Thursday, April 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

इम्बिरी तीरैतीर वोलुङ

सुदीप पाख्रिन by सुदीप पाख्रिन
पुस ५, २०८२
in कला साहित्य, टाकुरा विशेष
0
87
SHARES
Share on FacebookShare on Twitter

गोठको रात

करिब १, २ बजेको हुँदो हो । हिमाली भेगको एउटा गोठमा थियौँ, मस्त निदाइरहेको । एक्कासी निंद्रा टुट्यो । बाहिरबाट निरन्तर मधुरो एउटा आवाज आइरहेको थियो… “ट्ङ…डङ…डङ…डङ…” मानौ कुनै गुम्बामा लामाले घण्ट बजाइरहेको होस् एक धूनमा । मानौ, आनी छोयोङ् डोल्माको गीतको ‘इन्स्ट्रुमेन्टल भर्सन’ बजिरहेको होस् । टाढा कतै । निरवता चिर्दै…

दोहोरी सिट

असोज २८ गतेको बिहान सखारै हामी भानुचौकको बस पार्कमा थियौ । ताप्लेजुङको फुङलिङ जाने गाडि पर्खिरहेका । फोटोग्राफीका हाम्रा गुरु वीरेन सुब्बा र उनको विद्यार्थी म ।

दशैँको रौनक र त्यसको चटारोलाई भर्खरै मात्रै बिदा गरेको धरान थाकेर मस्त निदाइरहेको थियो । हामी भने त्यहि चटारोलाई जिस्काउँदै अर्को चटारोको खोजीमा थियौँ । चटारो यात्राको । चटारो १० दिनको यात्रामा हुने ७ दिनजस्तो पदयात्राको ।

चटारो नपुगेको ठाउँमा पुग्नुको लागि मन हतारिनुको । चटारो त्यस ठाउँले दिने रोमाञ्चकताको । चटारो रमाइला दृश्यहरु दृश्यपान गर्न पाउने हतारोको । चटारो नयाँ मान्छेहरु भेट्नुको । चटारो नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ सँस्कृतिसँग साक्षात्कार हुन पाउनुको । त्यही चटारोहरुबिच दिमाग गोलगोल घुमिरहेको थियो । त्यही बेला ड्राइभर आएर हामी चढेको गाडीको स्टेयरिङ घुमाउन थाल्यो ।

गाडीको ड्राइभरको सहायक निकै रसिक रहेछ । गाडी कुद्न शुरु हुने बितिक्कै उसले दुईरिल हसायो । कुरा के भयो भने गाडीमा भानुचौकबाट चढ्ने हामी दुईमात्रै थियौँ ।

बाझगराबाट हाम्रै साथी युनिक फोटोग्राफी धरानका अर्का विद्यार्थी फोटोग्राफर जीवन होक्पाचोङ्वाङ् चढेपछि गाडीमा जम्मा ड्राइभर र सहायकबाहेक हामी तीनजना भयौँ । गाडी भने थियो १२ सिटे । मैले जिस्काए, “हन के हो ? ताप्लेजुङ पुग्ने हामी तीनजना मात्रै हौँ कि के हो ?”

सहायकले हत्त न पत्त भनिहाल्यो, “कहाँ होन्त दुजु ? दशै…को बेला पो हो त यो । सिजन पो हो हाम्रो । चमेरा सिट, मुढा सिट र दोहोरी सिट पनि प्याक छ नि त हो । चढ्नेहरु छ नि इटहरी र बिर्तामोडतिर ।”

चमेरा सिट भनेको झुण्डिएर र मुढा सिट भनेको मुढामा बसेर यात्रा गर्नु पर्ने बुझेका हामी दोहोरी सिट भन्ने नयाँ नाम सुनेर छक्क पर्यौँ र सोध्यौँ, “यो दोहोरी सिट भनेको चाहिँ कुन चाहिँ सिट हो नि फेरि ?”

सहायकले उत्तर दियो, “सबैभन्दा पछा…डि दोहोरी गाउने पोजिसनमा मुखामुख गरेर बस्नु पर्ने सिट ।” उसको कुरा सुनेर हामी तोडले हास्यौँ ।

उसले कन्दै अझ थप्यो, “काँ हो अन्त… त्यो सिटमा बसेर यात्रा गर्नेमा उस्तै तरुनीतन्नेरी पर्यो भने त फुङ्लिङ् पुग्दा नपुग्दै लभ नै पर्छ नि त हो…”

सहायकको धराने ‘टोन’ र उसको मजाको ‘सेन्स अफ ह्युमर’ बुझेर हामी हाँस्यौ । हामी हाम्रै ‘अन्डरस्ट्याण्डिङ अफ ह्युमर’ सोँचेर पनि मरिमरि हाँस्यौ । त्यहिमाथि ड्राइभर पनि रसिक थिए । जोकहरुको सृङ्खलै चल्यो यात्राभरि । हाँस्दै पुग्यौँ फुङ्लिङ् । हाँसोले यात्रा छोट्याउने रहेछ । हाँसोले यात्राको बोझिलपनलाई पर भगाउँदो रहेछ । ९, १० घण्टाको लामो यात्रा २, ३ घण्टामा टुंगिएकोजस्तै अनुभव भइरहेको थियो हामीलाई ।

करिब ४ बजेतिर हामी फुङलिङको ‘स्नो लियोपार्ड’ होटेलमा थियौँ । यो यात्राको हाम्रो अन्तिम सहयात्री, युनिक फोटोग्राफी धरानका अर्का विद्यार्थी फोटोग्राफर भाई विशाल थेबे दिउँसै त्यहाँ पुगिसकेको थियो । उसले कोठा बुक गरिसकेको रहेछ ।

उत्तरमा हिमाल, अलिक मुन्तिर खुइलिएका नीला डाँडाहरू, त्यसभन्दा तल पहाडी रूखहरूले ढाकिएका हरिया डाँडाहरू र त्यसैमध्ये एउटा डाँडामा अवस्थित सुन्दरी गाउँ लेलेप । तर त्यो सुन्दरीको गालामा भद्दा र कुरुप देखिन्थे, ती दुई बिल्डिङहरू । मानौ सुन्दरीको सुन्दरतालाई बिरूप बनाउन कहिल्यै निको नहुनेगरी उम्रिएका ती दुई डण्डिफोरहरू हुन् ।

विशाल ४, ५ दिन अघि नै ताप्लेजुङकै आफ्नो पुख्र्यौली थलो ‘सिनाम’ पुगेको थियो । उनी त्यहीबाट हामीसँगै ओलाङ्चुङ्गोला जान हामीभन्दा अघि दिउँसै त्यहाँ पुगेका थिए ।

फुङलिङको रात निकै चिसो थियो । कठ्याङ्ग्रिँदो । महसुस गर्दै सुत्यौ ।

बम्बल्बीको सवारी

बिहान ७ बजेतिर हामी फुङलिङको बस स्टेशनमा थियौँ । हिजो भर्खरै ‘दोहोरी सिट’ को कुरा सुनेको हामी आज त्यही सिटमा थियौँ । चारजना एकअर्कातिर मुख फर्काएर दोहोरी गाउने पोजिसनमा बसिरहेका ।

विशाल ‘दाजु, कहाँ सिट नै पाएन नि अगाडि त । यो पनि बडो मुस्किलले हिजो म दिउँसै आइपुगेकोले भेटेको ।’ भनेर आफ्नो सिट राम्रो खोज्न नसक्नुको ‘एक्सक्युज’ खोजिरहेको थियो ।

म भने अगाडिको यात्राबारे सोँचिरहेको थिए । ओलाङचुङगोलासम्म पुगेर फर्कने भनेर घरबाट निस्किएको म ।

यद्यपि, केटाहरुले चाहिँ ‘ताप्लेजुङ पुगेपछि पनि त्यहाँको कुनै ताल नघुमी के फर्कनु ?’ भनेर सिङ्जेमा ताल पनि जाने कुरामा अड्डी कसिरहेका थिए । म चाहिँ मुखले ‘हुन्छ नि । जाउँला नि ।’ भनेपनि मनले चाहिँ जानेभन्दा बढि नजाने कुरामा दृढ थिए । हिजोसम्म । किनकि, सिङ्जेमा तालको उचाई ४,६७१ सय मिटर हो भन्ने कुरा मलाई थाहा थियो ।

‘गुगल बाबा’ ले बताएको जो थियो । र, मलाई मेरो उचाईको ‘लिमिट’ मज्जाले थाहा छ । केही वर्षअघि अन्नपूर्ण बेसक्याम्पमै पनि मलाई ‘अल्टिच्युड’ को समस्या भएको थियो । जुन मात्रै ४,१०० मिटरको उचाइमा मात्रै छ ।

तर, अघिल्लो रात हामीले रात बिताएको होटेल ‘स्नो लियोपार्ड’ को मालिकले हामीलाई यस्तरी गोला र गोलाको परिवेशको बारेमा बताएको थियो । विस्तृत रुपमा । कसरी जाने ? कहाँ बस्ने ? र, गोलाको छेउको यो ताल किन जाने ? लाग्यो, यहाँ आएर त्यहाँ नजानु त महापापै हुनेछ । उनी कुम्भकर्ण आरक्षण क्षेत्र समितिको अध्यक्ष पनि रहेछन् ।

सोँचे, अध्यक्ष राम्रै मान्छे चुनिएको रहेछ । आफ्नो ठाउँलाई यति ‘प्रोमोशनल’ ढंगबाट घुम्न आउनेहरुलाई बताउने खुबी कमैमा हुन्छ । मैले सकेपनि नसकेपनि त्यसपछि भने एकपटक ताल जाने कोशिस गर्ने मनमनै निर्णय गरेको थिए ।

करिब–करिब ८ नबज्दै हाम्रो शाही सवारी फुङलिङको बसपार्कबाट कमानबाट तीर छुटेजस्तै छुटेको थियो । गाडी घुमाउरा बाटोहरुमा तीर छुटेजस्तै नै दगुरिरहेको थियो । लिएर केही थान यात्रुहरु अगाडि र केही थान हामी ।

“हामी हाम्रै आफ्नोपनलाई विकशित गर्दै लैजान किन खोज्दैनौ ? विकाश गर्दा पुरानै शैलीका घरहरूलाई नै किन विकाश गर्दैनौँ ? जुन हाम्रो आफ्नो शैली हो । किन हामी विकाशको नाममा कंक्रिटको जङ्गल बनाउन उद्यत हुन्छौँ ? किन हामीले गाउँको प्राकृतिकतालाई बचाइरहन सक्दैनौँ ? जस्तो कि लेलेपलाई हेर्ने बितिक्कै हामीलाई प्रकृति याद आउँछ ।

दोहोरी सीटमा दोहोरी नगाई बसिरहेका । दोहोरीको सट्टा बरु ठट्यौली गर्दै । यात्रामा हाम्रो फोटोग्राफीका गुरु बिरेन सूब्बालाई निकै हसीँमजाक गर्नु पर्छ । गर्नुहुन्छ । गरिरहनु भएको थियो ।

सुकेटारसम्म त सडक पिँच गरिएको थियो । गाडी साँच्चै नै तीर छुटेजस्तै नै दौडिरहेको थियो । त्यसपछि शुरु भयो, खाल्डाङखुल्डुङ बाटो । अब भने गाडी घस्रन शुरु भयो । हाम्रो जोक चाहिँ घस्रन पनि छोड्यो । ‘

फुलस्टप’ लाग्यो । कठिन यात्राले एकैछिनमा थकाएको जो थियो हामीलाई । बाटो सिर्फ खाल्डाङखुल्डुङ मात्रै थिएन । नाकै छुने उकालो पनि थियो । थियो, त्यस्तै ओरालो पनि । गाडी घरि डोरीमा झुण्डिँदै कुनै मान्छे ‘रक क्लाइम्बिङ’ गरेझैँ गरेर डाँडाको टुप्पोमा उक्लन्थ्यो । घरि पाइला होशियारीपूर्वक राख्दै–राख्दै चिप्लो कुनै भर्याङमा आल्र्हिएझैँ गरेर ओर्लिएर फेदीमै झथ्र्यो ।

घरि जंगलै जंगल उफ्रिँदै दौडन्थ्यो । घरि खोलामा खोलाभित्रैबाट पौडिएझैँ गर्दै दगुर्दथ्यो । घरि बाटै नभएजस्तो लाग्ने बाटोमा च्याप्पिँदै निस्कन्थ्यो त घरि कच्ची नै भएपनि खुल्लाजस्तो लाग्ने बाटोमा फैलिएर दगुथ्र्यो ।

अचम्म मान्दै मैले त सोधे नै, “हन, यो गाडी नै हो ?”

