धरान : धरान–६ पानमारास्थित भित्री पक्की सडकखण्डमा शुक्रवार दिउँसो टिपले स्कुटरलाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र–१–०२–००१ ख ८७४५ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको को ३९ प २७४ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटरमै सवार ११ वर्षीया सुहास्ना बुढाथोकीको घटनास्थलमै मृत्यु भएको छ । स्कुटर चालक धरान–६ की ३३ वर्षीया बिना बुढाथोकी गम्भीर घाइते भएकी छन् । उनीहरू आमाछोरी हुन् ।
त्यसैगरी बुढाथोकीकै ७ वर्षीया छोरी नुना बुढाथोकी र धरान–६ की चन्द्रमाया श्रेष्ठकी ६ वर्षीया छोरी सुस्मिता श्रेष्ठ सामान्य घाइते भएका छन् ।
घाइतेहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपामा) उपचार भइरहेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न ४५ वर्षीय टिपर चालक भक्तबहादुर मगरलाई नियन्त्रणमा लिइएको छ । स्कुटर र टिपर दुवै इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा छन् ।
प्रारम्भिक अनुसन्धानअनुसार टिपरले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post