
यसैगरी सोलुखुम्बुको नेचासल्यान–६ खरमस्थितमा सडक भासिएको छ । जसकारण सोताङ–महाकुलुङ सडक अवरुद्ध भएको छ । यद्यपि, उक्त सडकमा वैकल्पिक मार्ग प्रयोग गरिएको छ ।
खोटाङको जन्तेढुंगा–८ साचोलमा पनि सडक भासिएपछि जन्तेढुंगा–सायपाल सडक प्रभावित भएको छ । तर, उक्त स्थानमा पनि वैकल्पिक मार्ग प्रयोगमा छ ।
कोशी प्रदेश प्रहरीले यात्रुहरूलाई सुरक्षित यात्राका लागि सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा अघि सम्बन्धित प्रहरी कार्यालय वा स्थानीय निकायसँग सम्पर्क गर्न सुझाव दिएको छ ।














Discussion about this post