साँच्चै नै मलाई त्यो गाडी गाडीजस्तै लागिरहेको थिएन । ताप्लेजुङको सदरमुकामदेखि उत्तरतिर त्यो डाँडैडाँडा यसरी कुदिरहेको थियो । जसरी कुनै गाडी त कुद्दै कुद्दैन । मलाई यात्राभरि यस्तै लागिरह्यो ।

कुरा पनि गरे, “यो गाडी त गाडी होइन । ट्रान्सफर्मर हो जस्तो पो लागिरहेछ । ट्रान्सफर्मर । माइकल बेको ट्रान्सफर्मर । र, ट्रान्सफर्मरको बम्बल्बी । थाहा छ नि बम्बल्बी ? गाडी जसले परिस्थिति अनुसार आफ्नो स्वरुप परिवर्तन गर्छ ।

घरि रोबोट बन्छ । घरि हवाईजहाज त घरि हेलिकप्टर पनि बन्छ । हो, यसले पनि त्यहि गरिरह्यो । यात्राभरि । उकालोमा कुुदिरहँदा चक्काको साटो यसले खुट्टा जोडेको थियो । ओरालोमा ओर्लिदा पनि त्यस्तै । खोलामा छिर्दा त झन चक्का झिकेर माछाको पखेटा लगाएको थियो, पानीमा ।”

बाटोमा फेरि खोला पनि कति हो कति ? लाग्यो, ताप्लेजुङ घुमेरै लेखेको हुनुपर्छ श्रद्धेय गीतकार यादव खरेलले श्रद्धेय गायिका तारा देवीले गाउनु भएको गीत ‘नौसय खोला तरेर जाने ।’

भर्खर बाटो खोलिएको त्यो बाटोका खोलाहरुमा पूल बन्नु त कहिले हो कहिले ? प्रत्येक खोलामा हामी चढेको गाडी डुब्की लाइरहेको र पौडी खेलेझैँ गर्दै निस्किरहेको थियो ।

मेरो गाडीमाथिको प्रतिकृयापछि जीवन भाईले भन्यो, “हो नि दाजु, यो गाडी भनेको ‘फोर व्हीलर’ हो । पहाडतिर यस्तै गाडीहरु मात्रै चल्छ । यो जस्तै ठाउँमा पनि कुद्छ । बजारतिर चल्ने ‘टु व्हीलर’ हरुजस्तो हुदैन ।”

बम्बल्बीले हामीलाई करिब १२, १२ः३० तिर तापेथोक ल्याएर फ्याँकिदियो ।

मुस्किलले १२००, १५०० जनसङ्ख्या भएको डाँडैडाँडाहरुबीच, तमोर नदीलाई बीचमा पारेर बसेको एउटा सानो बस्ती । तापेथोक । निकै घमाइलो देखिन्थ्यो । साथै रमणीय पनि । कस्मेटिक कुनै प्रसाधन नघसी सुन्दर देखिएकी कुनै तरुनीभैmँ देखिने तापेथोकसँग हामीलाई धेरैबेर जिस्कनु थिएन ।

त्यहीँको स्थानीय होटेलमा केही थान पर्यटकहरु र उनीहरुका केही थान गाइडहरु चल्मलाइरहेका थिए । तिनीहरुमा केही कञ्चनजंगा बेसक्याम्प पुगेर फर्किएका थिए भने केही त्यतै ताकेर हिँड्न लागेका थिए । हाम्रो बम्बल्बी चलाउने गुरुजीले खाना बाटोबाटै भनिदिएका थिए । एक घण्टा पनि लागेन होला हामीलाई । त्यहाँ । पहाडी चिसो पानीमा बनिएको स्वादिष्ट खाना खान । खायौँ र बाटो लाग्यौ ।

बाटो सोध्नलाई त्यहाँ हामी बाहेक अरु कोही थिएन ।

बहँदै गरेको हावालाई सोधौँ ? चहकिँदै उड्दै गरेका चराहरुलाई सोधौँ ? गीत गाउँदै बगेको तमोरलाई सोधौँ ? गुन्गुन् गुन्गुन् गदैँ गुन्गुनाउँदै गरेका बारुलालाई सोधौँ । या मौन लम्पसार रहेको बाटैलाई सोधौँ ? कि, हामीलाई हाम्रो गन्तव्यसम्म बोकेर हिँड्ने बाटो कुन हो ? कसलाई सोधौँ, कसलाई ? हामीलाई ठम्याउन गाह्रो भइरहेको थियो ।

तापेथोकबाट तमोर तीरैतीर हिँड्नु थियो । ओलाङचुङगोला नपुगुञ्जेलसम्म । यसै भनिएको थियो, हामीलाई । फुङलिङको होटेल ‘स्नो लियोपार्ड’ को मालिकले ।

उनले अर्को कुरा पनि भनेका थिए, “तपाईहरू १, १ः३० घण्टामा लेलेप पुग्नुहुन्छ । त्यसको करिब त्यही समयमा लुङथुङ । र, फेरि १ घण्टामा त इलाडाँडा पुग्न सक्नुहुनेछ । गएर इलाडाँडा बस्नुहोला । इलाडाँडाबाट चाहिँ करिब ६, ७ घण्टामा गोला पुग्नु हुनेछ । इलाडाँडामा बस्नुभयो भने सजिलो हुन्छ । नत्रपनि, लुङथुङ चाहि पुग्नुहोला । त्यसो गर्नुभयो भने तपाईहरु अर्काेदिन गोला पुग्नुहुनेछ । नत्र एकदिन बढी लाग्नेछ ।”

यही कुरा सोँच्दै–सोँच्दै हामी करिब १, १ः३० बजेतिर तमोरमाथि बनिएको झोलुङ्गे पुल तरिरहेका थियौँ । तमोर तरेर हामी तमोरकै किनारै किनार हिँडिरहेका थियौ । उत्तर ताकेर । तमोरको उद्गमस्थलतिर ।

पहाडी तमोर बेगले बगिरहेको थियो, पहाडका तरुण ढुंगाहरुसँग ठोक्किँदै । इत्रिँदै तमोर हामीलाई गीत सुनाइरहेको थियो । पहाडी हावा पनि जिस्किँदै तमोर छुँदै बहिरहेको थियो । तमोर छुँदै बहेको हावा एकतमासले हिँडिरहेको हामीसँग पनि जिस्किन आइपुगिरहेको थियो घरिघरि ।

बाटो फाँटिलो–फाँटिलो थियो शुरु–शुरुमा । त्यही फाँटिलोजस्तो फाँटमा फलेका देखिन्थे । अलैँचीका झ्याङहरु । झ्याङकै बीचमा भेटिए केही थान खसी बाख्राहरु । बाख्रा चराइरहेका आइमाईहरु । र, एकथान सानो फुच्चे गोठालो पनि । केटाहरुले क्यामेरा झिकिसकेका थिए । गोठाला आइमाइहरु, फुच्चे गोठालो कैद हुन थाले क्यामेरामा ।

छेउमै तमोर गीत गाइरहेकै थियो । तमोरसँगै पुरै वातावरण गीत गाइरहेको थियो । घरिघरि चिबे, भङ्गेरा, कोइलीहरुले पनि कोरस थपिरहेका थिए । गीतमै झुमेजस्तो गरेर उडिरहेका थिए, पुतलीहरु । सोही गीतमा हामी पनि झुम्दै क्यामेरामा ती सब कैद गर्दै–गर्दै अघि बढिरह्यौ ।

अलैँचीको झ्याङ सक्किएपछि अलिक मास्तिर देखिए धान फलिरहेको एउटा फाँट । धान फलिरहेको त्यो फाँट सकिने बितिक्कै चाहिँ उकालो शुरु भयो ।

उकालिँदै गएको बाटो छेउमै बाँस झ्याङहरु थिए । निकै बाक्लो बाँस झ्याङका बाँसहरु भने साधारणतया हामीले धरानतिर देखेका बाँसहरूभन्दा निकै मोटोमोटो थिए । पहाडमा अलिक ज्ञान राख्ने र पहाड अलिक धेरै भ्रमण गरिरहने जीवनले भन्यो, “दाजु, यसलाई भालु बाँस भनिन्छ । प्राय: पहाडतिर पाइने बाँसहरू यस्तै हुन्छन् ।”

जीवनले त्यसो भनिरहँदा मैले भने सम्झिए अलिक वर्ष अघिको अन्नपूर्ण भ्रमण गर्दाको ‘ब्याम्बो’ भन्ने ठाउँ । ब्याम्बो भनिएको त्यो ठाउँमा जताततै बाँसै बाँसका झ्याङ्ग फलेका थिए । तर ती बाँसहरु निकै मसिना, साना र पुड्का थिए ।

हिँड्दै जाँदा भेटिए बाटोमै केही घरहरू । घरकै छेउमा बाँसकै टाँड जस्तो बनाइएको र तल टाँडलाई आगोले नभेटिने गरी धुवाँले मात्रै भेट्नेगरि आगो लगाइएको थियो । जीवनले नै बतायो, “यो अलैँची सुकाउनलाई बनाइएको टाँड हो । यसरी मुनिबाट धुँवा दिएर अलैँची सुकाइन्छ ।”

यसरी तापेथोकबाट डेढ घण्टामा लेलेप पुगिन्छ भनिएकोमा हामी ठीक त्यसको दोब्बर समय लगाएर हिँडिसकेपछि यस्तो ठाउँमा पुग्यौँ । जहाँ बाटो दुइतिर छुट्टिएको थियो । एउटा बाटो अझै निकै उकालिएको थियो भने अर्को बाटो ओह्रालिएको थियो । अड्कल लाउँदै थियौ । ओह्रालो लाग्ने बाटो पक्कै पनि तमोर नदीतिरै झर्ने होला । र, हामीलाई ओह्रालो झर्नु थिएन ।

किनकि, हामीलाई भनिएको थियो, इलाडाँडा नपुगुञ्जेल तमोर तर्नु पर्दैन भनेर । इलाडाँडापछि मात्रै तमोर तर्नु पर्ने हुन्छ भनेर । त्यही पनि हामी कता लागौँ भन्ने अलमलमा थियौ । एक हूल गाइडजस्ता लाग्ने मान्छेहरु आइपुगे त्यहाँ । सोच्यौँ, उनीहरूलाई सोध्नुपर्ला लेलेप जाने बाटो । तर हामीछेउ आइपुगेपछि उल्टै उनीहरुले पो हामीलाई सोधे, “केबिसीतिर जाने बाटो कता हो ?”

उनीहरु कन्चनजंगा बेस क्याम्प हिँडेका भरियाहरु रहेछन् । पहिलोचोटि आएका । उनीहरुका पर्यटकहरू गाइडसँगै अगाडि नै गइसकेका रहेछन् ।

उनीहरुले उल्टै सोधेपछि मैले भूइँमा यसो हेरे । देखेँ भूइँमा एउटा ढुंगामा चिन्ह दिएर लेखिएको थियो, केबिसी जाने बाटो । ओह्रालोतिर झरेको । उनीहरूलाई देखाइदिए । उनीहरु त्यतै खुसी हुँदै लागे । हामी भने त्यो दिशाको उल्टोतिर भएको अर्को दिशातिर लाग्यौ, उकालै उकालो ।

केही क्षणमै हामी लेलेपमा थियौँ । लेलेपको पुच्छारतिरको एउटा होटेल घरमा । घर पनि होटेल पनि भएकोले मैले होटेल घर भनिदिएँ ।

समय ४, ४ः३० भइसकेको थियो । तापेथोकबाट डेढ घण्टामा लेलेप पुगिन्छ भनिएकोमा हामीलाई तीन साढे तीन घण्टा लागेको थियो । अब लेलेपबाट हिँडियो भने बाटैमा रात पर्ने निश्चित थियो ।

होटेल शेर्पा परिवारको मान्छेको थियो । होटेल मालिककी छोरी जो काठमाडौँ बस्दी रहेछिन् । दशैतिहारको छुट्टीमा आफ्ना छोराछोरी लिएर घर आएकी, अलिक फर्साइली थिई । भनी, “तपाईहरु यो भन्दा अगाडी नजानु नै बेस हुन्छ । अँध्यारो हुन्छ ।”

उसैले लेलेपको बारेमा, गोलाको बारेमा, गोलाका शेर्पाहरुको बारेमा निकै धेरै घतलाग्दा कुराहरु बताइन् । हामी सुन्दै गयौँ । उनी बताउँदै गइन् ।

लेलेपका दुई डण्डीफोर

ठिक उत्तरतिर अवस्थित कुम्भकर्णतिरबाट आएको धुन्सा खोला र अलिक मुन्तिर उत्तर पूर्वतिरबाट आएको सिम्बुवा खोला आएर तमोरमा मिसिने संगमस्थलमा अवस्थित लेलेप निकै सुन्दर देखिन्थ्यो बिहान । असोजको अन्तिमतिर भएकोले होला हावा निकै चिसो बहिरहेको थियो ।

४००, ५०० घरधुरी भएको र जम्माजम्मी २२, २५ सयमात्रै जनसंख्या भएको एउटा सानो शेर्पा बस्ती जहाँका घरहरु भने तर प्राचिन लिम्बू–लिम्बू पाराका निक्कै आर्कषक थिए । वरिपरि नजिकै लिम्बू बस्तीहरु भएको कारण होला शायद । प्रायः सबै घरहरु निकै सफा देखिन्थे ।

घरका अगाडि जातजातिका फूलहरु र दशैंतिहारको समय भएकाले सबैभन्दा धेरै त सयपत्रीहरु संसारभरिका सुन्दरता आफूभित्र समेटेर फुलिरहेका देखिन्थे । त्यहाँ सिर्फ दूईवटा मात्रै सिमेण्टेड घर थिए । ती दुईमा एक थिए, त्यहाँका निम्न माध्यमिकस्तरीय स्थानीय विद्यालय । र अर्को थियो, प्रहरीको बिल्डिङ ।

उत्तरमा हिमाल, अलिक मुन्तिर खुइलिएका नीला डाँडाहरु, त्यसभन्दा तल पहाडी रुखहरुले ढाकिएका हरिया डाँडाहरु र त्यसैमध्ये एउटा डाँडामा अवस्थित सुन्दरी गाउँ लेलेप । तर त्यो सुन्दरीको गालामा भद्दा र कुरुप देखिन्थे, ती दुई बिल्डिङहरु । मानौ सुन्दरीको सुन्दरतालाई बिरुप बनाउन कहिल्यै निको नहुनेगरी उम्रिएका ती दुई डण्डिफोरहरु हुन् ।

एकछिन् त गफ नै चल्यो । गफ केन्द्रित थियो, “हामी हाम्रै आफ्नोपनलाई विकशित गर्दै लैजान किन खोज्दैनौ ? विकाश गर्दा पुरानै शैलीका घरहरुलाई नै किन विकाश गर्दैनौँ ? जुन हाम्रो आफ्नो शैली हो ।

किन हामी विकाशको नाममा कंक्रिटको जङ्गल बनाउन उद्यत हुन्छौँ ? किन हामीले गाउँको प्राकृतिकतालाई बचाइरहन सक्दैनौँ ? जस्तो कि लेलेपलाई हेर्ने बितिक्कै हामीलाई प्रकृति याद आउँछ । टिपिकल शेर्पा बस्ती हो भन्ने भान हुन्छ, सिर्फ ती दुइवटा घरलाई छोडेर ।

तर, यसरी नै सिमेण्टेड डण्डिफोरहरु पलाउँदै जाने हो भने कति कुरुप देखिन्छ होला यी सुन्दरी पनि ? कति अप्राकृतिक । कति आर्टिफिसियल । आर्टिफिसियल शहरहरुजस्तै । सहर त कुरुप बनायौँ बनायौ हामीले ।

गाउँलाई गाउँजस्तै रहन दिन किन सक्दैनौँ ? सुख सुविधाहरु नै पनि त्यही पुरानै ढाँचा र आकारका घरलाई उही उस्तै रुपमा राखेर पनि त पुर्याउन सक्छौँ नि, होइन र ?”

