झापा : झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या प्रकरणमा प्रहरीले नयाँ तथ्य सार्वजनिक गरेको छ।
घटनाको करिब १० दिनपछि प्रहरीले भारतीय नागरिक ३४ वर्षीय रमेशकुमार पण्डितलाई पक्राउ गर्दै अनुसन्धानलाई निष्कर्षतर्फ पुर्याएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको विवरणअनुसार मृतक तिवारी र पक्राउ परेका पण्डितबीच घटना हुनुअघि नियमित सम्पर्क र भेटघाट हुने गरेको पाइएको छ।
मोबाइल फोनको कल डिटेल, लोकेसन ट्र्याकिङ र प्राविधिक विश्लेषणका आधारमा प्रहरीले अभियुक्तसम्म पुग्न सफल भएको जनाएको छ।
प्रहरीका अनुसार भारतको अररिया घर भई हाल दमकमा बसोबास गर्दै आएका पण्डित टायल्स तथा मार्बल जडानको ठेक्कापट्टा व्यवसायमा संलग्न थिए। अनुसन्धानका क्रममा घटना भएको दिन दुवै जना दमकस्थित सगरमाथा पेट्रोल पम्प नजिकको सुनसान क्षेत्रमा पुगेको खुलेको छ।
प्रहरीको दाबीअनुसार त्यहाँ उनीहरूबीच आर्थिक लेनदेनलाई लिएर विवाद भएको थियो। विवाद चर्किँदै जाँदा पण्डितले तिवारीको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
त्यसपछि घटनालाई लुकाउन शव मोटरसाइकलमा राखेर दमक–१० को सेतुमारीस्थित रतुवा खोलाको पुलमुनि फालिएको प्रहरीको भनाइ छ।
यो घटनाले हत्या मात्र नभई अपराध लुकाउन गरिएको प्रयाससमेत उजागर गरेको प्रहरीको निष्कर्ष छ। घटनामा प्रयोग भएको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
गत जेठ १६ गते रतुवा खोलामा बोराभित्र शव फेला परेपछि प्रहरीले व्यापक अनुसन्धान थालेको थियो। शवको सनाखतपछि प्राविधिक प्रमाण, स्थानीय सूचना र घटनास्थल विश्लेषणलाई आधार बनाएर अनुसन्धान अगाडि बढाइएको थियो।
हाल पक्राउ परेका पण्डितविरुद्ध जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत झापाबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाले दमक क्षेत्रमा सुरक्षा, महिला हिंसा तथा अपराध अनुसन्धानको प्रभावकारिताबारे पुनः बहस सुरु गराएको छ।













Discussion about this post