झापा : झापाको कमल गाउँपालिका–६ बाट प्रतिबन्धित औषधीको अवैध कारोबारमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय विष्णुप्रसाद बगाले र दमक मेडिकल डिस्ट्रीब्युटरका सञ्चालक ४० वर्षीय गंगाबहादुर खड्का रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा बगालेको घरमा छापा मार्दा ३ हजार क्याप्सुल ट्रामाडोल, २,११० ट्याब्लेट डायक्लोमाईन, र २,०५० ट्याब्लेट स्पास्पेन बरामद गरेको हो।
बरामद औषधीहरू लागूऔषधको रूपमा वर्गीकृत प्रतिबन्धित औषधी भएकाले प्रहरीले तत्काल दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार खड्का मेडिकल सञ्चालकका रूपमा औषधी आपूर्ति र वितरणमा संलग्न रहेको खुलेको छ।
प्रहरीका अनुसार दुवै व्यक्तिविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको छ।














Discussion about this post