यस्तै गफ गर्दै–गर्दै खाजा खाएर हामी आठ नबज्दै अगाडि बाटो लाग्यौँ । केही छिन त बाटो सहज नै थियो । बाटोमा पौराणिक टाइपका घरहरु थिए । घरहरुका अगाडि फुलबारीहरु थिए । फूलबारीमा फूलहरु फुलेका थिए । फूलमा पुतलीहरु । पुतलीसँगै हाम्रो मनपनि फुलिरहेका थिए । फुलिरहेका पुतलीहरु फूलका सुगन्ध लिएर उडिरहेका थिए ।

उनीहरुसँगै त्यही उडिरहेका हामैै्र मनहरु पनि थिए । त्यही उडिरहेका मनहरु पछ्याउँदै–पछ्याउँदै हामी हाम्रो बाटो लागिरहेका थियौँ । सपनाको गन्तव्यसम्म ।

बाटैमा भेटिए एकजोर गाइडहरु । भन्दै थिए, “हामी त लुम्बासुम्बा सर्कल हिँडेका । एकजोडी बुढाबुढी पर्यटक लिएर । ती पर्यटक बुढाबुढी बाहेक हाम्रो टीममा छन् हामी दुई गाइड र केही भरियाहरु ।”

‘लुम्बासुम्बा सर्कल’ भनेको एउटा यस्तो ट्रेकिङ रुट हो । जुन ताप्लेजुङको फुङलिङबाट शुरु भएर ओलाङचुङ गोला, लुम्बासुम्बा हिमालको बेस क्याम्प, चौरीखर्क, याङ्लाखर्क, मकालु बेसक्याम्प, नुम हुँदै तुम्लिङटार गएर टुंगिन्छ । यो सर्कल छिचोल्न कम्तिमा पनि २ देखि ३ हप्तासम्म लाग्छ भनेर नेट सर्फिङ बाट थाहा पाएको हुँ ।

र, सँगसँगै यो पनि थाहा पाएको हुँ कि पछिल्लो समय यो रुट निकै रुचाइँदै गएको छ । अहिलेसम्म पनि एउटा भर्जिन रुटकै रुपमा रहेको यसलाई पर्यटकहरुको हूलले त्यति धेरै गिँजोलिसकेको छैन । जहाँ निकै धेरै ‘एडभेञ्चर’ हरुसँग साक्षात्कार गर्न सकिन्छ । टे«किङ गर्ने इच्छा खुब राख्ने म, उनीहरुको कुरा सुनेर थुक निल्छु, लोभले । छट्पटिन्छु, डाहाले ।

मेरा साथीहरु भने फोटो खिँच्नमा तल्लिन देख्छुँ । लेलेपको अहिलेसम्म संरक्षित प्राकृतिकतालाई क्यामेरामा कैद गर्न एकधुनले तीनजना तीनतिर तल्लिन देख्छु । खिँच्नुसँगसँगै हिँडि पनि रहेका छन्, उनीहरु ।

अलिकबेर पहाडको समथल बाटो हिँडिसकेपछि बाटो ओह्रालिन्छ । याद आउँछ तुलसी दिवस दाजु र दाजुको ‘बाटो’ कविता,

‘हिँड्दा हिँड्दै हिँडेको बाटो ओकालिएपछि
हिँड्नेको केही नलाग्दो रहेछ,
उकालिँदा उकालिँदै उकालिएकै बाटो नै ओह्रालिएपछि
ओल्र्हनेको पनि केही नलाग्दो रहेछ ।’

साँच्चै नै, हामी केही गर्न सकिरहेका थिएनौ सिवाय ओल्र्हनुको । बाटै ओल्र्हिएको ओल्र्हिएकै गरेपछि ओल्र्हनु सिवाय के नै गर्न सकिने रहेछ र ? ओल्र्हदै गरेको बाटामा थिए अभिभावक विहीन केही थान घरहरु, केही थान बालबालिकाहरु, झाँडी, उड्दै गरेका मौरी, आकाशिएर बहिरहेका जूरेली, हाँगा–हाँगा उफ्रिरहेका चराहरु र पहाडका भीरहरुमा पहाडको उचाईहरुलाई जितुलाझैँ ठडिएका रुखहरु । पश्चिमतिर तल बगिरहेकै थियो तमोर, सुमधुर गीत सुनाउँदै ।

ओरालो सकिने बितिक्कै देखा प¥यो सानो खोला । खोलामा थियो झोलुङ्गे पूल । पुललाई हल्लाउँदै हामीले खोला तर्यौँ । खोला कटेर अलिकति हिँडेपछि फेरि देखा पर्यो दुईवटा बाटो । सिधै पूर्वतिर लागेको एउटा बाटो सहज र सिधा थियो । सिधै उत्तरतिर लागेको बाटो चाहिँ ठाँडै उकालो थियो । बाटो सोध्नलाई त्यहाँ हामी बाहेक अरु कोही थिएन ।

बहँदै गरेको हावालाई सोधौँ ? चहकिँदै उड्दै गरेका चराहरुलाई सोधौँ ? गीत गाउँदै बगेको तमोरलाई सोधौँ ? गुन्गुन् गुन्गुन् गदैँ गुन्गुनाउँदै गरेका बारुलालाई सोधौँ । या मौन लम्पसार रहेको बाटैलाई सोधौँ ? कि, हामीलाई हाम्रो गन्तव्यसम्म बोकेर हिँड्ने बाटो कुन हो ? कसलाई सोधौँ, कसलाई ? हामीलाई ठम्याउन गाह्रो भइरहेको थियो ।

“जे पर्ला पर्ला । उकालिएकै बाटो जाऊँ ।” गुरु वीरेन सुब्बाले भन्नुभयो ।

लाग्यौँ, उकालै उकालोको बाटो । सम्झँदै, “ओल्र्हदा ओल्र्हदैँ ओर्लेकै बाटो ओकालिएपछि उक्लनेको पनि केही नलाग्दो रहेछ ।” सम्झँदै तुलसी दिवस दाईलाई नै फेरि । झण्डै एक घण्टाजस्तो ओल्र्हिएर झोलुङ्गे पुल आइपुगेका हामी यो ओकालोमा झण्डै एक डेढ घण्टा उक्लिएपछि एउटा टारजस्तो ठाउँमा आइपुगेका थियौँ ।

टार निकै रमाइलो थियो । केही थान घरहरु ठडिएका थिए । खेत थिए । देउराली थियो । पुछारतिरको एउटा घरमा एउटा नानी, एउटी बूढी मान्छे र एउटी युवती थिइन् । घडीले भने झण्डै एघार बजाइसकेको थियो । भोक पनि लागिसकेको थियो । युवतीले ढोकैबाट चियाएर हामीतर्पm हेरिन् । हामीले सोध्यौँ, “यो कुन ठाउँ हो ?”

“लुङथुङ ।” उनले बताइन्, “यो माथिल्लो लुङथुङ हो । खास लुङथुङ चाहिँ तपाईहरु अघि तल दुइवटा बाटोमा अर्को बाटो गएको भए चाहिँ पुग्नु हुन्थ्यो । यो गोला जाने लामो बाटो हो । तपाईहरु लामो बाटो चाहि आउनु भयो । तल्लो बाटो जानु भएको भए लुङथुङ कटेर निकै माथि पुगिसक्नु हुन्थ्यो ।”

“ला, हो र ? ठीकै छ । यो ठाउँ निकै राम्रो रहेछ । राम्रो ठाउँ देख्न पायौँ । राम्र्रै भयो ?” हामीले भन्यौँ । र, सोध्यौँ, “खाना बनाइदिन सक्नु हुन्छ हामीलाई ?”

“हुन्छ । तर, समय लाग्छ ।” उनले भनी ।

एकाध घण्टा लाएर उनले मीठो खाना बनाइदिइ । त्यही दौरान हामीले माथ्लो लुङथुङको सौन्दर्यलाई क्यामेरामा कैद गर्यौँ । हाम्रो क्यामेरामा लुङथुङदेखि उत्तरतिर देखिने हिमाल कैद भए । नीला पहाडहरु कैद भए । त्यही पहाडले सिग्रेट पिएर फुकेर उडाएका धुवाँझैँ देखिने बादलको गुच्छा कैद भए ।

जौँ पाकेर पहेला भएका फाँट कैद भए । फाँटमै फुलेका फूलहरु कैद भए । खाना बनाइदिइरहेका घरका साना नानी कैद भए । बुढी मान्छे कैद भए । कैद भए थुप्रै कुराहरू । यसरी त्यो समय कैद भयो हाम्रो क्यामेरामा । समयलाई ग्याजेटमा कैद गरेर प्रफुल्ल भएका हामी त्यही कैदी समयभित्र तयार भएको मीठो खाना खाएर करिब १ बजेतिर त्यहाँबाट हिँड्यौ । फेरि गन्तव्य पछ्याउँदै ।

बाटोमै भेटिए, हुस्सूमा हराइरहेका बाख्राहरु चराइरहेकी एउटी सुन्दरी गोठाल्नी शेर्पिनी, केटाकेटी हरकत हेरेर रमाइरहेको एउटा प्राथमिक विद्यालय, डाँडाबाट हाम्फाल्दै तमोर मिस्सिन हतार गरिरहेका दुई ह्याण्डसम् तन्नेरी झरनाहरु, भिरालो पाखा च्याप्पै समाएर बसिरहेका अलैँचीका बोटहरु र कीराका किर्रकिर्र संगीत । चराका चिरबिर कोरस ।

र, निकै आवाज गरेर गाइरहेका तमोर । तमोरको सुमधुर गीत, निकै उचाइमा आइसकिएकोले हो कि के हो ? हल्ला लाग्न थालिसकेको थियो ।
अघिसम्म त शाष्त्रिय, सुगम संगीतमा गीत गाइरहेझैँ लाग्ने उनको स्वर अब चाहि भने हेभ्भी मेटलभैmँ लाग्न थालिसकेको थियो । मेटल त्यति मन नपराउने मेरो कानमा त्यो गीतले घोँचुलाझैँ गरिरहेको थियो ।

पहिरो झरेर अफ्ठ्यारो भएको एउटा ठाउँ कटेपछि हामी फेरि अर्को एउटा खोलामा आइपुगेका थियौँ । खोलामा फेरि एउटा हल्लिइरहने पुल थियो । पुललाई एक झमट फेरि हल्लाइ राखेर तरिसकेपछि ठाडै ओकालो शुरु भएको थियो । ओकालोमा ढुंगा राखेर मिलाएर भर्याङ जस्तो बनाइएको थियो ।

ओकालिएको त्यो भर्याङ पार गर्न हामीलाई भण्डै–झण्डै एक घण्टा लागेको थियो । ओकालै ओकालो उक्लँदा उक्लँदै छेउको तमोरको हेभ्भी मेटलभने बिस्तारै हल्लाजस्तो, विस्तारै गीत जस्तै र गीत जस्तो लाग्दा लाग्दै पर कसैले सुमधुर सुसेली हालेजस्तो सुनिन थालेको थियो ।

तमोरबाट निकै उचाईमा थियौँ हामी, उक्लिँदा उक्लिँदै । त्यो भर्याङ् सकिने बितिक्कै हामी एउटा मनोरम ठाउँमा थियौँ । बिशाल र म अलिक अघि थियौ ।

त्यतिञ्जेल, साँझ हामी हिँडिरहेकै गोरेटोबाट शुरु भइसकेको थियो । त्यसपछि साँझ छेउको बुटाहरुमा सर्यो । त्यसपछि छेउको झ्याङमा । त्यसपछि रुखहरुको हाँगाहाँगामा । पुरै रुखमा अनि फेरि डाँडाहरु माथि चढ्न थाल्यो । तर डाँडाको टुप्पाटुप्पामा भने घाम दिनजस्तै हाँसिरहेकै थियो ।

नजिकै एउटा घर देखियो । घरमा देखिए केही महिलाहरु । त्यही घरदेखि अलिक पर २, ३ वटा घरहरु थिए डिलमा । बाटोतिर मुख फर्काएर बसेका । नजिकैको सोही घरबाट केही महिलाहरुले चियाएर हामी दुईलाई हेरे । एकजनाले त सोधे पनि, “कहाँ जादै हुनुहुन्छ ?”

हामीले भन्यौ, “जान त हामी ओलाङचुङ गोला हिँडेको । तर आज इलाडाँडा बस्ने हो ।”

उनै महिलाले भनी, “यही त हो इलाडाँडा ।“

विशालले सोध्यो, “ए हो ? हामी यहीँ बस्दा हुन्छ ?”

ती महिलाले उत्तर दिई, “हुन्छ ।”

विशालले फेरि सोध्यो, “खाना बनाइदिन सक्नु हुन्छ ?”

उत्तर आयो, “भइहाल्छ नि । तपाईहरु दुईजना मात्रै हो कि अरु पनि छ ?”

मैले भने, “छ नि । अरु दुईजना । आउँदैछ ।”

मैले त्यसो भनिनसक्दै परबाट जीवन आइरहेको देखियो । उनी आफ्नो ५०० एमएमको लेन्स भएको क्यामेराले आफ्नै धूनमा फोटो खिच्दै आइरहेको थियो । पछाडि ठूलो रुक्स्याक बोकेको उनलाई विदेशी सम्झियो क्यार ।

ती महिलाले सोधिन्, “तपाईहरुसँग आउने खैरे हो ?”

मैले पनि त्यतिक्कै ठट्टा गर्दै, ‘हो त’ भनिदिए । त्यति नै बेला वीरेन सुब्बा, जो अलिक गोरो पनि हुनुहुन्छ, जीवनलाई हिँड्नमा पछि पार्दै अगाडि आइपुग्नु भयो । उहाँले कालो स्ल्याक्स, स्ल्याक्समाथि हाफप्याण्ट, कालो टिसर्ट, सन ग्लास, सनक्याप लाउनु भएको थियो । उहाँ जीवनलाई उछिनेर अलिक प्रस्ट देखिने ठाउँसम्म आइपुग्नु भयो र कराएर सोध्नु भयो, ‘फिलाडाँडा यही हो ?”

तल बगिरहेको तम्मोर र तम्मोरका पानीहरुसँग इत्रिरहेको थियो । त्यहाँको किनारका ढुङ्गाहरुसँग जिस्किरहेको थियो । साथसाथै हामीसँग पनि खेलिरहेको थियो । हिजो रातमा राम्ररी भेट्न नपाएको उसँग भेट मात्रै होइन, हामी धित मरुन्जेल बात पनि मारिरहेका थियौ । वरिपरिका डाँडाहरुमा गलैँचा बिछ्याइएजस्तो विभिन्न रङ्गका बिरुवाहरु थिए । नीला डाँडाहरुमा हरियो रङ्गका रुख बिरुवा त थिए नै । सँगसँगै त्यहाँ थिए, गुलाबी, रातो र पहेँलो रङ्गका बोटबिरुवाहरु पनि । जसले ती डाँडाहरुलाई अति नै सुन्दर बनाइरहेको थिए । नृत्यरत घामका किरणका कारण अहिले ती डाँडाहरु झनै सुन्दर देखिइरहेको थियो ।

त्यतिन्जेल ती दुईलाई विदेशी नै सोँचिरहेको ती महिलाले उनले नेपाली बोलेको र आफ्नो ठाउँको नाम गलत उच्चाहरण गरेर बोलेको देखेर मरिमरि हाँस्न थाले । हाँस्दा हाँस्दै भनी, “ए, नेपाली बोल्ने खैरे पो रहेछ ।’ उनको कुरा सुनेर हामी पनि हाँस्यौ ।

१८ वर्षीय छोरा र श्रीमानसहित ३ जनाको परिवार भएकी ती महिलाले घरमै ‘होमस्टे’ थाल्नलाई काम गर्दैरहेछिन् । उनीसँग भएकी अरु महिलाहरु चाहिँ छिमेकीहरु रहेछिन् । ती महिलाले त्यसपछि खाजा बनाइदिई । र, एकछिनमा खाना पनि । खाएर एकछिनमा हामी तल बगिरहेको तमोरको सुसेली सुन्दै सुतिरहेका थियौँ ।

कहिल्यै नसकिने बाटोका यात्री

बिहानै त्यही घरवाल्नी बहिनीले चाउचाउ र अण्डाको खाजा बनाइदिई । उक्त खाजा हामीले खाइसकेपछि बनाइदिएकी अर्को खाजाको पोका हामीलाई थमाइदिँदै भनी, “यहाँदेखि ५, ७ घण्टा लाग्छ, गोला पुग्न । बाटोमा एउटै घर पनि छैन । दोकान त परैको कुरा हो । बाटोमा खानलाई रोटी बनाइदिएको छुँ । राम्रोसँग जानुहोला ।”

शेर्पासँग बिहे गरेकी लिम्बुनी रहेछिन् उनी । भन्दैथिई, “लेलेप र लेलेपदेखि मास्तिर आएपछि सबै शेर्पा मात्रै छन् ।”

हामीले उनलाई धन्यबाद दिँदै लाग्यौ । उत्तरतिर ताकेर ।

बाटोमा तमोरले अनेक रुप देखाइरह्यो । कुनै–कुनै ठाउँमा त उनले रौद्र रुप धारण गरेको पनि देखियो ।

तमोरलाई दुई ठाउँमा तरेर, तमोरलाई दायाँ त घरि बायाँ पारेर लगभग ९ घण्टा हिँडेपछि साँझतिर हामी यस्तो ठाउँमा पुग्यौ । जहाँ बायाँपट्टि तमोर आफ्नो सम्पूर्ण बल लगाएर डाँडाको टुप्पोबाट हाम्फालिरहेको थियो । तमोर जहाँ बज्रिएको थियो, त्यहाँ उसले इन्द्रेणी बनाएको थियो ।
शायद, पानीमा घामको परावर्तनले हो क्यार । तमोर झरना भएर झरिरहेको त्यो ठाउँ बाटोबाट करिब करिब डेढ, दुईसय मिटर परै भएपनि वरै बाटोमा हिँडिरहेका हामीलाई बाछिट्टाले भिजाइरहेको थियो ।

त्यहाँदेखि ठीक माथि डाँडा गजधम्म परेर बसेको थियो । हामी त्यही गजधम्म परेको डाँडाको ठिक फेदमा थियौँ । त्यहाँको दृश्य एकदमै हेर्न लायक थियो । बायाँतिर इन्द्रेणी उमार्दै झरिरहेको निक्खुर सेतो तमोर ।

सहरतिर अपरिचित कुनै दुश्मनझैँ लाग्ने घाम, पहाडतिर निकै आफन्त लाग्छ । जाडोको सिरकजस्तो । अंगालो हालिरहुँ लाग्ने । तराईको गर्मीमा बरको शितलु कुनै छायाँजस्तो, त्यहीमूनि डेरा जमाउ लाग्ने । हामीलाई, तर, त्यही रहिरहनु थिएन ।

दायाँतिर, दक्षिणतिर रातो पाण्डाको वासस्थान भनिएको घनघोर जङ्गल, र उत्तरतिर ठाँडै ठडिएको नीलो डाँडा भएको त्यो ठाउँ हलिवुडको कुनै सिनेमाको सुन्दर दृष्यहरुभन्दा अझ सुन्दर थियो । त्यही डाँडामा सानो गोरेटो गएको थियो सोझै मास्तिर । त्यो गोरेटो डाँडामा सानो, सानो झन सानो हुँदै अलिक मास्तिर पुगेपछि धागो जतिक्कै सानो भएको देखिन्थ्यो, तलबाट हेर्दा । सानो भएको ठाउँमै हामी बसेको ठाउँबाट पहिरो गएजस्तै देखिन्थ्यो ।

हामी जहाँ विश्राम गरिरहेका थियो, त्यो ठाउँमा पुग्दा हामी थाकेर निकै चुर भइसकेका थियौँ । छेउमै डाँडा फोरेर पानी बगिरहेको एउटा ढुङ्गे धारा थियो । धित मरुञ्जेल पानी पियौँ । र, त्यहीको एउटा सानो चौतारीजस्तो ठाउँमा बसेर सोच्न थाल्यौँ, इलाडाँडादेखिको त्यहाँसम्मको बाटोका सकसहरु ।

बाटोमा दुईओटा ठाउँमा बाटोले हामीलाई निकै तर्साएको थियो । इलाडाँडा सक्ने बितिक्कै एक ठाउँमा पहिरो खसेर पुरै बाटो नै तमोरतिर झरेको थियो । त्यहाँ बाटोको नाममा पाइला मात्रै राख्न मिल्ने ४ ओटा स्टेपहरु थिए । तेश्रो स्टेप चालेपछि खुट्टाले बाटो भेट्न कम्तिमा पनि एक डेढ फिटजस्तो उफ्रिनु पथ्र्यो । अलिकति गलत कदम मात्रै चालिएमा झण्डै ५, ७ सय मिटर तल बौलाएर बगिरहेको तमोरमा झरिन्थ्यो ।

त्यस्तै एक ठाउँमा चाहिँ बाटोमा पहिरो खसेर बाटै हराएको थियो । त्यही हराएको बाटोमा केही रुखका हाँगाहरु समात्दै झ्याङ्गै झ्याङ्गको बीचबाट टार्जनजस्तै भएर बाटो बनाउँदै छिर्नु पनि कुनै ‘हरर’ अनुभवभन्दा कम थिएन । यी त थिए बाटोले दिएका दुई सकसहरु । बाटोमा रेड पाण्डा भेटिन्छ कि भन्ने आश थियो । तर नभेटिनुको सकस पनि मिसिएको थियो त्यसैमा ।

५/७ घण्टामा पुगिन्छ भनिएकोमा निरन्तर ९ घण्टा हिँड्दा पनि गन्तव्य भेटिनु त परै जावोस् । गन्तव्य देखिँदा पनि नदेखिनुको सकस पनि थियो । यो बाटो थियो जो सक्किने नामै लिइरहेको थिएन । यो सकसले पनि निकै सकस दिइरहेको थियो बाटोभरि ।

यहि सकसहरु सोँच्दा–सोँच्दै डाँडाको ठीक फेदमुनि बसिरहेका हामी एउटा कुरामा चाहि आशावादी थियौ कि पक्कै यो डाँडाको टुप्पोमा पल्लोपट्टि चाहिँ होला, हाम्रो गन्तव्य ।

त्यही आशा मनमा फुलाउँदै हामी उक्लन थाल्यौ धागो जस्तो भएको गोरेटोतिर । उकालोमा मच्चिएर १५, २० मिनेट हिँडेपछि देख्यौ कि त्यहाँ बाटै छैन । हिँडदाहिँडदैको बाटो सकिएको थियो । बाटो गायब थियो । देखिएको थियो त सिर्फ पहिरो ।

२, ३ सय मिटर परसम्म फैलिएको पहिरो । त्यसपछि मात्रै बाटो । त्यहि पनि २, ३ सय मिटर पर । पहिरोदेखि तलतिर बौलाएर बगिरहेको तमोर छ । सोही पहिरोको एकडेढसय मिटर ठीक माथि केही मान्छेहरु देखिन्थे । त्यही मान्छेहरु भए ठाउँमा एउटा स्काभेटर थियो । र, एउटा डोरी स्काभेटरमा बाँधेर तलतिर पहिरोतिर खसाइएको थियो । केही मान्छेहरु त्यही डोरीमा झुण्डिएर माथि चढ्दै थिए ।

सबैभन्दा अगाडि हिँडिरहेको मलाई देखेर माथिका मान्छेहरुले कराएर भने, “लु ठीक टाइममा आइपुग्नु भयो । हामी डोरी तान्न आँटिरहेका थियौँ । यो डोरी समाएर चढ्नु । बाटो यहाँ माथिबाट छ । यसबाट आउनु भएन भने त्यही पहिरो गएको बाटोबाट हिँड्नु पर्ने हुन्छ ।”

उनीहरुले त्यसो भनेपछि मैले पहिरो गएको बाटोतिर हेरेँ । त्यहाँबाट हिँड्न सम्भव नै थिएन । बाटो भए पो सम्भव हुनु ? बाटै खसेर तलतिर झरेको थियो । माथि हेरेँ र अर्को कुनै विकल्प नभएकोले डोरी पक्डिएँ । डोरी पक्डिने बितिक्कै मेरो आँखा तलतिर गयो । तल कहाँ हो कहाँ तल… तमोर बौलाएर बगिरहेकी देखिन्थ्यो ।

तलको त्यो दृश्य देख्ने बितिक्कै डरले मेरो साँस फुल्लियो र खुट्टा जोडले काम्न थाल्यो । डरले मैले डोरी छोडिदिएँ र मेरो ठीक पछाडी आइरहेको बिशाललाई ‘तिमी जाऊ ।’ भनेँ ।

उनले पनि खैँ के सोँच्यो कुन्नी डोरी जीवनलाई छोडिदियो । निकै ठूलो रुक्स्याक, दुईदुईवटा क्यामेराहरुको ब्याग र ५०० एमएमको लेन्स र अर्को क्यामेरा पनि भिरेको ऊ निकै सकसका साथ त्यो पहिरो गएको उकालोमा डोरी समातेर चढ्न थाल्यो ।

त्यसपछि हाम्रो गुुरु चढ्नु भयो । गुरु चढिसकेपछि भने ममा थोरै आँट आयो र डराइडराइ डोरी समाउँदै त्यो उकालो चढ्न थाले । माथि उक्लिएपछि छामँे । मेरो मुटु तल तमोरले गाएको भन्दा जोडले हेब्बी मेटलको धूनमा ड्रम बजाइरहेको थियो । अन्तमा बिशाल चढ्यो । ऊ तल रहेर हामी चढिरहेको भिडियो बनाउन थालेछ । हामी सबैलाई ऊ अन्तिममा चढ्नुको अर्थ बल्ल खुल्यो ।

माथि पुगेपछि सबैभन्दा पहिले त उनीहरुलाई धन्यबाद दियौँ । उनीहरु नभएको भए हामी त्यही ठाउँबाट फर्कनु पर्ने हुन्थ्यो ।

पहिरोको बाटो भएर हिँड्नु कहाँ सम्भव हुन्थ्यो र ? थाहा भयो, उनीहरु हामीले अघिल्लो दिन लेलेपमा भेटेको लुम्बासुम्बा ट्रायल हिँडेका टीम रहेछन् । सबै तयारीका साथ हिँडेकाले रक क्लाइम्बिङको सामान पनि उनीहरुसँग रहेछ ।

उनीहरुलाई धन्यबाद दिनुको साथै हामीले आफूले आफैंलाई पनि भाग्यमानी ठान्यौ । नत्र, यो बेला त्यहाँदेखि कहाँ फर्कनु ? त्यो बेला इलाडाँडा पुग्न त असम्भव नै थियो । साँझ निकै घर्किसकेको थियो त्यतिन्जेल ।

त्यसपछि हामी खुशी हुँदै अघि बढ्यौ । तर, हाम्रो खुशीमा त्यही नै बेला तुसारापात भयो । किनकी हामीले तलबाट यो डाँडा कटेपछि त हाम्रो गन्तव्य आउँछ होला भन्ने सोँचेका थियौँ । तर, एक घुम्ती छिचोल्ने बितिक्कै हामी त्यो डाँडाको ठीक पल्लोपट्टि थियौँ र हाम्रो गन्तव्य अझै त्यहाँबाट अझै निकै टाढा देखिन्थियो । डाँडाको भित्तामा पर…. गजधूम्म र लमतन्न सुतिरहेको, साँझको ओलाङचुङ गोला ।

हामी घस्रँदैघस्रँदै जसोतसो बल्लतल्ल साँझ झमक्कै परिसकेपछि ओलाङचुङ गोलामा थियौ । गोलाको एउटा होटल ‘व्हाइट याक वलुङ गेष्ट हाउस’ मा थियौ । होटलको भाइ टाँसी लामा शेर्पासँग थियौँ । उनी निकै रमाइलो रहेछ । हामी उनैसँग रमाइरहेका थियौँ ।

महुवाको त्रास

भोलिपल्ट बिहान ओलाङचुङ गोला आफ्नो धूनमा थियो । तमोर किनारमा डाँडै डाँडाको बीचमा एकसरो लुगा सुकाएजस्तै पल्टिएको थियो ऊ । घाम त्यहि डाँडाहरु हुँदै ओल्र्हदै थियो हामीभएतिर । एकैछिनमा घाम होटल नजिकैको सानो चौरीजस्तो ठाउँमा, घरका धूरीधूरीहरुमा, त्यहाँका ढुङ्गा बिछ्याइएका साँगुरा गल्लीहरुमा लडिबुडि गरिरहेका देखिन्थे ।

तल बगिरहेको तम्मोर र तम्मोरका पानीहरुसँग इत्रिरहेको थियो । त्यहाँको किनारका ढुङ्गाहरुसँग जिस्किरहेको थियो । साथसाथै हामीसँग पनि खेलिरहेको थियो । हिजो रातमा राम्ररी भेट्न नपाएको उसँग भेट मात्रै होइन, हामी धित मरुन्जेल बात पनि मारिरहेका थियौ ।

वरिपरिका डाँडाहरुमा गलैँचा बिछ्याइएजस्तो विभिन्न रङ्गका बिरुवाहरु थिए । नीला डाँडाहरुमा हरियो रङ्गका रुख बिरुवा त थिए नै । सँगसँगै त्यहाँ थिए, गुलाबी, रातो र पहेँलो रङ्गका बोटबिरुवाहरु पनि ।

जसले ती डाँडाहरुलाई अति नै सुन्दर बनाइरहेको थिए । नृत्यरत घामका किरणका कारण अहिले ती डाँडाहरु झनै सुन्दर देखिइरहेको थियो ।

मैले त भने नै, “यति धेरै रङ्ग भएका डाँडाहरु त मैले अहिलेसम्म कहिँ देखेको छुइनँ ।”

“हो नि” सबै केटाहरुले मेरो यस कुरामा सहमति जनाए ।

त्यति नै बेला होटेलका भाइ टाँसीले भने, “यी सबै डाँडाहरु पाँच हजार माथिको उचाइभएकाहरु हुन्् । अबको केही दिनमै हिउँ पर्छ । हिउँ परे यी सबै डाँडाहरु हिमाल बन्छन् ।” टाँसीको यो कुरा चाहिँ केटाहरुले पत्याएजस्तो देखिएन । म पनि फरक थिइनँ, उनीहरुभन्दा ।

९ बजेतिर टाँसीले भने, “दाजु तपाईहरु सिङ्जेमा जाने हो भने अहिले एक चाइनिज टोली आउदैछन् । एक हफ्तादेखि चिनतिरको बोर्डर टिप्तालाको छेउको एउटा गाउँमा मेला लागेको छ । चाइनिजहरुको निमन्त्रणामा ताप्लेजुङको सिडियो लगायत गाउँबाटै एउटा ठूलो जम्बो टिम त्यहाँ गएको छ ।

आज उनीहरुलाई पुुर्याउन आउदैछन् उनीहरु । उनीहरुसँग आएका गाडी फर्कन्छन् आजै । उनीहरुसँगै आधा बाटोसम्म जानू न । म भनिदिन्छु । तपाईहरुलाई ४, ५ घण्टाको बाटो हिँड्नु पर्दैन । त्यसो भयो भने ।”

गाडीको बाटो नेपालतिरबाट ओलाङचुङ गोला नपुगेपनि, चिनतर्फबाट भने आइपुगेको छ भनेर त बेलुकी नै थाहा पाइसकेका थियौँ हामीले । त्यही बाटोमा गाडी चढेर हिँड्न पनि पाइने भइयो भनेर खुशी भएँ म ।

हामीले स्वीकारोक्ति दिएपछि ऊ गाडी कतिखेर आउँछ भनेर बुझ्न गाउँतिर लाग्यो । गएको एक्कैछिनमा ऊ फर्कियो पनि । भन्यो, “गाडी अघि नै आइसकेको रहेछ । उनीहरु खाना खाएर हिँडिहाल्छन् रे । तपाईहरु पनि छिट्छिटो खाना खाएर तयार हुनु ।”

उनले त्यसो भनेपछि हामी खाना पनि नखाई निस्किन हतारियौँ । टाँसीले पनि हामीलाई खानाको लागि कर नगरी भन्यो, “तपाईहरु सिधै माथि जानुहोला । अलिक माथि प्रहरी थाना छ । त्यही थानाको छेउमा चाइनिजहरुका गाडीहरु छन् । त्यहाँ गएर छेतेन भन्नेलाई भेट्नु होला । उहाँले गाडीको लागि भनिदिइसक्नु भएको छ ।”

हामीले हाम्रा गुरु बिरेन सुब्बा चाहिँ गोलामै रहने भनेर बेलुकी नै सल्लाह गरेका थियौ । यो ठाउँको डकुमेन्ट्रीको लागि केही मान्छेहरुको अन्तर्वाता लिनु, गल्लीगल्ली घुमेर भिडीयो बनाउनु थियो । सबैभन्दा महत्वपूर्ण यहाँको ४६८ वर्ष पुरानो ‘दिकी छ्योलिङ गुम्बा’ को भिडियो पनि बनाउनु थियो । त्यहाँको लामाको अन्तर्वाता पनि लिनु थियो, उहाँलाई ।

त्यसैले बिरेन गुरुलाई गोलामै छोडेर हामी तीन निस्कियौँ । पुलिसचौकीतिर । चौकीकै छेउमै गोलाका थुपैै्र आइमाइ केटाकेटीहरु, बुढाबुढीहरु मेला लागेकोभैm गरेर घाममा बसेका थिए । यसरी यति धेरै मान्छेहरु यहाँ किन भेला भएको होला ?भन्ने लागिरहेको थियो । छेउमै ४, ५ थान सुविधायुक्त चाइनिज गाडीहरु थिए । पछि थाहा भयो, ती भेला भएका आइमाई केटाकेटीहरु गाडी हेर्नलाई थुप्रिएका रहेछन् ।

छेतेन त्यही भेटिए । उनले भने, “मैले भनिदिएको छुँ । उनीहरुले तपाईलाई त्यो ठाउँमा लगेर छोडिदिनेछ । राम्रोसँग जानुहोला । याद गर्नुहोला । उनीहरुले आफ्नो भाषा बाहेक अरु केही बुझ्दैनन् । अंग्रेजी त झनै बुझ्दैनन् ।”

फक्तांलुङ गा. वि. स. का सरकारी पर्यटकीय प्रवक्ता उनी चाइनिज दोभाषे पनि रहेछन् । हामीलाई अप्ठ्यारो मानेको देखेर उनले फेरि पनि भने, “तपाईहरु अप्ठ्यारो नमान्दा हुन्छ । मैले भनिदिएको छु । उत्रिनु पर्ने ठाउँमै उतारिदिन्छन् ।

कथंकदाचित उतारेनन् भने याद गर्नु होला, तपाईहरु ओल्र्हनु पर्ने ठाउँमा छेउछेउमै दुइओटा गोठहरु छन् । छेउमा एउटा खोला बगेर तमोरमा मिसिएको हुनेछ ।”

उसैले भने, “उनीहरु खाना खाँदैछन् अहिले । टाइम लगाउँछन् होला । तपाईहरुले पनि खाना खानुभएको छैन भने यही छेउमै केही खानु हुँदा हुन्छ ।”

उनले त्यसो भनेपछि हामीले छेउकै एउटा दोकान पसेर चाउचाउ उमाल्न लायौँ र त्यही खाएर तयार भइ बस्यौँ । चाइनिजहरु आएपछि हामीलाई दुइओटा भिन्न गाडीमा चढाइयो । बिशाल र मलाई एउटा गाडीमा । जीवनलाई अर्को गाडीमा ।

गाडीमा हामी दुई बाहेक सिर्फ ड्राइभर मात्रै थियो । उनीहरुको प्रत्येक गाडीमा ड्राइभर बाहेक ६, ७ जना अरु पनि अट्थ्यो । तर, किन हो हामीलाई दुइओटा भिन्न गाडीमा चढाइयो ।

लगभग ११, ११ः३० बजेतिर हामी तमोरको किनारैकिनार गाडीमा कुदिरहेका थियौँ । उत्तरतिरको सेता हिमालहरु ताकेर ।

छेउमा तमोर त्यहाँको स्थानीय भाषा वोलुङ मिसाउँदै, त्यहीको टोनमा कुनै नेपाली गीत गुन्गुनाउँदै नाँच्दै बगिरहेको थियो । हामी भने गाडीभित्र सुनिरहेका थियौँ । चिनिया गीतहरु । हेरिरहेका थियौँ, ड्राइभरको छेउको सानो स्क्रीनमा चाइनिज कलाकारहरु नाँचिरहेको ।

भर्खरै खन्दा–खन्दैको त्यो बाटो खल्ड्याङ खुल्डुङ र ढुङ्गै ढुङ्गाले भरिपूर्ण थियो । तर, गाडी यति सुविधाजनक थियो कि, हामीलाई ती खाल्डाखुल्डी महशुस समेत भइरहेको थिएन । बिस्तारै–बिस्तारै हिमालहरु नजिकिँदै गइरहेका थिए । तमोर भने सानो झन सानो भइरहेको थियो ।

बाहिरको वातावरण निकै चिसो थियो । हामी अनुमान गर्न सक्थ्यौ । तर, गाडीभित्र हामीलाई चिसोको अनुभूत भइरहेको थिएन ।

शायद, वातानुकुलित मेशिन चलाइएको थियो । बिशाल र म गाडीमा मौन यात्रारत थियौँ । गफ गर्नु पनि के ? चाइनिज हामीलाई आउदैन । र, दुईजना मात्रै नेपालीमा कुरा गर्नु ती चाइनिज ड्राइभरलाई उपेक्षा गर्नुजस्तो हुन्थ्यो । यो कुरामा हामी सजग थियौ । झण्डै आधा घण्टाजस्तो कुदिसकेपछि ती चाइनिज हामीतिर फर्किएर प्रश्नवाचक एउटा शब्द हामीतिर हुर्याए, “महुवा ?”

हामीलाई फसाद पर्यो । ‘यिनले के भने ?’भनेर । दिमाग लगाए, ‘पक्कै हामी ओल्र्हनु पर्ने ठाउँको नाम होला महुवा, शायद ।’ र, स्वीकारोक्तिको भावमा टाउको हल्लाए । उसले, ‘हो…. ⁄’ भनेर लामो लेग्रो ताने र फेरि अगाडि हेरेर गाडी कुदाउन थाले ।

बिशाल र म मुखामुख गर्यौ । ‘उनले के भनेका हुन् त ?’— भनेर एकअर्कालाई इशारा गर्यौ । बिशालले पनि केही मेसो नपाएको इशारामै भनेपछि हामी चुपचाप बस्यौँ ।

तस्बिर : विशाल थेबे ।

गाडी उत्तर ताकेर उही गतिमा दुगुरिरह्यो, इञ्जिनको आवाज निकाल्नुभन्दा बाहेक मौनता साँधेर । हामीजस्तै । हामीभित्रपनि ‘यिनले कहाँ लगेर छोडिदिने होला ?’ भन्ने आशंकाको इञ्जिन जोडजोडले हल्ला गरिरहेको थियो । तरैपनि हामी मौन थियौँ ।

गाडीजस्तै । आधा घण्टा, पैतालिस मिनेट दगुरिसकेपछि फेरि ती चिनिया ड्राइभर हामीभएतिर फर्किए । उनको आवाज झम्टिएझैँ गर्यो फेरि, “महुवा ?” हामीले फेरि पनि हाँसेझैँ गरेर स्वीकारोक्तिको संकेत गर्यौँ । फेरि उनले लामो लेग्रो तान्यो, ‘हो…… ⁄’ भनेर । फेरि ऊ एकधूनमा गाडी हाँक्न थाल्यो ।

त्यतिञ्जेलसम्ममा, उसको ‘महुवा’ भन्नुले हाम्रो सातो खाइसकेको थियो । अब तेश्रो पटक पनि यिनले ‘महुवा ?’ भनेर सोधेछ भने अंग्रेजीमै अथवा नेपालीमै भएपनि ‘के सोधेको महुवा ?’ भनेर सोध्नु पर्ला भन्ने लाग्न थालिसकेको थियो । मरता क्या न करता ।

त्यसपछि पनि करिब आधाएक घण्टा कुद्यो होला । गाडी । उही ढंगमा । झ्यालबाटै हामीले देखिरह्यौँ । हिमाल नजीक नजीक झन नजीक भइरहेको । देख्यौँ, तमोर सानो सानो झन सानो हुँदै गइरहेको । यो दृश्यले भने हामीलाई अपार आनन्द दिइरहेको थियो । हामीभन्दा अलिकति अगाडि जीवन चढेको गाडी थिएछ ।

हाम्रो गन्तव्य आएपछि त्यो गाडी रोकियो । जीवन ओर्लिएपछि हामीले थाहा पायौँ हामी ओल्र्हनु पर्ने ठाउँ आएछ भनेर । ओल्र्हियौँ । चाइनिजहरुलाई त्यहीबाट बिदाई गर्यौँ । अनुहारमा कृतज्ञताको रङ पोतेर ।

उनीहरु छुट्ने बित्तिक्कै हामीले जीवनलाई महुवाको त्रासको कुरा सुनायौ । ऊ मरिमरि हाँस्यो र भन्यो, “तपाईहरु त दुईजना हुनुहुन्थ्यो । म त झन ड्राइभरसँग एक्लै थिए । चुपचाप आए बाटोभरी । जम्मा एकचोटि बोलेँ । झुक्किएर ।

बाटोमा लुम्बासुम्बा हिँडेका टोली भेटेका थियौ । मैले झुक्किएर ‘यिनीहरु लुम्बासुम्बा ट्रायल हिँडेको हो नि ⁄’ भनेर भनेछुँ त्यो पनि अंग्रेजीमा । मैले त्यसो भन्ने बित्तिक्कै त त्यसले त गाडी रोकेर ढोका पो खोलिदिएको नि । अनि त्यसपछि के भन्यो, भन्यो । शायद, ‘तेरो ठाउँ आयो ? उत्री न त ⁄’ भनेको होला । धन्न, मैले सम्झिहाले, यसले अंग्रेजी बुझ्दैन भनेर । र, इशारामै ‘हैन हैन । अगाडि बढाउ ।’ भनेर भनेँ । झण्डै मुलेले बाटोमै ओरालिदिएको नि ।” हामी केहीबेर हाँस्यौँ ।

भाषाको महत्व यो सानो घट्नाले हामीलाई बताएको थियो । मज्जाले । इशाराको भाषाको महत्व त झन बताइनसक्नुको थियो । अनुभव गर्यौँ । मज्जाले ।

गोठको रात फेरि

दिउँसोको १, १ः३० बजेको थियो होला । वातावरण निकै चिसो थियो । घमाइलो घाम भने लागिरहेको थियो तर । सहरतिर अपरिचित कुनै दुश्मनझैँ लाग्ने घाम, पहाडतिर निकै आफन्त लाग्छ । जाडोको सिरकजस्तो । अंगालो हालिरहुँ लाग्ने । तराईको गर्मीमा बरको शितलु कुनै छायाँजस्तो, त्यहीमूनि डेरा जमाउ लाग्ने । हामीलाई, तर, त्यही रहिरहनु थिएन । अगाडि बढ्ने बाटो खोज्नु थियो । हिँड्नु थियो । बाटो खोज्न थाल्यौँ ।

हामी यस्तो ठाउँमा थियौ, जहाँबाट चारैतिर हिमाल देखिइरहेको थियो । बाटो छेउमै गोठ थियो । त्यो गोठकै अलिक परतिर अर्कोपनि गोठ देखिन्थ्यो । छेतेनले भनेझैँ । अलिक परको गोठ चाहिँ जीर्ण अवस्थामा थियो । यस्तो लाग्दथ्यो, त्यहाँ परापूर्व कालदेखि नै कुनै मान्छेको छायाँ पनि परेको छैन ।

छेतेनले भनेझैँ त्यही माथिल्लो पट्टि पूर्वतिरबाट बगेर आएको एउटा खोला ठीक उत्तरतिरबाट बगेर आएको तिरतिरे तमोरसँग मिसिएको थियो । त्यो मिसिएको ठाउँबाट मास्तिर तमोर त उफ्रिएरै पनि नाँध्न सकिने जतिको सानो थियो । त्यो माथिको तमोरभन्दा ठूलो त मिसिएको त्यही खोला थियो ।

धन्न, त्यही एकजना भेडा चराइरहेका शेर्पा भेटिए । सोधेपछि उसैले भने तमोर मिसिएको त्यही खोलाको किनारै किनार उत्तर पूर्व उक्लिएपछि पुगिन्छ सिङजेमा ताल । उसैले भने त्यो खोलाको नाम पनि सिङ्जेमा खोला हो । र, उसैले भने त्यही खोलाको शिर हो, सिङ्जेमा ताल । हामी पुग्नु पर्ने ठाउँ । हामीले नभनेपनि उसैले निकै माथिसम्म आएर सानो एउटा गोरेटो ‘बाटो’ भनेर देखाइदिए ।

अब हामी अघिसम्म चाइनिजहरुले बनाइदिएको गाडी हिँड्ने ठूलो बाटो छोडेर बाटो नै नदेखिने साना–साना पोथ्रा पोथ्रीहरुको बीचको गोरेटो बाटो हुँदै पहिल्याउँदै थियौँ, आफ्नो बाटो । सम्झिँदै गुलजार अनि गुलजारको ‘दुब्लो गोरेटो’ शीर्षकको कविता—

“यति छोटो दुब्लो पातलोजस्तो गोरेटो
सधैँ पहाडको टुप्पोसम्म उक्लन्छ !
र यति चौडा अलकत्राको पक्की सडक छ
कति ठाउँ घुम्दछ तर
माथिसम्म पुग्नै सक्दैन !!”

बाटोमा अरु केही नै थिएन । थिए त सिर्फ पोथ्रापाथ्री । स–साना । थिए त सिर्फ चारैतिरबाट हामीलाई क्वार्क्वार्ती हेरिरहेका सेता हिमालहरु । चट्टानी पहाडहरु । थिए त सिर्फ फोटो खिँच्ने होडबाजी गरिरहेझैँ हामी तीन भाई । र, थिए त सिर्फ हामीसँगै सँगसँगै एकतमासले हिँडिरहेका हाम्रा मौनता । खोलाको किनारैकिनार ।

हामी चूपचाप हिँडिरह्यौ । सिङ्जेमा खोलाको तीरैतीर । सिङ्जेमा खोलाको शिरतिर ।

कठ्यांग्रिने चिसो परिवेश थियो त्यहाँ, तर चिसोपन हामीलाई अलिकति पनि महसुस भइरहेको थिएन । हिँड्ने धूनमा । हिमाली अफ्ठ्यारो ठाउँमा सानो बाटोमा हिँड्नुको अफ्ठ्यारो । त्यो पनि तर महशुस भइरहेको थिएन । हिँड्ने धूनमा । पहिल्याउनै नसकिने सानो गोरेटो बाटो । त्यही सानो बाटोपनि नदेखिएर एकदुईचोटि त बाटै बिर्सिएर नभएको बाटोतिर हिँडिरहेका रहेछौँ ।

हिँड्ने धूनमा । बाटो नभए ठाउँमा हिँड्दाहिँड्दै बाटो अर्कैतिर छ भन्ने थाहा पाएपछि बाटोतिर पुग्नुको लागि भीरैभीरमा उक्लनुको लागि गरेका पौठेजोरी । त्यो पनि हामीलाई केहीजस्तो लागिरहेको थिएन । हिँड्ने धूनमा ।

हिँड्ने धूनको साथसाथै हामी त मस्त कैद थियौँ, त्यहाँको सुन्दरतालाई फोटोमा कैद गर्ने लोभको झ्यालखानामा । झ्यालखाना पनि प्रिय लागिरहेको थियो हामीलाई । कैदमा पर्नु पनि सुन्दर हुँदो रहेछ, कहिलेकाहीँ । अनुभूत भइरहेको थियो ।

फोटो खिँच्दा–खिँच्दै, हिँड्दा–हिँड्दै हामी कैद भइरहेका थियौँ, त्यहाँको प्रकृतिको सुन्दरताको झ्यालखानामा । सुन्दरताको झ्यालखानामा मेरो लागि भने सजाय पनि हाजिर थियो । सजाय के थियो ?

सजायको कुरा गर्नुभन्दा पहिले त लागौ बाँकी यात्राको वृतान्ततिर । त्यसपछि हामी हिँड्दाहिँड्दै एउटा यस्तो ठाउँमा पुगेका थियौँ । जहाँ सैयौँ चौरी र भेडाहरु चरिरहेका थिए । छेउमा एउटा गोठ थियो । गोठमा पुग्यौँ । तर, गोठमा कोही थिएनन् ।

त्यहाँदेखि अलिक पर झण्डै २, ३ सयमिटर पर अर्को दुईओटा गोठ पनि देखिए । ती गोठहरुबाट धुवाँ आइरहेको देखिन्थ्यो ।

परैबाट गोठबाहिर केही मान्छेहरु हामीतिरै हेरिरहेका देखिए । हामीलाई नै पर्खिरहेझैँ देखिन्थे ती दुई गोठहरु । ती मान्छेहरु ।

भेटिएको पहिलो गोठमा मान्छे कोही नभेटिएपछि हामी सिँधै पर देखिएको दुई गोठलाई ताकेर त्यतातिर पाइला बढाउन थाल्छौ । बाटामा चौरी र याकहरुले निहुँ खोज्लाभैmँ गर्छ । बच्दै बचाउँदै आपूmलाई ती गोठ भएको ठाउँमा पुग्छौ ।

दुई गोठमध्येको छेउको गोठमा भेटिन्छन्, वोलुङको एक शेर्पासँग बिहा गरेर आएकी एक तिब्बती महिला । हामी पुग्ने बितिक्कै उसले केही नभनी हामीलाई ३ कप ‘शेर्पा चिया’ खान दिन्छिन् ।

जाडोले कठ्यांग्रिदै पुगेको हामीलाई त्यो चियाले थोरै भएपनि राहत दिन्छ । हामीले बासको कुरा गरेपछि ती महिलाले तिब्बती टोनमा अफ्ठ्यारोगरी आफ्नो गोठ अलिक साँगुरो भएको र अर्को चाहिँ गोठ अलिक फराकिलो छ, त्यहाँ गएर बास माँग्नु भन्ने कुरा बताउँछिन् ।

त्यसो भनुञ्जेलसम्म उनले बिशाल र जिबनलाई तीनचोटी चिया थप्न पनि भ्याउँछिन् । म भने एक कप पनि मरेर पिउँछु । कारण थियो, मैले अगाडि उल्लेख गरेको सजाय ।

करिब–करिब ४,००० मिटरको उचाइमा रहेको त्यो ठाउँमा चारैतिर अग्ला–अग्ला भिराला परेका खुइले डाँडाहरु थिए । डाँडाकै अलिकति मास्तिर चारैतिर सेता हिमालहरु । त्यहाँ पुग्दा नपुग्दै मलाई एकाएक टाउको कस्सिएर दुख्न थालेको थियो ।

भोमिटिङ होला–होला जस्तो पनि भइरहेको थियो । पेट दुखेर डायरीया होला जस्तो पनि भइरहेको थियो । मलाई थाहा भयो, त्यो ‘अल्टिच्युड’ को समस्या थियो ।

बिशाल र जीवन अर्को गोठमा गएर बासको कुरा मिलाएर आए । हामीले ती तिब्बती महिलालाई चियाको पैसा तिर्न खोज्यौ । ती महिलाले पैसा लिन मानिन । ‘पाहुनासँग चियाकै त के पैसा लिनु र ?’ भन्ने टाइपको कुरा गरिन् उनले । हामी कृतकृतार्थ भयौ ।

अर्को गोठमा दुई बुढाबुढी दम्पत्ती थिए । युवा छोरासँग । ती छोरा चाहिँ फुङलिङमा १२ कक्षामा पढ्दै गरेका रहेछन् । ऊ दशैतिहारको छुट्टीमा बाआमालाई सघाउन आएको रहेछ । उनले हामीलाई देखेर खुशी हुँदै आपूm पनि हामीसँगै सिङ्जेमा जाने कुरा सुनाउन थाले ।

हामी पनि हामीलाई बाटो देखाउने मान्छे हुने कुराले खुशी भयौ । उसले गोँठबाहिरैबाट हिमालहरुको शृङ्खलाहरुतिर देखाउँदै भने, “ऊ त्यो हिमालको तल्लो पटटी छ, सिङ्जेमा । यहाँदेखि करिब करिब एक डेढ घण्टामा पुगिन्छ । म एक्लै जाने हो भने त त्यही समयमा पुगेर फर्किन पनि सक्छु । तर, तपाईहरुलाई पुग्नै त्यति लाग्ला ।”

त्यतिञ्जेल मेरो हालत निकै कष्टकर भइसकेको थियो । टाउको दुखेर आँखै खोल्न नसक्ने भइरहेको थियो । यही हालत रहे भोलि बिहान सिङ्जेमा चढ्न सक्ने स्थितिमा म हुन्न भन्ने कन्फर्म भइसकेको थिए । जीवनले आफ्नो ब्यागबाट ब्रुफिन निकालेर दियो । म खाएर सुत्न हतारिएँ ।

ढुङ्गाले बारेको सानो गोठ । त्यही एउटा कुनामा ४, ५ जना मुश्किलले सुत्न मिल्ने ओछ्यान, चाहिने समानहरु र डङ्गुर छुर्पी थुपारिएको छ । बीचोबीचमा ओदान गाडिएको छ । र, त्यही ओदानमा दाउराको आगो बलिरहेको छ ।

ओदानमाथि विभिन्न परिकारहरु पाकिन थाले । भात, कालो दाल, रायोको साग र बङ्गुरको मासु । ओदान वरिपरि बसेर जीवन, बिशाल, दुई शेर्पा बुढाबुढी र उनका छोरा गफ्याउन थाले । म भने सुत्न छिरेँ आफैंले बोकेको स्लिपिङ ब्यागमा घुस्रिएर । उनीहरुको पनि सिरक खप्टाएर । सञ्चो नभएर ।

खाना पाकेपछि केटाहरुले खाना खान उठाए । खाए । तर, कम्ती ।

पिसाब गर्न बाहिर निस्किएँ । बाहिर साँझ झरिसकेको रहेछ । अँध्यारो थियो वातावरण । तर, जाडो भने निकै कम थियो । मौसम अघि सुत्न अघिभन्दा तातो र गुमुक्क थियो । मास्तिर आकाशमा हेरेँ आकाशमा बादल लागेको थियो । तारा एउटै देखिएका थिएनन् ।

पिसाब फेरेर भित्र छिर्दा केटाहरु पनि सुत्न तरखर गर्दै थिए । बुढा मान्छे सुनाउँदै थिए, “अघि तपाईहरु आउनु हुँदा गोठको माथ्लोतिर रहेको डाँडामा २, ३ सय जस्तो थार चरिरहेको थियो ।”

वाइल्ड फोटोग्राफीमा खुब चासो राख्ने जीवन एउटा राम्रो मौका गुमाएकोमा थकथकी हुँदै बुढा मान्छेसँग गुनासो गर्दैथियो, “हो र ? धेत… बुढो मान्छे ⁄ मलाई भन्नु पर्दैन थियो । म फोटो खिँच्थे नि ।”

उनीहरुको कुरा सुन्दै म चाहिँ फेरि एक पटक सुत्नलाई आफ्नो स्लिपिङ ब्यागमा घुस्रिएँ ।

केटाहरु, दुई बुढाबुढी र उनको छोराको गफ सुन्दै सुतेको म मध्यराततिर अचानक ब्युँझिएँ ।

बाहिर टङडङडङ… गरेर एकतमासले घण्ट बजिरहेको थियो । त्यो घण्ट यस्तो थियो, जस्तो कि दर्जनौ गुम्बामा सैयौँ घण्ट एक्कैचोटी बजिरहेको होस् । जस्तो कि आनी छोयोङ डोल्माको गीतको इन्सट्रुमेण्टल भर्सन बजिरहेको होस् । सेमी लाउड भोल्युममा ।

छेउमा हिमाल साक्षी राखेर भिरालो परेर तपस्या बसेजस्तै बसेका डाँडाहरुको बीचमा अवस्थित त्यो गोँठमा, मध्यरातमा त्यो आवाजले मलाई शान्ति होइन त्रास उत्पन्न गराइरहेको थियो । मैले जीवनलाई कोट्याएर सोधेँ, “यो के आवाज हो ?”

जवाफ बुढो मान्छेले फर्कायो, “यो याक र चौरी गाईको घाटीमा बाँधेको घण्टको आवाज हो । दिनभरी चरेका खानेकुरा उनीहरुले घाटीमै राखेका हुन्छन् । र, त्यही खानेकुरा उगालेर उनीहरुले रातभरी चबाउँछन् । चबाउँदा उनीहरुले घाटी हल्लाउँछन् । दूईवटा गोठको झण्डै ४, ५ सय चौरी र याकले एकैचोटी घाटी हल्लाउँदा यो आवाज निस्किएको हो ।”

उत्तरले मनलाई निश्चिन्त त बनायो । तर, पेटले भने बदमाशी गर्न थाल्यो । पेटले साह्रै नै उपद्रव गरेपछि, “लङ टोइलेट लाग्यो हौ मलाई । जानू पर्यो ।” म जीवनलाई भन्छूँ । जीवनले आफ्नो झोलाबाट टर्च झिकेर दिन्छ । टोइलेट रोल पनि दिन्छ ।

म टर्चकै उज्यालोमा बाहिर निस्किएर खोलाको किनारमा सूचिक्रियामा ब्यस्त रहन्छुँ । महशुस गर्छु । साँझमा सुत्नअघिको टाउको दुखाइ गायब छ । जिउ केही नै नभएजस्तो चंगा छ । कठ्याङग्रिँदो चिसो पनि गायब छ ।

आकाशमा ताराहरु गायब छन् । मौसममा अचम्मको न्यानोपन छ । सम्झन्छुँ, यस्तो मौसम त हिउँ पर्न अघि हुने गर्दछ । जरुर, आजभोलि नै हिउँ पर्नेछ । घण्टको आवाज सँगै टाढाटाढा दुई गोठले पालेका ४ थान भोटे कुकुरहरु भुक्दै गरेको पनि सुन्छुँ । मनमनै पुकार गर्छु, “मलाई सिङ्जेमा तालसम्म पुग्नु छ । त्यहाँ पुगुञ्जेल मेरो स्वास्थ्य स्थिति यस्तै भइरहोस् ।”

हिउँ पुतली

बिहान उठ्दा मेरो टाउको मध्यरातको भन्दा अझ सञ्चो भएको थियो र जिउ रुवाजस्तै हल्का । यस्तो लाग्दै थियो कि म केही सय त के हजारौ मिटरको यात्रा पनि सहजै गर्न सक्छूँ । बाहिर निक्लिएर हेरेँ ।

मौसम धूम्मै थियो । तर, हिउँ पुतलीहरुझैँ फुरफुर उडिरहेका थिए वातावरणमा । जताततै । हामी सेता हिउँका पुतलीहरु उडिरहेका हेरेरै मख्ख थियौँ । त्यहीबेला सम्म दुई बुढाबुढीले चाउचाउ उमालिदिइसकेका रहेछन् ।

खायौ र बूढाबूढीको छोरालाई अघि लाएर गोँठ छेउकै सानो डाँडा चढ्यौ पहिले । डाँडा उक्लिएपछि देख्यौ । सानो समथर भाग । त्यहाँ ध्वजा पताका र लुङदरहरु फरफराइरहेका थिए । हिउँ पुतलीहरु फुर फुर उडिरहेकै थिए ।

समथर स्थानलाई पार गरिसकेपछि झण्डै दुइसय मिटर जस्तो खोलाको किनारै किनार हिँड्यौ । त्यति हिँडिसकेपछि हामीले एउटा सानो काठेपुल तरेर खोला तर्यौ । खोला तर्नेबितिक्कैदेखि सुरु भयो उकालै उकालो । उकालोमा थिए, स–साना पोथ्रापाथ्रीहरु, हिमाली पूmलहरु र चट्टानी डाँडाहरु ।

करिब–करिब एक घण्टाभन्दा अलिक धेरै समय लाएर हामी पुग्यौ । हिमालले आफ्नै प्रतिविम्ब हेरिरहेको ताल— सिङजेमा । हिउँ पुतलीहरु उडिरहेकै थिए । हामीसँग जिस्कँदै । हाम्रो कपालमा, अनुहारमा, लुगामा टाल्लिँदै बिलाउँदै टाल्लिँदै बिलाउँदै गरिरहेका थिए, उनीहरु ।

जाडो कठोर–कठोर हुँदै गइरहेको थियो । हिउँ पनि बाक्लो, बाक्लो झन बाक्लो पर्दै गइरहेको थियो । हामीले केही छिन फोटोमा उतार्यौ । ताललाई । तालमा अनुहार हेरेर मख्ख परिरहेका हिमालहरुलाई । र, उनीहरुलाई साक्षी राखेर आपैmलाई ।

त्यति नै बेला, विशाल मलाई उसको मोबाइल दिँदै भन्छ, “दाजु भिडियो बनाइदिनु ल ⁄” म उसको भिडियो बनाउन थाल्छुँ । बिशाल तालतिर अनुहार फर्काएर उभिन्छ । र, चिच्याएर कराउँछ, “लक्ष्मी ⁄ आइ लभ यू ⁄” तालले छक्क परेर हेर्छ विशाललाई । तालमा ऐना हेरेर लहरै उभिइरहेको हिमालहरुले छक्क परेर हेर्छ उसलाई । पर्दै गरेको हिउँले छक्क परेर हेर्छ उसलाई । हिमालहरुमा प्रतिध्वनित हुन्छ आवाज, “लक्ष्मी ⁄ आई लभ यु ⁄” “लक्ष्मी ⁄ आई लभ यु ⁄” “लक्ष्मी ⁄ आई लभ यु ⁄”

हुन त यो मेरो लागि पहिलो पटकको अनुभव होइन, विशालको यो गतिविधि । उसले अन्नपूर्ण बेस क्याम्पमा उभिएर पनि यही कुरा भनेको थियो । कस्सिएर ।

यसैगरि कञ्चनजंगाको तल्लो बेस क्याम्पको भिडियो पनि हेरेकै हुँ । धरानका थुप्रै डाँडामा ऊ यसैगरि चिच्याएको पनि देखेकै हुँ । यस्तो लाग्छ, ऊ आफ्नो पे्रम प्रक्षेपण गरिरहेको होँस, उच्च ठाउँमा चढेर । बिदेश रहेको आफ्नी श्रीमतिको लागि । यसरी नै ।

त्यसपछि हामी ओल्र्हयौ । झण्डै डेढ घण्टा लाएर चढेको सिङजेमा तालबाट ओल्र्हदा लगभग आधा घण्टा पनि नलाईकनै हामी गोठमा थियौँ । शेर्पा दुई बुढाबुढीले पकाएको तात्तातो भात र साग आलुको झोल खाइरहेका ।

माथि पुगुञ्जेल केही नभएको टाउको । ताल पुगेर एकछिन बसुन्जेल पनि केही नभएको टाउको ओल्र्हदा ओल्र्हदै फेरि फुट्ला जस्तै दुख्न थालेको थियो ।

हिउँ पुतलीहरु उडिरहेकै थिए । हामी गोँठबाट बिदा भयौँ । दुई बुढाबुढीलाई यो आत्मियताको लागि, सत्कारको लागि धन्यबाद भन्दै । छेउकै गोठको तिब्बती महिलालाई निशुल्क शेर्पा चियाको लागि र सिङ्जेमासम्म बाटो देखाएर हामीलाई सहायता गर्ने फुच्चे पथप्रदर्शकलाई धन्यबाद भन्दै ।

हिउँ पुतलीहरु अराजक हुन थालेका थिए, त्यतिञ्जेल । जथाभावी झनझन बाक्लो भएर उडिरहेकै थिए । हामी भने त्यहाँबाट ओह्रालो झरिरहेका थियौँ । आँखाबाट ओझेलिँदै गए । दुई गोठहरु । ती गोठमा भएका आत्मिय मनहरु । भेँडाहरु । रातभरि घण्ट बजाउने चौरी गाईहरु । याकहरु । पोथ्रापाथ्रीहरु ।

टाउको दुखिरहेकै थियो । सँगसँगै पेट पनि । त्यहाँबाट ओर्लिएर हिजो चाइनिजहरुले हामीलाई छोडिदिएको ठूलो बाटो आइपुग्दा नपुग्दै, टाउको भने दुखेको गायब भएको थियो । पेट दुखेको गायब थियो । उड्दा उड्दैका हिउँ पुतलीहरु पनि गायब भएका थिए ।

ठूलो बाटो आएपछि पेट दुख्नु र टाउको दुख्नु त गायब भएको थियो । तर, गाडीमा करिब दुई घण्टा लाएर पुगेको बाटो हिँड्दा–हिँड्दा झण्डै ५, ६ घण्टा लाएर मात्रै हामी वोलुङ आइपुगेका थियौँ । हिँडेर खुट्टामा दुखाइ भने अचाक्लीको थियो ।

करिब–करिब सात बजेतिर हामी टाँसीसँग थियौ । उनको वोलुङको लोकगीत सुन्दै गरेको । वोलुङ भाषामै । उनले वोलुङ वाद्यवादन ‘डाम्गँे’ बजाउँदै गरेको हेर्दै । उनकै आवाजमा उनको गीत सुन्दै । डाम्गेँ ठ्याक्कै गितार जसरी बजाइने तर देख्दा चाहिँ सितारजस्तै देखिने वाद्यवादन रहेछ ।

उनीमा राम्रो होटल म्यानेजमेण्टको क्षमता र राम्रो कुक मात्रै होइन, राम्रो वाद्यवादक अनि राम्रो गायक पनि रहेको महशुस गरिरहेका थियौँ । उनी भन्दै थिए, “यो वोलुङको लोकगीतजस्तै हो । धेरै पहिलेदेखि हाम्रो बाउबाजेको पालादेखि गाइँदै आएको । यसमा युवा र युवतीका प्रेमको कुराहरु छ ।” यसरी, अबेरसम्म हामीले उनको वोलुङ गफ सुन्यौ । उनको चुल्हाको आगो तापेर ।

अबेर सुतेका हामीले रातरातभरी वोलुङमा हावा चलिरहेको महशुस गरिरह्यौ । जोडजोडले ।

रातभरी हामीले हावा चलेको मात्रै महशुस गरेका थियौ । तर, सँगसँगै रातभरी हिउँ पनि परेको थिएछ, डाँडाहरुमा । बिहान उठ्दा हावा चल्न त रोकिएको थियो ।

दुइदिन अघि टाँसीले भनेजस्तै नीला डाँडाहरु साँच्चै नै रातभरी परेको हिउँले हिमाल भएको थियो । सेताम्मे । जुन कुरा दुइदिन पहिले हामीले एकरत्ती पत्याएका थिएनौ । वोलुङ छेउका डाँडाहरु आज साक्षात हिमाल भएर हामीलाई हामीले गरेका अविश्वासमाथि हाँस्दै ठिङ्ग उभिएका थिए ।

हाम्रा अगाडि । मानौँ भनिरहेका हुन्, “तिमीहरुले नपत्याएका होइनौ । यी हेर, मेरो रुप । म नीला चुचुरा मात्रै होइन । म समय आउँदा सेतो हिमाल पनि हुन सक्छुँ । तिमीहरुजस्ता पर्यटकहरुलाई चुम्बकिय आकर्षणले आपूmतिर तान्न ।”

उनको आकर्षणमा हामीलाई आकर्षित भएर ऊसँगै रहिरहन हामीसँग समय थिएन । हामीलाई त फर्कनु थियो ।

हामी फर्कियौँ ।

वोलुङ, वोलुङ वरिपरिका रङ्गीबिरङ्गी डाँडाहरु, सिङजेमा ताल, तालको कञ्चन पानी र त्यही पानीमा मख्ख पर्दै आफ्नो छाया हेरिरहेका सेता बलिष्ठ हिमालहरु, गोँठ, गोँठका बुढाबुढी र उनीहरुका हामीलाई सिङजेमासम्म बाटो देखाउने जवान छोरा, सित्तैमा थपिथपि शेर्पा चिया पिलाउने तिब्बती महिला, गुम्बाका घण्टजस्तै रात–रातभरि घण्ट बजाउने चौरी र याकहरु, हाँसिरहने टाँसी, उनको मनमोहक वाद्य वादन, गायन र हामीलाई बिदाईका हात हल्लाउन सेतो रङ ओढेर हिमाल हुनुको गर्वानुभूति गरिरहेका डाँडाहरु, तालकै पानीजस्तै स्वच्छ मुस्कान भएका वोलुङवासीहरुको आकर्षणबाट बढो कष्टले टाँढिदै हामी ओल्र्हिरहेका थियौँ ।

फेरि उही डोरी झुण्डिएर चढेको बाटो हुँदै तलतिर ।

बाटोमा देख्यौँ, डोरी झुण्डिएको ठाँउमा ३ दिनमै निकै राम्रो बाटो बनाइसकेका रहेछन् चाइनिज कम्पनीको स्काभेटरले ।

निकै तलसम्म । हिँड्यौ फेरि उही कहिल्यै नसकिने बाटो हुँदै इलाडाँडासम्म । इलाडाँडामा फेरि उही बहिनीकहाँ एक रात बास बसेर फेरि झर्यौ लुङथुङ हुँदै, लेलेप ।

यसपटक हामीले लुङथुङको हल्लिने बडेमानको ढुङ्गा चढेर एक चरण ढुङ्गा हल्लायौ पनि । त्यसपछि लेलेप हुँदै तापेथोक । तापेथोकबाट फुङलिङ र फुङलिङबाट गाडी चढेर धरान ।

रहल तर नछुटोस्जस्ता केही

१) त्यहाँ अवस्थित ४६८ वर्ष पुरानो ‘दिकी छ्योलिङ गुम्बा’ नेपालकै सबैभन्दा पुरानो गूम्बा रहेको वोलुङवासी ठोकुवा गर्दा रहेछन् । केही वर्षअघि सगरमाथा आधार शिविर जाने बाटोमा अवस्थित कुनै एउटा ठाउँको करिब पाँचसय वर्ष पुरानो गुम्बा आगो लागेर नष्ट भएपछि यही नै अहिले सबैभन्दा पुरानो गुम्बा हो भनेर उनीहरुभन्दा रहेछन् । र, त्यसलाई पुष्टी गर्न यहाँ निकै बहुमूल्य पौराणिक वस्तुहरु र ऐतिहासिक कागजातहरु रहेको उनीहरु जिकिर पनि गर्दा रहेछन् । त्यही भएर पनि त्यहाँभित्र फोटो खिँच्न, भिडियो बनाउन एकदमै ‘स्ट्रिक्ट्ली’ मनाही गरिएको छ । पञ्चायत कालमा एकपटक मध्यरातमा हेलिकप्टरमा चढेर आएका वर्दीधारी केही व्यक्तिहरुले बन्दुक देखाएर त्यहाँ भएका थुपै्र महत्वपूर्ण र बहुमूल्य बस्तुहरु लुटेर लगेका थिए भन्ने कुरा पनि उनीहरु चाखपूर्वक सुनाउँछन् । ‘ती कोहरु थिए होलान् त ?’ भनेर सोध्दा उनीहरु नामै किटेर तात्कालिन राजपरिवारका एक सदस्यको नाम लिँदा रहेछन् । यो घट्ना उनीहरु कुनै किंवदन्तीका कुरा सुनाएजसरी सुनाउँदा रहेछन् ।

२) सिङजेमा तालसँग जोडिएका त्यस्तै अरु केही किंवदन्तीहरु जो किंवदन्तीभन्दा पनि बढि त्यहाँका जीवनजस्ता छन् । जस्तो कि, त्यहाँ गएर माँगिएका कुराहरु पुग्छन् भन्ने भनाइ । त्यहाँ चोखो मन भएकाहरुले ठूलो गोरु देख्न सक्छन् रे । कसैले त्यहाँ एउटा मात्रै होइन, थुप्रै गोरुहरु देखिन्छन् पनि भन्दा रहेछन् । कसैकसैले त गोरु होइन, त्यहाँ हात्ती देखिने गरेको कुरा पनि गर्दा रहेछन् । त्यस्तै अर्को एउटा किंवदन्ती पनि प्रचलित रहेछ, कि त्यहाँ त्यो तालमा एकपटक वोलुङवासी कुनै एकजनाले गोरु देखेछ । मान्छे देखेपछि त्यो गोरुले बहुमूल्य कुनै पदार्थ गोब्र्यायो रे । त्यो टल्किरहेको गोबर घर ल्याएपछि त्यो मान्छे दिन दोगुना रात चौगुना धनी हुँदै गयो भन्ने एउटा किंवदन्ती रहेछ भने केहीले त्यहाँ रहेको ‘दिकी छ्योलिङ गुम्बा’ मा धेरै वर्ष पहिले निकै नामी लामा थियो रे । उसले त्यो पोखरीमा गएर ध्यान गरेर गोरुलाई निस्कन बाध्य पार्यो र त्यो गोरुले गोब्र्याएको बहुमूल्य बस्तु गुम्बामा ल्याएर राखेका थिए रे । यी र यस्तै किंवदन्तीहरु वोलुङवासीले निकै चाख दिएर सुनाउँदा रहेछन् । मानौँ कि ती किंवदन्ती नभएर उनीहरुकै आँखा अगाडी घटेका कुनै घट्ना हुन् ।

३) ओलाङचुङ गोला भनेर सरकारी रुपमा नामांकित, भौगोलिक रुपमा चिनिएको उक्त ठाउँको स्थानीय नाम भने ‘वोलुङ’ रहेछ । ५, ७ सय वर्षअघि तिब्बततिरबाट विभिन्न कारणहरुले यता आएर बसेका उनीहरुले ‘शेर्पा’ भनेर लेखेपनि, उनीहरुको वास्तविक जाति पनि वोलुङ नै रहेछ । रहेछ, उनीहरुले बोल्ने भाषाको नाम पनि वोलुङ नै । वोलुङ नामसँग भावनात्मक रुपमा जोडिएका उनीहरुले ओलाङचुङ गोला नामलाई बाध्यात्मक रुपमा स्वीकारे पनि मनको कहिँ कतै कुनामा सरकारी र लिखित रुपमा यही नाम भइदिए राम्रो हुनेथियो भन्ने ठान्दा रहेछन् । हामीले थुप्रैलाई सोध्यौँ । सोध्दा सबैले संवेदित हुँदै ‘वोलुङ नै नाम भए कति राम्रो हुन्थ्यो नि ⁄’ भनेर जवाफ दिँदा रहेछन् । यो कुरा बुझिसकेपछि भने मैले यस नियात्रामा ‘वोलुङ’ भनेको छु यो ठाउँलाई । राज्यले पनि उनीहरुको भावनालाई बुझिदिएर यस ठाउँको नाम पूणर्नामाकरण गरिदिए राम्रो हुनेथियो भन्ने मैले ब्यक्तिगत रुपमा मानेको छुँ ।

४) चिनिया स्वशासित क्षेत्र तिब्बतको ‘टिप्ताला’ भन्ने ठाउँबाट केही किलोमिटर तलमात्रै रहेको यो ठाउँ कुनै समयमा तिब्बततिरैबाट आएकाहरुको बसोबास भएको क्षेत्र हुनाले संस्कार, संस्कृति, रहनसहन र भाषामा तिब्बतीहरुसँग धेरै हदसम्म समानता रहेछ । केही वर्षअघिसम्म पनि उनीहरुको तिब्बतीहरुसँग ‘रोटीबेटी’ को सम्बन्ध हुने गर्दथ्यो । तर, चिनले केही वर्षयता गरेको आर्थिक, सामाजिक र अन्य अरु प्रगतिले गर्दा अचेल उनीहरुले तिब्बती चेलीहरुलाई वोलुङकासँग बिहे गर्ने अनुमति नदिँदा रहेछन् । दुःख पाउछन् भनेर । केही वर्ष अघि मात्रै वोलुङका एक जना युवाले तिब्बती एउटी केटी भगाएर ल्याएका थिए रे र त्यो केटीलाई टिप्ताला छेउको एउटा गाउँको, गाउँको नाम बिर्सिए, स्थानिय एसपी सरहको प्रहरी आपैm आएर घिसारेर फिर्ता लगे भनेर हामीलाई स्थानियले सुनाएको थियो ।

५) वोलुङदेखि टिप्तालाको बीचको नेपाली भूभागतिर एउटा रमणीय समथर एउटा ‘टार’ रहेछ, ‘महुवा टार’ भन्ने । त्यो कुरा पछि हामीले थाहा पायौ । त्यसपछि हामीले थाहा पायौ कि हामीलाई गाडीमा लैजाने चिनिया ड्राइभरले बारबार ‘महुवा ?’ भन्नुको रहस्य ⁄ शायद, उनले सोधेको थियो, ‘महुवाटार उत्रने हो ?’

६) फर्कदा इलाडाँडा आएर थाहा पायौ कि ३ जना झापातिरका मान्छेहरु हामी वोलुङतिर लागेकै दिन हामीभन्दा एकाध घण्टापछि त्यता गएका थिएछन् । तर, उनीहरु हामी डोरी झुण्डिएर चढेकै ठाउँबाट बाटो नभएपछि फर्किएर एक रात त्यतै जङ्गलको कुनै गुफामा बिताएर झापा फर्किएका थिएछन् । हामीले यो कुरा सुनेपछि ती लुम्बासुम्बा सर्कल हिँडेका टिमलाई एकपटक फेरि हृदयदेखि नै धन्यबाद भन्यौ ।

७) वोलुङको पहिलो रात टाँसीको चुल्हामा आगो तापिरहेको बेला २ स्वीस महिलाहरुलाई भेटेका थियौ । उनीहरु पनि लुम्बासुम्बा सर्कलकै लागि हिँडेका रहेछन् । निकै ठूलो जम्बो टोलीसँग । मैले उनीहरुलाई सोधेको थिए, “स्वीट्जरल्याण्डजस्तो विकशित हिमाली देशबाट उस्तै भौगोलिक अवस्था भएको देश नेपाल किन आएका हौ ?” उनीहरुले तत्कालै उत्तर दिएका थिए, “कहाँ नेपाल, कहाँ स्वीट्जरल्याण्ड ? नेपाल धेरै अग्र्यानिक छ । त्यहाँका हिमालहरु जम्मा जम्मा ५,००० मिटर अग्लाहरु मात्रै छन् । यहाँ त ५,००० मिटरमा त मान्छेकै बस्तीसमेत भेट्न सकिन्छ । त्यहाँका ग्लेशियरहरु सबै पग्लिसके । यहाँ अभैm छन् । त्यहाँ सबै चिजहरु बनावटी भइसके । यहाँ प्रकृति जिउँदै छ । त्यही भएर पनि हामी यहाँ प्रत्येक वर्ष आउँछौँ ।” उनीहरुले त्यसो भनिरहँदा मैले भने सम्झिरहेँ अविनाश श्रेष्ठ दाजु र उहाँको पर्यावरणमाथि लेखिएका कविताहरुको संग्रह ‘करोडौँ सूर्यको अन्धकार ।’ हामीले अन्जानमै भएपनि यी दुरदराजका ठाउँहरुमा प्रकृतिलाई थोरैबहुत जोगाइरहेका छौँ रत आइरहेछन् यी र यस्तै पर्यटकहरु । तर, बिकाशको नाममा जताततै स्काभेटर आतङ्क चलाइरहियो भने के बाँकी रहला र यी पर्यटकहरुको यता आइरहने कारणहरु ?

८) यात्राको दौरानमा आफ्नै सहयात्री मध्ये जीवनको बारेमा एउटा कुरा बताउनै पर्ने हुन्छ । उनले बोकेको ठूलो ब्यागमा क्यामेरा, लेन्सको कुराहरु त बारबार आइरह्यो । तर, अर्को बताउनै पर्ने कुरा के छ भने उनको ब्यागमा त्यसका अलावा पनि थुप्रै कुराहरु थिए । जस्तो कि उनकै लुगाहरु पनि थिए । बाटोमा भोक लाग्दा बिस्कुटहरु, तिर्खा लागे जुस र पानीहरु, टाउको दुख्दा बु्रफिन, ज्वरो आउँदा सिटामोल, अँध्यारो भए टर्च र टोइलेट आउँदा टोइलेट रोलहरु । यस्तो लाग्थ्यो उसको झोलाभित्र जे चाहियो त्यही निकाल्न सक्ने जादू छ । हजुरआमाको जादुई पोल्टाजस्तो थियो, उसको झोला ।

उसको ४, ५ ओटा टोइलेट रोल त मैले नै लेक लागेर पेट बिग्रिएको कारण बाटोको कुनामा कुनामा खर्चिएको थिएँ र अन्तमा घर फर्किने रात स्नो लियोपार्ड होटलको एउटा कोठामा बसेर सक्किनु बाँकी एउटा टोइलेट रोल देखाउँदै कस्सिएर भनेको थिए, “ढेन टे ढेन… यात्राको एकमात्र भरपर्दो साथी, टोइलेट रोल ⁄”

अन्तमा, भन्नै पर्ने एउटा कुरा पूर्वका यो ठाउँ भ्रमण गरिरहँदा हामीलाई के लागिरह्यो भने या त यी र यस्तै पूर्वका धेरै रमणीय ठाउँहरुमा अभैmपनि पाहुना हाम्रा देउता हुन् भन्ने भावना मरिसकेका छैनन् ।

या, पश्चिमका धेरै ठाउँहरुजस्तै यिनीहरु पूर्ण ब्यावशायिक भइसकेका छैनन् । किनकी, हामीलाई धेरै ठाउँमा लजिङको पैसै लिइएन । त्यति मात्रै होइन, नाश्ता र कति छाक खानाको पनि पैसा लिइएन । खानाकै पनि मूल्य धरानजस्तो सुगम ठाउँको मूल्य बराबरी नै थियो ।

जबकि, त्यहाँ भरिया लाएर बोकाइएको सामलहरुको दाम महंगो छ भनेदेखि खानाको मूल्य पनि बढी हुनुपर्ने हो भन्ने हामीले सोँचिरह्यौ । यस अर्थमा भन्ने हो भने पूर्व सुन्दर मात्रै होइन, अभैmँ प्राकृतिक पनि छ । र, सस्तो पनि ।

“यसरी एउटा यात्रा सकिएको थियो । तर, जिन्दगी… ?”

शब्दार्थः

इम्बिरी — तमोर नदीको नाम लिम्बू भाषामा
वोलुङ — ओलाङचुङ गोलाको स्थानीय नाम

सुदीप पाख्रिनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्

Tags: #साहित्यटाकुरा विशेषनिबन्धसंस्मरणसुदीप पाख्रिन
सुदीप पाख्रिन

सुदीप पाख्रिन

धरान निवासी कवि पाख्रिनको दगुरिहिँड्ने चौबाटो कविता सङ्ग्रह प्रकाशित छ । अनुवादमा दख्खल राख्ने उनले गुलजारका कविताहरू अनुवाद गरी प्रकाशनमा ल्याएका छन् ।

Related Posts

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी
FEATURE BREAKING

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

by टाकुरा न्यूज । इटहरी
बैशाख १७, २०८३
0

इटहरी : सुनसरी जिल्लामा सुकुम्बासी बसोबासको सबैभन्दा ठूलो केन्द्र धरान उपमहानगरपालिका बनेको छ। उपलब्ध तथ्यांक अनुसार धरानमा मात्रै १४ हजार ७...

‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि
कला साहित्य

‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

by टाकुरा न्यूज । इटहरी
बैशाख १६, २०८३
0

इटहरी : सुनसरीको तरहरास्थित श्री जनसहयोग माध्यमिक विद्यालय २०५० समूहले आयोजना गर्न लागेको ‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ का लागि उत्कृष्ट...

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

बैशाख १४, २०८३
इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 

इटहरी निवासी अधिकारीको नियात्रा सार्वजनिक 

बैशाख १२, २०८३
उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

बैशाख ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

बैशाख १७, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा विद्यार्थी बोकेको बस दुर्घटना

बैशाख १७, २०८३
निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

बैशाख १७, २०८३
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

झापा बाहुनडाँगीमा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

बैशाख १७, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1496 shares
    Share 598 Tweet 374
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    646 shares
    Share 258 Tweet 162
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.